राष्ट्रिय खेलकुद तयारीमा परिषद गण्डकी

समाधान संवाददाता २०७९ साउन २३ गते १०:५७

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार अभिमुखीकरण तालिम आयोजना गरेको छ । गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला विकास समितिका अध्यक्ष, खेलकुद विकास समितिका कार्यालय प्रमुख र परिषदका सदस्यलाई तालिम दिइएको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले संघीय, प्रदेश अन्तर कार्यालय र खेल संघहरुको अन्तर सम्वन्ध, बजेटको कार्यान्वयन र चुनौतीका बारेमा प्रकाश पारे । उनले प्रदेशको खेलकुद बजेट अपर्याप्त रहेको जनाउँदै अपर्याप्त लगानी विना निर्माण भएका पूर्वाधारले नतिजा दिन नसकेको सुनाए ।

प्रदेशको खेलकुद विकास ऐन र नियमावलीले निर्दिष्ट गरेका अधिकारका बारेमा चर्चा गर्दै सचिव अधिकारीले स्वस्थ्य नागरिक उत्पादनसँगै आर्थिक विकासका लागि खेलकुदमा लगानी अपरिहार्य रहेको बताए । उनले स्थानीय तहसँगको समन्वयमा खेलकुद पूर्वाधार विकास हुन सके त्यसको संरक्षण र सम्वद्र्धन हुन सक्ने विचा राखे ।

Advertisement

युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा सुशासन आवश्यक हुने बताए । त्यसका लागि खेलकुदमा कार्यरत कर्मचारी र पदाधिकारीमा अनुशासित हुनुपर्ने उनले औंल्याए । पौडेलले संघीयता प्राप्त भएको ५ वर्षसम्म पनि खेलकुदका संरचनाको संस्थागत विकास हुन नसकेको बताए । खेलकुद कार्यालयमा आधुनिक प्रविधिको प्रयोग आर्थिक कार्यान्वयनका लागि योजना र पारदर्शिता महत्वपूर्ण पाटोको रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका संयोजक एवं उत्प्रेरक ईन्द्र गुरुङले नेतृत्व क्षमताका लागि ७ विषय प्रमुख रुपमा हुनुपर्ने बताए । उनले ऊर्जा, संवेग, समयको व्यवस्थापन, आर्थिक परादर्शिता, सम्बन्धको विकास, जवाफदेहिता लगायतका विषय प्रमुख रहेको औंल्याए । उत्कृष्ट तथा क्षमतावान नेतृत्वका लागि सीपसँगै मानसिक रुपमा आफूलाई त्यस रुपमा उभ्याउन खाँचो रहेको बताउँदै प्रदेश खेलकुदका सल्लाहकारसमेत रहेका गुरुङले क्षमतावान नेतृत्वका लागि मानसिक, शारीरिक तथा स्वस्थ्यसँगै सिर्जनशीलता समेत अपरिहार्य रहेको बताए ।

Advertisement

कार्यक्रम प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङको अध्यक्षतामा भएको हो । सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ र परिषदका सदस्य खगेन्द्र क्षेत्रीले समेत बोलेका थिए ।

तपाईको प्रतिक्रिया