ब्रह्माकुमारिमा रक्षा सूत्र

पोखरा ।
रक्षाबन्धनको पूर्वसन्ध्यामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नयाँबजार पोखराले संगठनलाई एकता, आत्मिक प्रेम र मर्यादाको सूत्रमा बाँध्ने उद्देश्यका साथ रक्षाबन्धन एवम् स्नेह मिलन कार्यक्रम गरेको छ । त्यस अवसरमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले अनुशासित, सभ्य र नैतिकवान समाज निर्माण गर्नमा अवश्य नै यस संस्थाका सशक्त नारीशक्तिको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।
संस्थाको मुख्यालय माउन्ट आबुसमेत भ्रमण गरेर आइसकेका नगर प्रमुख आचार्यले यहाँ सेवारत आजीवन समर्पित सदस्यहरुको लगनशीलता, सर्मपणमयता, अनुशासन र संगठन देखेर आफू प्रभावित भएको सुनाए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीले शुभकामना तथा आशीर्वचन दिइन् । ‘रक्षाबन्धन पाँच विकारहरुबाट आत्माको रक्षाका लागि बाँधिएको पावन एवं अलौकिक पे्रमको बन्धन हो,’ उनले भनिन्, ‘मन, वचन, कर्ममा धारण गरिने पवित्रताले नै मानिसको आचरणमा दिव्यता आउन सक्छ र जसको फलस्वरुप विश्वमा पुनः सुख, शान्ति सम्पन्न दैवी स्वराज्य स्थापना हुन सक्छ ।’
कार्यक्रममा संस्थाको मुख्यालय माउन्ट आबुबाट मुख्य प्रशासिका राजयोगिनी डाक्टर दिदी रतनमोहिनीले पठाएको राखीलाई प्रमुख अतिथि मेयर आचार्य र सभा अध्यक्षले संयुक्त रुपमा विमोचन गरेका थिए । राजयोगिनी दिदीको हातबाट नगरप्रमुख र उनकी श्रीमतीले पनि रक्षासूत्र ग्रहण गरे । संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले रक्षाबन्धनको शुभकामनासहित संस्थाका गतिविधिबारे जानकारी दिए ।
कार्यक्रममा संस्थाका पोखराको सेरोफेरोमा रहेका सेवाकेन्द्रका सञ्चालिका तथा समर्पित सदस्य सहित कुल १०० जना सहभागी भएर संस्थाका अध्यक्ष राजयोगिनी परिणीता दिदीको हातबाट रक्षासूत्र ग्रहण गरेका थिए । साउन २७ गते शुक्रबारको दिन संस्थाका पोखरामा रहेका २२ वटा सेवाकेन्द्र सहित देशभर रहेका करिब ९०० सेवाकेन्द्रहरुमा जनसमुदायलाई रक्षा सूत्र ग्रहण, आध्यात्मिक प्रवचन एवम् अवगुण दान आग्रह तथा प्रसाद वितरण कार्यक्रम गर्ने जानकारी संस्थाका महासचिव राजयोगी ब्रह्मकुमार बरालले दिए ।
कार्यक्रममा संस्थाको लवलीहिल शाखा सञ्चालिका ब्रह्माकुमारी सुधा दिदीले रक्षाबन्धन पर्वको आध्यात्मिक रहस्यमाथि प्रकाश पारिन् । कार्यक्रम सञ्चालन नयाँबजार क्षेत्रीय कार्यालय सञ्चालिका ब्रह्माकुमारी शोभा दिदीले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया