डाक्टरको आन्दोलनले आज छैंठौ दिन पनि सरकारी अस्पताल ठप्प

समाधान सम्वाददाता
सरकारी चिकित्सकको आन्दोलनका कारण आज पनि देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन् ।
समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्र्तगत राख्नुपर्ने माग गर्दे सरकारी चिकित्सकले सेवा अबरुद्ध गरेका हुन् । सरकारले माग पूरा नगरे निजी अस्पताल तथा क्लिनिकमा समेत सेवा बहिस्कार गर्ने चेतावनी चिकित्सकले दिएका छन् ।
सेवा अबरुद्ध गर्दा पनि सरकारले माग सम्बोधन नगरेपछि चिकित्सकहरुले सामूहिक राजिनामा दिने तयारी थालेका छन् । स्वास्थ्य मन्त्रालयले भने आन्दोलनरत चिकित्सकलाई काममा फर्कन आव्हान गरेको छ । चिकित्सकका माग वार्तामार्फत सम्वोधन गर्ने की कारवाही गर्ने भन्नेमा मन्त्रालय अन्यौलमा देखिएको छ ।
पाँच दिनसम्म उपचार सेवा ठप्प हुँदा सयौँ विरामी प्रभावित भएका छन् । देशभरका सरकारी अस्पतालबाट दैनिक १ लाख सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् ।
यता पोखरामा डाक्टरको आन्दोलनले बिरामी अलपत्र परेका छन् । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी चैत २१ देखि बन्द छ । पहिला ओपिडीमा दिनहुँ १ हजार ३ सय सम्म बिरामी आउने गर्थे ।
कास्की, तनहुँ, स्याङ्जा लगायत जिल्लाका निम्न वर्गका बिरामी आउने उक्त अस्पतालमा डाक्टरको आन्दोलनले बिरामी अलपत्र परेका छन् । उक्त अस्पतालमा बिमा गराएका बिरामी अझ बढी जाने गर्छन् ।
‘बिमा गरेका बिरामीलाई हामीले गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पतालमा पठाएका छांै,’ अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने ‘कतिपय बिरामीलाई भने अस्पताल खुलेपछि पहिला तपाईंलाई प्राथामिकतामा राखेर उपचार गछौं पनि भनेका छौं ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम कक्ष पनि मंगलबारदेखि बन्द गरिएको डा. भरत खत्रीले बताए । ‘हामीले केन्द्रले गरेको आन्दोलन समर्थन गरेका हौं,’ उनले भने, ‘केन्द्रको आन्दोलन प्रक्रिया अनुसार नै पोस्टमार्टम शाखा पनि बन्द गरेका छौं ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगभग १ सय जना डाक्टर, नर्स र कर्मचारी समेत ५ सय जना छन् । खत्रीले आन्दोलनमा २ बुँदे माग रहेको बताए ।
प्रतिष्ठानमा कार्यरत अस्थायी चिकित्सक र कर्मचारी पनि आन्दोलनको तयारीमा रहेको प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठले बताए । माघ र फागुनको तलब अहिलेसम्म नपाएका कारण बिहीबारदेखि अस्थायी कर्मचारी नै सबै काम छाडेर आन्दोलनमा उत्रने उनले बताए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया