नेपाली पैसा इतिहासकै कमजोर

काठमाडौं ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए । गत असार १४ गते एक अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ ०५ पैसा पुगेकोमा असार ३० गते १ अमेरिकी डलर बराबर १२८.१० रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रासमेत कमजोर भएको हो । विश्व बजारमा २० वर्षपछि डलर र युरोको मूल्य पनि बराबरी अवस्थामा आएको छ । भारत सरकारले भारतीय मुद्रामा अन्तर्राष्ट्रिय व्यापार गर्ने निर्णय गरे पनि डलरको मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । चीन, रसिया र भारतले अन्तर्राष्ट्रिय व्यापारको १५ प्रतिशत हिस्सा ओगट्ने र तीन देशबीचको व्यापारमा डलर प्रयोग नहुँदा विश्व बजारमा डलर सस्तो हुने अपेक्षा गरिएको थियो ।
तर लगातार डलरको माग बढ्ने र मूल्य बढ्ने क्रम जारी छ । संसारका कैयन देशमा आर्थिक संकट देखिन थालेपछि विभिन्न व्यक्तिले डलर सञ्चय गर्न थालेपछि विश्व बजारमा डलरको माग बढेको हो । यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ अमेरिकी डलर प्राप्त गर्न १ सय २३ रुपैयाँ २८ पैसा खर्च गर्नु परेको थियो ।
नेपालमा विदेशी मुद्रासँगको विनिमय दर भारतीय मुद्रासँग ‘पेग’ गरेर निर्धारण गरिएकाले भारतको मुद्राको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली मुद्रासँगको सटही रेट तय हुन्छ । भारतको अर्थतन्त्र बलियो भएको अवस्थामा कम नेपाली रुपैयाँ खर्च गरेर डलर प्राप्त गर्न सकिन्छ भने भारतीय मुद्रा कमजोर बन्दा डलर प्राप्त गर्न बढी रुपैयाँ खर्च गर्नुपर्छ ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने हुन्छ । यस्तै नेपालमा आयात हुने सामानसँगै उद्योगको कच्चा पदार्थ पनि विभिन्न वस्तुको मूल्य बढ्ने सम्भावना पनि छ । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको नेपालमा डलर महँगो हुँदा व्यापार घाटा झनै बढ्नेछ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया