सम्पादकीय: हिउँदमा तयारी गरौं, वर्षामा नपछुताऔं

समाधान संवाददाता २०७९ साउन १८ गते १२:०७

सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने गर्छ र अक्टोबर २ (मध्य असोज) मा बाहिरिने गर्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पहिलाको भन्दा झन्डै एक साताअघि नै मनसुन प्रवेश गरेको थियो । मनसुनको अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ । यो वर्ष सामान्यभन्दा धेरै पानी पर्ने मौसमविद्हश्रको पूर्वानुमान छ । पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा धेरै पानी पोखरामा परेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार पोखराको लामपाटनमा सबैभन्दा धेरै ३३४.६ मिलिमिटर वर्षा मापन भएको छ । २४ घन्टाभित्र १ सय ४० मिलिटर वर्षा हुनुलाई खतरा मानिन्छ । तर त्यसको दोब्बरभन्दा धेरै पानी परेको रेकर्ड लामपाटनमा मापन भएको छ । मनसुनकै बेला आउने बाढी पहिरोले प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान लिने गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा यसपालि साउनको मध्यसम्म आइपुग्दा बाढीपहिरोबाट ३४ जनाको ज्यान गएको र दुई जना बेपत्ता भएका छन् ।

यो अवधिमा ३८ जना घाइते भएको तथा ७७ घर पूर्ण क्षति भएको छ । यो वर्ष ४ महिनाको मनसुन याममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । तर मनसुनजन्य विपद्बाट हुने क्षतिलाई कम गर्नको लागि सरकारको पूर्व तयारी कमजोर छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको आगामी विपद्सम्बन्धी प्रक्षेपण अनुसार बाढी, पहिरो, डुबान/कटान लगायत प्राकृतिक प्रकोपबाट १९ लाख ९९ हजार ८ सय ७५ जनसंख्या र ४ लाख २१ हजार ४७ घरधुरी प्रभावित हुने उल्लेख छ ।

यो प्रक्षेपण अनुसार विपद्बाट प्रभावित हुन सक्ने आँकडा कुल घरधुरीमा ७ दशमलव ४६ प्रतिशत र कुल जनसंख्याको ६ दशमलव ८५ प्रतिशत हो । देशभर विपद्को सम्भावित उच्च जोखिममा यति धेरै घरधुरी र जनसंख्या समेटिए पनि क्षति रोक्न र न्यूनीकरणका लागि समयमै सुरक्षित स्थानान्तरण गरी वर्षातपछि पुरानै स्थितिमा फर्काउन नेपाल सरकारले पहल गरेको छैन । सरकारी निकायबाट तयार पारिएका योजना पनि विपद्पछिको खोज/उद्धार र राहत केन्द्रीत छ । जोखिममा परेका नागरिकलाई विपद् अगावै सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ सरकारले ठोस खाका बनाएको छैन ।

जसका कारण बाढी, पहिरो, डुबान, कटान एवं यसबाट सिर्जित समस्या यो वर्ष पनि दोहोरिने जोखिम बढेको छ । मनसुनका कारण पहिरो वा बाढी गएमा उद्धार र राहतका लागि बजेट छ तर त्यो पहिरो वा बाढी जानै नदिनका लागि काम गर्न बजेट नै थिएन । त्यसैले विपद भइसकेपछिका लागि मात्र योजना बनाउनुभन्दा घटना हुन नै नदिने गरी बजेटमा व्यवस्थापन ध्यान दिनु आवश्यक छ । मनसुनका कारण निम्तिने विपद् व्यवस्थापनका लागि जोखिमयुक्त स्थानमा बन्दोबस्तीका सामानसहित टोली परिचालन गर्नुका साथै जोखिमयुक्त बस्तीमा सम्भावित बाढीबारे पूर्वसूचना प्रवाह गर्न सके मानवीय र भौतिक क्षति कम गर्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया