प्रदेश ४ र ५ जोड्ने माेटरेबल पुल बन्दै

समाधान संवाददाता २०७५ चैत २९ गते ११:५९

समाधान संवाददाता
दमौली

गण्डकी प्रदेश र प्रदेश नम्बर ५ जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा मोटरेबल पुल बन्ने भएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि मोटरेबल पुल बन्न लागेको हो ।

पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २५ करोड विनियोजन भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । २ सय १० मिटर लामो पुलको निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ । सिग्देलका अनुसार पुल निर्माणको जिम्मा काठमाडौस्थित युनाइटेड बिल्डर्सले पाएको छ ।

Advertisement

निर्माण सुरु भएको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पुल तनहुँ र पाल्पा जोड्ने १ मात्र पक्की पुल हो । उपभोक्ता समिति गठन भएको छ महिनाभित्र बजेट पर्न सफल यस पुल डबल लेन प्रविधिमा निर्माण हुने निर्माण कम्पनीका प्रतिनिधि बालकुमार श्रेष्ठले जानकारी दिए ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य भएको स्थानीय माया दरैले जानकारी दिइन् ।

Advertisement

उनले भनिन्, ‘पुल निर्माण नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रुपमा आवातजावात गर्न सकिन्छ ।’ मोटरेबल पुल निर्माण भएपछि २ स्थानीय तहका हजारौं सर्वसाधारण लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया