स्वरोजगार प्रवद्र्धन गर्न माग

समाधान संवाददाता २०७९ साउन २० गते ११:१५

पोखरा ।

ठूला उद्योग, व्यवसायमा रोजगारी सिर्जनाको सम्भावना कम हुँदा स्वरोजगारीलाई सघाउन सरोकारवालाले आग्रह गरेका छन् । सरकारी उद्योगहरु बन्द हुनु, महामारीका कारण निजी लगानी खुम्चिँदा रोजगारीका नयाँ अवसर सिर्जना हुन सकेका छैनन् ।

प्रेरणा नेपाल कास्कीले बिहीबार पोखरामा आयोजना गरेको ‘अनौपचारिक क्षेत्रमा कार्यरत स्वरोजगार प्रवद्र्धनमा सरकार, गैरसरकारी, राजनीतिक दल र नीति क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताहरुले मुख्यमन्त्री, मन्त्री र नेताहरुको बुबाआमाको नाममा खुलेका ट्रस्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा लगाउनसमेत आग्रह गरे ।

Advertisement

कार्यक्रममा एमाले गण्डकी उपाध्यक्ष मोहनप्रसाद रेग्मीले ट्रस्टलाई बजेट विनियोजित गर्नुको सट्टा त्यो बजेट स्वरोजगार प्रवद्र्धनमा लगाउनु उपयुक्त हुने धारणा राखे । ‘बजेट कहाँ लगाउने भन्ने कुरा सरकार, त्यसका मन्त्रीलाई थाहा हुनुपर्छ । नेता र मन्त्रीका बाउआमाको नाममा खोलिएको ट्रस्टलाई छुट्याएको बजेट रोजगारी पनि सिर्जना हुने र स्वरोजगार पनि उत्पादन हुने क्षेत्रमा लगाउनुपर्छ,’ उनले भने ।

गण्डकी प्रदेश सभा सदस्य तथा एमाले नेता धनञ्जय दवाडीले देशका क्रान्ति सम्पन्न भए पनि आर्थिक सामाजिक रुपान्तरण नहुँदा अन्योलको अवस्था आएको बताए । उनले पुँजीको एकीकृत विकास गरी अहिलेकै पुस्ताले समृद्धिको महसुस गर्ने वातावरण सिर्जना गर्नुपर्ने मत राखे ।

Advertisement

पत्रकार कमल पौडेल अथकले राणाशासनलाई जहानिया भनिए पनि वास्तविक जहानियाँ शासन अहिले भएको तर्क गरे । आफन्त, नेता, कार्यकर्तालाई लाभ दिने शासन जहानियाँ नै भएको उनको भनाइ छ । उनले भने, ‘कार्यक्रमका लागि कार्यक्रम गर्न छाडेर दलहरु र सरकारले पछि फर्कनुपर्छ ।’

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले संघले स्वरोजगार उत्पादनका लागि तालिम दिन र उनीहरुलाई रोजगारी र स्वरोजगार बनाउनका लागि काम गरिरहेको बताए । तर यसमा सरकारले नसघाएको उनले गुनासो गरे । ‘दिदीबहिनीले सामान उत्पादन गर्नु भएको छ तर बिक्री भएको छैन । बजारीकरणमा अब सरकारले सघाओस्,‘ उनले भने ।

पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष उमनाथ बास्तोलाले स्वरोजगार उत्पादनमा राज्यले चासो नदेखाएको आरोप लगाए । उनले महिला उद्यमी कर्जा, स्वरोजगार प्रवद्र्धन कोष, सहुलियत कर्जा लगायतको दुरुपयोग भएको दाबी गरे । त्यसलाई सदुपयोग गर्दै स्वरोजगार उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने उनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख शेषकान्त पौडेलले तालिमका लागि इच्छुक जनशक्ति कम हुँदै गएको जनाए । ‘भत्ता भयो भने तालिममा आउँछन् । नत्र सीप सिक्न भनेर आउनेको संख्या एकदमै कम छ,’ उनले भने । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आफ्नो गाउँपालिकाले यस वर्ष रोजगारी वर्षको रुपमा मनाइरहेको बताए । ‘जो जे सिक्न चाहन्छ, उसलाई त्यही तालिम दिन्छौं, उनले भने । उनले आवश्यकता पहिचान गरेरमात्र तालिम आयोजना गर्नुपर्नेमा जोड दिए ।

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले नीति, नियम बनेपनि कार्यान्वयन नहुँदा स्वरोजगार प्रवद्र्धन हुन नसकेको टिप्पणी गरे । उनले श्रमिकको पहिचान नभएको, श्रमको सम्मान नहुने, उचित ज्याला नपाउने लगायतका कारणले युवा पलायन भइरहेको बताए । अनौपचारिक क्षेत्रलाई व्यवस्थित गर्न सके त्यहीबाट स्वरोजगार प्रवद्र्धन हुने उनको ठम्याइ छ ।

क्युपेक नेपाल कास्कीकी महिला समिति सचिव दुर्गा भुजेलले कामको सम्मान नहुँदा महिलालाई रोजगारी र स्वरोजगार बन्न समस्या भएको सुनाइन् । ‘म सहचालक हुँ तर मलाई खलासी भनेर हेप्छन् । यहाँ काम र सीपको सम्मान नै छैन अनि कसरी काम गर्नु ?,’ उनले गुनासो गरिन् ।

प्रेरणा नेपालकी अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले दलहरुले चुनावमा स्वरोजगार प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने आकर्षक नारा दिए पनि व्यवहारमा त्यस्तो नदेखिएको सुनाइन् । उनले भनिन्, ‘स्वरोजगारबारे भएको कार्यक्रम पनि सरोकारवालाको प्राथमिकतामा पर्दैन । यसले उनीहरु कत्तिको गम्भीर छन् भन्ने देखाउँछ ।’

कार्यक्रममा क्युपेक कास्की अध्यक्ष तीर्थराज मगर, प्रेरणा नेपालकी सहसचिव चन्द्रा शर्मा, सचिव सरिता पहारी, केशवराज चपाई, लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया