भ्रष्टाचार विरुद्ध सडक प्रदर्शन गर्दै एमाले

समाधान संवाददाता २०७९ साउन १८ गते १०:३०

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले मंहगी र भ्रष्टाचारका विरुद्धमा सडक प्रर्दशन गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । काठमाडाैंमा भएको जनप्रदर्शनपछि जिल्ला तथा पालिका स्तरमा प्रदर्शन गर्न लागेको कमिटीका कार्यालय सचिव माधव बास्तोलाले जानकारी दिए ।

Advertisement

उनले वर्तमान सत्ता गठबन्धनका कारण चरम महंगी बढेको तथा भ्रष्टाचार मौलाएको आरोप लगाए । सरकारले राष्ट्रियता विरोधी एमसिसी तथा एसपिपी सम्झौता गरेको आरोप लगाउँदै उनले नागरिकता विधेयकका अलवा नीतिगत भ्रष्टाचार बढाएको दाबी गरे । ‘मातहतका कमिटी तथा जनसंगठनलाई मूल्यवृद्धिको विरुद्ध तथा जनजीविका सवालमा आम जनसमुदायलाई गोलबन्द गरी आन्दोलनमा सहभागी गराउनका लागि अभियान थाल्न परिपत्र गरेका छौं,’ कार्यालय सचिव बास्तोलाले भने, ‘चाँडोभन्दा चाँडो जनसंगठनसँग बैठक बसेर योजना बनाएर सडक प्रदर्शनको लागि तयारी गर्न आग्रह गरेका छौं ।’

उनले गण्डकी प्रदेश सरकारले बजेटको दुरुपयोग गरेको तथा जनतालाई अनावश्यक कर थोपरेका कारण आन्दोलन गर्नुको विकल्प नभएको दाबी गरे । पार्टीले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा हरेक दिन जसो बढ्दो महंगीले जनता चपेटामा परेको तथा सत्ता गठबन्धनका गतिविधिले संघीयतामाथि नै प्रश्नचिन्ह खडा भएकाले सचेत दल तथा नागरिक मूकदर्शक बनेर बस्न नमिल्ने तर्क गरिएको छ । राष्ट्रियताको रक्षा र जनजीविकाको सवालमा एमालेले सरकारको विरुद्धमा गर्न लागेको सडक प्रदर्शनमा सहभागी बन्न सबैमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया