समयको काँचुली फेराइ

समाधान संवाददाता २०७६ वैशाख १ गते १४:५६

बोटबिरुवाका पात फेरिएका छन् । हावाको सुगन्ध बदलिएको छ । यो वसन्त ऋतु हो । यसकै मध्यान्तरमा वर्ष बदलिन्छ । विक्रम संवतको पात्रोमा २०७५ साल विदा भएर आजदेखि ७६ साल सुरु भएको छ ।

बोटबिरुवाका पुराना पातको सट्टा नयाँ पलाए झै समयले काँचुली फेरेको छ र नयाँ साल आरम्भ भएको छ । वर्ष समय गणनाको महत्वपूर्ण एकाइ हो । समयको त सेकेन्ड सेकेन्डकै महत्व छ, मिनेट मिनेटकै महत्व छ । पृथ्वीले सूर्यलाई फन्को मार्न लगाएको समयको आधारमा वर्षको गणना भएको छ । समयलाई पृथ्वीको गतिमा नापिएको छ । पृथ्वी र सूर्य वा ग्रहहरुबिना समय नै पनि नहुने भइहाल्यो । शून्यमा समय नै कहाँ हुन्थ्यो र ? न दिन न रात ।

सभ्यताको सुरुआततिरै मानिसले समयको हेक्का राख्न थाल्यो र आफूलाई त्यसैअनुसार विकसित गर्दै लग्यो । त्यो त दिन र रातको हेक्का अरु जीवले पनि राख्छन् । अँध्यारो हुने संकेत पाएर चराहरु गुँड फर्किन्छन् ।

Advertisement

गाईबस्तुहरु गोठ फर्किन्छन् । मौरीहरु घारतिर लुक्न आउँछन् । मानिसले भने दिनरातका अलावा साता, महिना र वर्षको हेक्का पनि राख्न थाल्यो र त्यसैअनुसार आफ्नो जीवनशैली बनायो । ज्योतिष शास्त्रीय ज्ञानले ग्रहहरुको गति पत्ता लगायो र पात्रो बनायो । गणितीय ज्ञान पनि ज्योतिष शास्त्रले नै मानव सभ्यतालाई दियो । ऋतुहरु परिवर्तनको ज्ञानले नै मानिसको जीवन सहज र सुरक्षित बनाउन मद्दत पुग्यो । अर्थात समयको चालमा हिँडेरै मानव जातिले आफूलाई पृथ्वीको शक्तिशाली प्राणी बनाएको छ ।

समय प्रकृतिको गति त हुँदै हो, मानवीय प्रगतिको गतिको पनि बिम्व भइसकेको छ । राजनीतिक र आर्थिक, सामाजिक र विज्ञान प्रविधिका परिवर्तनले पनि समय परिवर्तनको बोध गराइरहेका छन् । हिजोको मानिस प्रकृतिसँग लड्दैभिड्दै जिउज्यानको रक्षामा मात्रै केन्द्रित हुँदै अघि बढे पुगेको थियो । आजको मानिसले आजकै राजनीति, आर्थिक, सामाजिक र प्रविधिअनुसारको परिवेशमा आफूलाई अनुकूल बनाउनुपरेको छ ।

Advertisement

त्यसैमा उसको हितरक्षा सम्भव छ । नयाँ समयअनुसारको जीवन पद्दति विकास आजको आवश्यकता हो । आफूलाई अझै परिकृष्त लैजानु मानवीय स्वभाव पनि हो । समयअनुसार चल्न नसक्ने व्यक्ति र संस्थामात्रै होइन राज्यकै पनि भविष्य अल्पायु हुन्छ । यही मर्म अनुसार नेपालीहरुले आफूमा नयाँपन दिन सकून् । राज्यले नागरिकप्रतिको कर्तव्य बोध गर्न सकोस् । भित्ताको पात्रोका अंक र अक्षरहरुमात्रै नबदिउन् । नेपालीको जीवनस्तर सुढृढ हुँदै बदलियोस् । देश नेपालले समृद्धि हाँसिल गरोस् । नयाँ वर्ष २०७६ को सतत् शुभकामना ।

तपाईको प्रतिक्रिया