गण्डकीमा कांग्रेसको दाबी: संघमा १२, प्रदेशमा २० सिट

पोखरा ।
आगामी संसदीय निर्वाचनमा सत्तारुढ गठबन्धनले नेकपा एमाले विरुद्ध एकजुट भएर जाने लड्ने निर्णय गरेसँगै दलहरुबीच भागबण्डाको बहस सुरु भएको छ । जिल्लाका कुन निर्वाचन क्षेत्र कसले लिने र कसले छोड्ने रस्साकस्सी सत्ता गठबन्धनमा सुरु भएको छ । यो बहसले गण्डकी प्रदेश पनि तात्न थालेको छ ।
गण्डकीमा सत्तारुढ गठबन्धनका दलमध्ये उपेन्द्र यादवको जनता समाजवादी पार्टीको प्रभाव छैन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीबाहेक थप २ दल चित्रबहादुर केसीको जनमोर्चा र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी भने सिट दाबी गर्ने गरी अस्तित्वमा छन् । यी सबै दलका नेता आफ्नो भागमा धेरैभन्दा धेरै सिट पार्न लबिइङ गर्दै छन् ।
कांग्रेसको दाबी स्वीकार्ने हो भने गठबन्धनका अरु दलले संघका ६ र प्रदेशका १६ सिटमा चित्त बुझाउनुपर्ने हुन्छ
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग अन्य दलले बार्गेनिङ गर्नुपर्ने अवस्था छ । भर्खरै सकिएको स्थानीय तहको निर्वाचनले पनि गठबन्धनका अन्य दलभन्दा कांग्रेसको मत धेरै नै माथि देखाएकाले कांग्रेस नेताहरु एमालेलाई पराजित गर्ने हो भने धेरैभन्दा धेरै सिटमा कांग्रेसका उम्मेद्वार उठाउनु पर्ने तर्क गर्छन् ।
कांग्रेस गण्डकीका एक नेताले एमालेलाई पराजित गर्ने सत्ता गठबन्धनको पहिलो उद्देश्य रहेकाले कांग्रेसले एक्लै जित्ने सम्भावना भएका ठाउमा अन्य दलले दाबी गर्नु उचित नहुने समाधानसँग बताए । जहाँ तीव्र प्रतिस्पर्धा वा एमाले बलियो छ, त्यहाँ जित्ने दल र व्यक्तिलाई उठाउनु पर्ने उनको तर्क छ ।
स्रोतका अनुसार गण्डकी प्रदेशमा प्रतिनिधिसभाका १८ सिटमध्ये १२ सिटमा कांग्रेसको जबरजस्त दाबी छ । त्यस्तै, प्रदेश सभाका ३६ सिटमध्ये कम्तीमा २० सिटमा कांग्रेसले छोड्नै नसक्ने अवस्था रहेको ती नेताले बताए । ‘एमालेलाई पराजित गर्ने उद्देश्य पूरा गर्न यही फर्मुला अनुसार चुनावमा जानु पर्छ,’ ती नेताले समाधानसँग भने ।
कांग्रेसले संघीय संसदमा स्याङ्जा र तनहुँका दुवै क्षेत्रसहित मुस्ताङ, म्याग्दी, पर्वत र मनाङ अन्य दललाई छोडन नसकिने जनाएको छ । त्यस्तै, कास्कीका ३ मध्ये २ क्षेत्र, बागलुङका २ मध्ये १ क्षेत्र र नवलपुरका २ मध्ये १ क्षेत्रमा उसको दावी छ । गोरखा दुवै र लमजुङको संघीय क्षेत्र छोड्न कांग्रेस लचिलो छ । त्यस्तै, कास्की, बागलुङ र नवलपुर जिल्लाका पनि १–१ संघीय क्षेत्र गठबन्धनलाई छोड्न कांग्रेस राजी भएको स्रोतको दाबी छ ।
कांग्रेसले छोड्न चाहेका ६ निर्वाचन क्षेत्रमध्ये बागलुङको १ निर्वाचन क्षेत्र जनमोर्चाका चित्रबहादुर केसीका लागि सुरक्षित छ भने गोरखाको १ निर्वाचन क्षेत्र नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईका लागि सुरक्षित मानिन्छ । कांग्रेसको भागबण्डा मान्ने हो भने माओवादी केन्द्र र नेकपा एसले कास्की, लमजुङ, गोरखा र नवलपुरका १–१ क्षेत्र गरी ४ संघीय सिटमा चित्त बुझाउनुपर्ने हुन्छ ।
यता, प्रदेश सभा सदस्यका लागि गण्डकीमा ३६ निर्वाचन क्षेत्र रहेकोमा त्यसमा पनि कांग्रेसको २० क्षेत्रमा दाबी छ । स्रोतका अनुसार लमजुङ र मुस्ताङका दुवै, म्याग्दी, बागलुङ, पर्वत र मनाङमा १–१ प्रदेश सभा सदस्यमा कांग्रेसको दाबी छ । त्यस्तै, कास्कीमा ३, नवलपुरमा ३, स्याङ्जामा २, गोरखामा २ र तनहुँमा २ प्रदेश सभा क्षेत्रमा कांग्रेसको दाबी छ ।
मुस्ताङमा गठबन्धनको अन्य कुनै पनि दलको प्रभाव नभएकाले दुवैमा दाबी गरेको कांग्रेसले मनाङमा १ क्षेत्र स्वतन्त्रलाई दिने योजना बनाएको छ । कांग्रेसको सोच अनुसार हुने हो भने गठबन्धनका अन्य ४ दलले प्रदेशमा १६ सिटमा चित्त बुझाउनुपर्ने छ । कांग्रेसका ती नेताका अनुसार बागलुङमा जनमोर्चाका लागि १ प्रदेश सभा र गोरखामा नेपाल समाजवादी पार्टीका लागि १ प्रदेश सभा सिट दिनैपर्ने छ भने नेकपा एसका लागि बागलुङ, कास्की र तनहुँ गरी ३ वटा प्रदेश सभा दिनुपर्ने छ ।
कांग्रेसको यो फर्मुला अनुसार गण्डकी प्रदेश सभामा माओवादी केन्द्रले १० क्षेत्र पाउँछ । कांग्रेसको सोच अनुसार सिट भागफाँडमा सहमति हुने हो भने माओवादी केन्द्रले बागलुङ, गोरखा, म्याग्दी, पर्वत र तनहुँमा १–१ प्रदेश सभा पाउनेछ भने कास्की, स्याङ्जा र नवलपुरमा २–२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र पाउनेछ ।








एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण
जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया