सबै महानगरको चुनौति फोहोर व्यवस्थापन, यस्तो छ ‘पोखरा घोषण पत्र’

पोखरा,
पोखरा महानगरपालिकाको आयोजनामा देशका ६ महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहितको पोखरामा भएको भेला शनिबार बेलुका सकिएको छ । दुई दिनसम्म चलेको सम्मेलनले ७ बुँदे साझा ‘पोखरा घोषणा पत्र’ सार्वजनिक भएको छ ।
सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, काम, कारबाही तथा विकास, निर्माणका कार्यलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको पोखराका मेयर धनराज आचार्यले बताए ।
मेयरका आचर्यका अनुसार ६ वटै महानगरको साझा चुनौति फोहोर व्यवस्थापन रहेको बताए । ‘हामीहरुको दुई दिने महत्वपूर्ण सम्मेलन सकियो । यसलाई हामीले मेट्रो मिट नेपाल भनेको छौं । जसमा हामीहरुले ७ बँदे साझा घोषणा पत्र सार्वजनिक गर्यौं । यो सम्मेलनले सबैको साझा समस्या भनेको फोहोर व्यवस्थापन देखियो । सबै महानगरको अगाडि फोहोर व्यवस्थापन चुनौतिको विषय बनेको छ । यसलाई कसरी प्रभावकारी र समय सान्दर्भिक व्यवस्थापन गर्न सकिन्छ भन्नेमा हामीहरु केन्द्रीत रह्यौं,’ मेयर आचार्यले भने, ‘हिजो विगतमा रहेका सरकारले फोहोर निश्चित ठाउँमा लगेर पुर्ने गर्दै आएको थियाे तर, अहिले आफूहरुको माझामा रियुज, रिसाइकल सहितको फोहोर व्यवस्थापन प्रविधि आवश्यक रहेकाले यसैमा केन्द्रीत रहेर सम्मेलनमा एउटै घारण बनायौं,अनुभव साटासाट गर्यौं ।,’
पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, विराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम वीरगञ्जका मेयर राजेशमान सिंह सम्मेलनमा भाग लिएका थिए ।
यस्ता छन्, ७ बँदे साझा घोषणा पत्र
१.संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरुसंगको समन्वय सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण २ सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसंग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नया कानूनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं ।
२.महानगरपालिकाहरुका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरुलाई सम्मान र संवोधन गर्दै महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रबर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई “महानगर मञ्च नेपाल माध्यमद्वारा संस्थागत गर्न प्रण गर्दछ ।
३. उक्त महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन नेपाल को आयोजनासंगै त्यसका प्रतिबद्धताहरुको कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालय समेतको आवश्यक प्रबन्ध गर्न सहमति गर्दछौ ।
४. संघीय एवं प्रादेशिक योजना निर्माण प्रक्रिया र पद्धतिसंग समेत सामञ्जस्य हुने गरी महानगरीय नीति तथा योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई व्यवस्थित शहरीकरण, तथ्यमा आधारित नीति निर्माण र उपलब्धिमूलक एवं जवाफदेही कार्यान्वयन प्रणाली सुनिश्चित गर्न हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्न प्रतिवद्धता व्यक्त गर्दछौ ।
५. महानगर, यसका पदाधिकारी पक्ष वा विपक्ष में कानूनी रक्षा÷प्रतिरक्षा गर्नुपर्ने विषय जटिल बन्दै गईरहेको परिप्रक्ष्यमा संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै नहानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति जाहेर गर्दछौ ।
६. महानगरका छिमेकी उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाहरुसंग समेत हरित तथा समावेशी प्वाधार सुशासन तथा विकास, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एवं सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने दृढता व्यक्त गर्दछौं ।
७. महानगरहरुका पारस्परिक सवाल, समस्या र चुनौतीहरुलाई समन्वित ढङ्गबाट संबोधन गर्ने सन्दर्भमा संघर प्रदेश सरकार एवं राज्यका अन्य अङ्ग र निकायहरुसंग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क समन्वय र सहकार्य गर्न ऐक्यबद्धता जारी गर्दछौं ।

तपाईको प्रतिक्रिया