मन्दी होइन, समृद्धिमा लागाैं

पछिल्ला दिनमा हाम्रो देश नेपालमा श्रीलंकाका विविध सन्दर्भसँग जोडेर अनेक–अनेक कुराकानी हुन थालेका छन् । त्यो स्वाभिमानी नेपालीका लागि निकै चासो र चिन्ताको विषय हो । किनकि देश जब संघीय संरचनामा गयो त्यसपछि यो संवृद्धि शब्दले व्यापकता पाइरहेको अवस्थामा आम नेपालीले हरेक दिन संवृद्धिको नारा गाइरहेका छन् । यस्तो बेलामा नेपाललाई मन्दीको बाटोमा होइन, संवृद्धिको बाटोमा डोर्याउनुपर्छ । जसको एउटा भरपर्दो माध्यम भनेको पर्यटन हो ।
संघीय संरचना अनुसारका सात प्रदेशमध्ये गण्डकी प्रदेश विदेशी पाहुनका लागि अति महत्वपूर्ण प्रदेशभित्र पर्दछ । यहाँको हावापानी, हरियाली डाँडाकाँडा, भीरपखेरा, नदीनाला, झरना, ताल, तलैयाको जति महिमा र महत्व छ । पवित्र शुक्लागण्डकी, विभिन्न ऋषिको तपोभूमि, माता विध्यवासिनी, गुप्तकाली, जलवाराही, बागलुङ काली, गोर्खाकाली, गोर्खा दरबार, माता मनकामना, व्यास गुफालगायतका विविध मठ, मन्दिर, मस्जिद हाम्रा धार्मिक पर्यटनका गन्तव्यस्थल हुन् । जसका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
नागरिकलाई भुलाउने झुलाउने काम गर्नु, देश छोडेर भाग्नुपर्ने अवस्था सिर्जना गर्न खोज्नु राम्रो पटक्कै होइन
फेवाताल, रूपाताल, वेगनासताल, खास्टेताला, दिपाङ ताल, दामोदर कुण्ड, गोसाइकुण्ड, मुक्तिनाथ, तातोपानी, गलेश्वर, लेकसाइड, पञ्चासे, काहुँडाँडा सराङकोट, कास्कीकोट, धम्पुस, सिक्लेस, भुर्जुङखोला, मादी, मोदी, मस्र्याङ्दी, याञ्जाकोट यी स्थानहरू पर्यटकका लागि अत्यन्त रमणीय ठाउँ र गन्तव्य स्थल हुन् । उच्च हिमशृंखला माछापुच्छ्रे जसलाई पुरानु नाम गन्धर्व चुली भनेर चिनिन्थ्यो । अन्नपूर्ण, धवलागिरिलगायतले बढाएको शोभाका विषयमा विश्व नै बोलिरहेको छ, हामीले बोल्नुपर्ने आवश्यकता छैन ।
नेपाल आउने पर्यटक गण्डकी प्रदेशको पोखरा झरेपछि यहाँका चमेरे गुफा, महेन्द्र गुफा, पाताले छागो, बुद्धस्तुपा, काहूँकोट, नुवाकोट, पुम्दीकोट, पञ्चासे दर्शनले आन्तरिक र बाह्य पर्यटकहरूको मन लोभ्याई रहेको पाइन्छ । जसका माध्यमबाट हामीले हाम्रो नेपाललाई आर्थिक समृद्धिको मार्गमा डोर्याउन सक्छौं । एकातर्फ यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्वका स्थलका माध्यमको महत्व आफैँमा विशेष छ । अर्कोतर्फ हामीले धार्मिक पर्यटक, सांस्कृतिक पर्यटकलाई ती क्षेत्रमा निम्त्याएर पर्यटकीय गन्तव्यका साथै एकताभित्रको विविधतालाई प्रष्ट पार्न सक्छौं ।
यहाँका विभिन्न जातजाति गुरुङ, मगर, भोटे, थकाली, नेवारी, तामाङ, ब्राह्मण, क्षत्री, ठकुरी, गिरी, पुरी, सन्यासी, दमै, कामी, सार्की, पोडे, गन्धर्वलगायतका विविध जातीय पहिचान, पहिरन, संस्कार र संस्कृतिका माध्यमबाट पनि हामीले सांस्कृतिक पर्यटकलाई भित्र्याउन सक्छौं । किनकि, पर्यटक जहिले पनि नयाँ चिज प्राप्तिको खोजिमा हिँडिरहेका हुन्छन् । हामीले माछापुच्छ्रेको छायाँ फेवातालमा देखिएको देखाए जस्तै गरेर हाम्रा यहाँका कला, साहित्य, संस्कार, संस्कृति, रहनरहन, भेषभूषालाई आयआर्जनका माध्यम बनाउन सक्छौं । बन्नसक्ने सम्भावना प्रबल रहेको हामीले पाउँछौं ।
संसारभरिबाट आउने पर्यटकका लागि कास्कीको राजधानी पोखराको महत्व सर्वाधिक बढी रहन्छ । किनकि यहाँको प्राकृतिक सुन्दरता, यहाँका आदिवासीको बोलाइ, रहनरहन, चालचलन, खानपानले विदेशी पाहुनालाई आकर्षित पारिरहेको हँुदा । यो सुन्दर नगरीमा कैँयौ देशका पाहुनाहरू आउँछन्, आइरहेका छन् । अब हामीले पोखरामा दुई दिनको मात्र बसाइमा आउने ती पाहुनालाई चार दिन राख्न सक्ने वातावरण निर्माण गर्नु स्थानीय तथा प्रदेश सरकारको बढी दायित्व र केही जिम्मेवारी संघ सरकारको पनि हो ।
हामीले सुन्ने गरेका छाैं, वास्तविकता के भन्ने कुरा यो विज्ञ पाठकजनले पनि आँकलन गर्ने कुरा हो । यहाँ आउने पाहुनाहरू पोखरा बस्दाको समयसम्म जति हासीखुसी रहन्छन् जब उनीहरू पोखरा छोडेर आफ्नो देश जाने कुरा गर्दछन् अर्थात् पोखरा छोडेर आफ्नो घर फर्कने सन्दर्भ रहन्छ उनीहरूको हाउभाउबाट बुझिन्छ कि उनीहरू पोखरामा अझै धेरै समय रहन पाए हुने थियो । कताकति भन्ने गरेको सुन्न पाइन्छ, ‘ईश्वरीय सृष्टिमा पूर्व जन्म हुने हो भने मेरो जीवन पोखरा नगरीमा होस्’ भनेर पर्यटक आफ्नु घरतर्फ फर्कने गरेका छन् भनेर ।
परदेशबाट आएर यसरी हाम्रो भूमिलाई माया, ममता र सद्भाव दर्साउँदा हामीले हाम्रो जिम्मेवारी बोध कति गरिरहेका छौं ? प्रश्न यहीँ रहन्छ र समृद्धिको ढोका हामीले कति खोलेका छौं भनेर चिन्तन यही गर्न आवश्यक छ । विश्वमा नपाइने जडीबुटी नेपालमा पाइन्छ । मेरा विभिन्न जातका पशुपंक्षी पनि नेपालमै पाइन्छन् । फलाम, तामा, हिरा, मोती, सुन, चाँदी, पितल, नुन, खुवा, खनिज पदार्थले भरिभराउ हाम्रा डाँडाकाँडाको महत्वलाई वैज्ञानिकले पनि बुझ्न कठिन परिरहेको देखिन्छ । हाम्रो, धर्म, संस्कार र संस्कृतिलाई पर्यटकहरूले अत्यन्त अभिरुचिका साथ बुझ्ने कोसिस गरिरहेका छन् ।
मन पराइरहेका छन् । गुरुङ संग्रहालय पुग्दा गुरुङ ड्रेसमा फोटो खिच्छन्, मगर, तामाङ, ब्राह्मण–क्षत्री सङ्ग्रहालय पुग्दा त्यही समुदायका व्यक्तिको पोशाकलगाएत तस्वीर लिन लालायित हुनुका पछाडि हाम्रो सांस्कृतिक विविधता पनि पर्यटकीय सम्भावनाको अर्को पाटो हो । यसैले यहाँका लुवाई, खुवाई, नानागानासमेतमा झुम्मिएर रहेको पर्यटकीय सम्भावनालाई यहाँको सरकारले बुझ्न आवश्यक छ ।
विश्वका पर्यटकहरू नेपाल आउन किन तछाडमछाड गरिरहेका हुन्छन् ? किनकि हिजो विश्वजगत्मा हाम्रा पुर्खाले देखाई दिएको बहादुरी र नेपालको सौन्दर्य, जसलाई भुल्ने काम नगरौं । जन्मदिने आमा र जन्मभूमिको सम्मान गर्न नेपालीले भुल्न हुँदैन । यो भुल जिन्दगीको सबैभन्दा ठूलो भुल हो । केही व्यक्तिबाट भएका यस्तै भुलका कारण वर्तमान अवस्थामा नेपाल देश संकटग्रस्त अवस्थातर्फ धकेलिल्ँदै छ भन्ने कुरा भइरहेको आमनेपालीको बुझाइ छ । म नेपाली हुँ भन्ने नेपालीहरूले नेपाल आमाकै आँखाबाट आँसु बगाउन खोज्नू नेपाली नागरिकका लागि राम्रो पक्ष पटक्कै होइन ।
यसैले यस्ता भुल गर्नेहरूले पनि आगामी दिनमा आफूलाई सच्याउने छन् । किनकि नेपाल भूमिमा कुनै पनि राष्ट्रले हस्तक्षेप गर्छु भन्ने संकेतसम्म गर्दा प्रतिकार गर्नका लागि वीर गोर्खाली ढुङ्गा, माटो, लाठा, भाटा लिएर हिँडेको इतिहासलाई बिर्सेर हामी पछाडि फर्कने भावना नेपालीको रगतमा पटक्कै छैन । सार्वभौम नेपाली जनताको विचार सधैँ एकै हुने हुँदा राष्ट्र बचाउनका लागि जो सुकैसँग संघर्ष गर्न खडा भइरहनेमा दुई मत हुँदैन ।
देशमा अराजकता फैलिन थाल्यो भने त्यसप्रति नेपाली सचेत र सजग हुन पनि जानेका छन् । किनभने राष्ट्रका पहरेदार आम नागरिकलाई भुलाउने झुलाउने काम गर्नु, देश छोडेर भाग्नुपर्ने अवस्था सिर्जना गर्न खोज्नु, देशको अस्तित्व समाप्त पार्ने संकेत हाम्रा सामु देखिनु आम नेपाली जनताका लागि राम्रो पटक्कै होइन । यति त्यस्तो अवस्था सिर्जना भयो भने नेपाली जनताले त्यस्ता विकृति र विसंगतिको अन्त्यका लागि सबैलाई सचेत गराउँदै, खराब बाटोमा हिँडेकाहरूलाई सुध्रिनका लागि मौका प्रदान गर्दै, देशमा भाँडभैलो मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याउँदै अगाडि बढ्न आवश्यक छ ।
त्यस्ता अराजक गतिविधिमा लाग्ने व्यक्तिका बारेमा सरकारलाई जानकारी दिएर सभ्य समाज निर्माणमा हामी पनि लाग्न आवश्यक छ । पोखराको कुरा गरिरहँदा पोखरा मात्र सुन्दर पर्यटकीयस्थल मात्र नभई राष्ट्रभित्रका अन्य यस्ता स्थल पनि खोजी हुन आवश्यक छ । त्यो भयो भने विश्वका पाहुनाहरू हामी कहाँ आउने र रमाउने ठाउँमा विविधता हुन्छ । यसैले हामी अब पर्यटकका माध्यमबाट संवृद्धिको मार्गमा देशलाई अगाडि बढाउन हामी र हाम्रो नेतृत्वहरूको मतभिन्नता नभई एकमत हुन सके राष्ट्रियताको जग अमर रही रहने र विदेशी पाहुनाको आगमन भइरहनेमा दुई मत आउँदैन ।
अब हामीले बिर्सनु हुँदैन जसरी हिजो नेपालीहरू जहिले पनि स्वाभिमानी हुन्छन् भनेर विश्वमा नेपाल र नेपालीको चिनारी दिने पहिलो नेता श्री ५ महेन्द्र बनेका थिए । आज नेपालीहरू राष्ट्रका लागि आवश्यक पर्दा परिवर्तनका लागि आफूहरू सदा एक ढिक्का रहन्छन् भन्ने सन्देश २०६२/०६३ को जनआन्दोलनमा मात्र होइन, नेपालको संविधान २०७२ कोे संशोधन गरी नेपालको राजनीतिक नक्सा र प्रतीक चिन्ह निर्माणमा नेपालीले देखाए ।
यस्तै गरेर अब नेपालीहरूले देशको संवृद्धिका लागि नेपाललाई आन्तरिक पर्यटकीय गन्तव्य, बाह्य पर्यटकीय गन्तव्य, धार्मिक पर्यटकीय गन्तव्य, सांस्कृतिक पर्यटकीय गन्तव्य, सामाजिक एकताको पर्यटकीय गन्तव्य, ऐतिहासिक पर्यटकीय गन्तव्य, पौराणिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर अगाडि बढाउन सकियो भने मन्दी होइन संवृद्धि हाम्रो आँखा अगाडि देखा पर्नेछ अब आउने नेतृत्वले त्यसतर्फ ध्यान दिन सकोस् ।
तपाईको प्रतिक्रिया