जगमानलाई अली मियाँ पुरस्कार

समाधान संवाददाता २०७६ वैशाख २ गते १४:४०

समाधान संवाददाता
पोखरा

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई उनकै जन्मथलो यङ्जाकोटमा सम्मान गरिएको छ । लोक कवि अली मियाँको शतवार्षिकीको सन्दर्भमा नगद रू ५० हजार र सम्मानपत्रसहित अली मियाँ लोकवाङमय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो ।

साहित्यकारहरु चेतन कार्की र प्रकाश सायमी, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले उनलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मादी गाउँपालिका, हिमाली सांस्कृतिक परिवार लगायत स्थानीय आमा समूह, बाबा समूह, युवा क्लबसहित दर्जन संघ, संस्थाले उनलाई सम्मान गरेका थिए । नयाँ वर्ष एवं रामनवमीको अवसर पारी शनिबार रातभर कार्यक्रम भएको थियो ।

Advertisement

प्राज्ञ हरिदेवी कोइरालाले लोक संस्कृति नेपालीको जग भएको बताइन् । सम्मानित जगमान गुरुङको व्यक्तित्व र कृतित्वबारे तुलसी प्रवासले चर्चा गरे । त्यसैगरी समाजसेवी टीका कार्की, साहित्यकार प्रकाश सायमी र चेतन कार्कीले पनि जगमानको प्राज्ञिक व्यक्तित्वबारे चर्चा गर्दै शुभकामना दिए ।

डा. जगमानको सम्मानमा हिमाली सांस्कृतिक परिवारका कलाकारले विभिन्न लोक तथा देशभक्ति नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव पद्मराज ढकालले गरेका थिए । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले नेपाली वाङ्मयका साधकलाई जन्मस्थलमै सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

Advertisement

उनले नेपाली साहित्यको उत्थानका लागि साधकहरुलाई सम्मान, पुरस्कार, अन्तक्र्रिया लगायतका कार्यक्रम प्रतिष्ठानले गरिरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया