सम्पादकीय: अनावश्यक कर नलगाऊ

समाधान संवाददाता २०७९ साउन ११ गते १२:२८

निजी सवारी तथा सार्वजनिक यातायातका साधनको करमा गण्डकी प्रदेश सरकारले भारीमात्रामा वृद्धि गरेको छ । सरकारले सवारी साधनमा लाग्ने कर निर्धारित मितिमा नतिरेको खण्डमा तिर्नु पर्ने २५ प्रतिशत जरिवानालाई बढाएर २ सय प्रतिशत पु¥याएपछि व्यवसायी र निजी सवारी धनीहरुले चर्काे विरोध गरेका छन् । जनस्तरबाट चर्को विरोध भएपछि यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले हालको लागि जरिवाना र कर नलिने घोषणा गरेको छ ।

Advertisement

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७३मा सवारी साधनमा लाग्ने कर प्रत्येक आर्थिक वर्षको चैत मसान्तसम्म वा दर्ता नवीकरण गर्ने म्याद भित्र नबुझाए २५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था थियो । तर सरकारले साउनदेखि भने २ सय प्रतिशत जरिवाना लिन थालेको छ । यसअघि गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक ऐन–२०७८ अनुसार तिर्नुपर्ने म्याद सकिएको ९० दिनभित्र वार्षिक सवारी कर तिर्दा जरिवाना लाग्ने व्यवस्था थिएन ।

सो अवधिभित्र नबुझाउनेलाई समयावधि हेरेर २५ प्रतिशतसम्म जरिवानाको व्यवस्था थियो । त्यसपछि बढीमा कुल सवारी करको ३२ प्रतिशतसम्म जरिवाना लिन भनेको थियो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी ऐनअनुसार चैत मसान्त वा आर्थिक वर्षको अन्तिमसम्म नवीकरण गरेर सवारी कर नबुझाए २ सय प्रतिशतसम्म जरिवाना लिने गरी परिपत्र गरेपछि यातायात व्यवस्था कार्यालयले काम थाल्यो । जसको जनस्तरबाट बिरोध भयो । सवारी करको दर र जरिवाना प्रदेश सरकारले बजेट सार्वजनिक गर्दा समावेश गर्ने आर्थिक ऐनमा समावेश गरिएको हुन्छ ।

गण्डकी प्रदेश सरकारले वर्ष २०७९/८०का लागि ल्याएको आर्थिक ऐनमा सवारी कर वृद्धि गरी तोकेको छ । तर ऐनमा जरिवानासम्बन्धी व्यवस्था नराखेपनि प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ले भने अनुसार जरिवाना लिन थाले पछि बिरोध भएको हो । सवारी कर राजस्व संकलनको सबैभन्दा ठूलो स्रोत हो । सवारी करमा आगामी वर्षदेखि लागु हुने गरी गण्डकी प्रदेश सरकारले १० हजारसम्म वृद्धि गरेपछि नागरिकस्तरबाट विरोध भई रहेको छ । पोखरा लगायत समग्र गण्डकीका यातायात व्यवसायीले चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका छन् । आर्थिक विधेयक अनुसार सवारी साधनमा लाग्ने सबैजसो करमा वृद्धि जायज र न्यायोचित छैन ।

अहिलेको सवारी कर नीतिले स्तरअनुसारको सवारी साधन चढ्ने सबै नागरिकलाई ठूलो आर्थिक भार पारेको छ । सामान्य नागरिकदेखि यातायात व्यवसायीसम्मलाई ढाड सेक्ने काम हो । सरकारको सवारी कर व्यवस्थाप्रतिसरकार चल्ने जनस्तरबाट संकलन गरिने कर तथा राजश्वले हो । त्यसैले सरकारले करको दर होइन दायरा बढाएर साना तथा ठुला व्यवसायीलाई समेट्नु पर्छ । नयाँ सवारी करको दर र जरिवानाको व्यवस्था समसामयिक तथा न्यायोचित नभएकोले सरकारले पुनर्विचार गर्नु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया