ज्ञानका लागि लगानी

एक ठाउँमा मानिस गफिँदै थिए । एक जनाले भने–हाम्रो पालामा टुप्पी कसेर टुकी बालेर यसरी पढियो, उसरी पढियो, दिनको यति घन्टा पढ्थ्यौं आदि आदि । २५ मिनेट जतिको गफ ध्यान दिएर सुनेँ । गफगाफपछि मलाई लाग्यो, ती गफ गर्ने मानिस अहिलेका नयाँ कुरामा जानकार छैनन् । माइक्रोसफ्टले विन्डोज ९५ ल्यायो र पछि यसलाई अपग्रेड गरेर विन्डोज ९८ आयो ।
त्यसपछि पनि विन्डोजलाई अपग्रेड गरेर नयाँ भर्सनको विन्डोज २०००, त्यसपछि विन्डोज एक्सपी, विन्डोज भिस्टा, विन्डोज ७, विन्डोज ८ गर्दै २०१६ सम्म विन्डोज १० ल्याएको छ । माइक्रोसफ्टले एकपछि एक नयाँ नयाँ भर्सनको विन्डोज दियो र सधैं आफूलाई समय अनुकूल अपडेट बनाएकाले आज यो सफलताको शिखर चुम्न सफल भएको छ ।
संसारका जति पनि सफल व्यक्तिहरू छन्, उनीहरू नियमित पढ्छन् र आफूलाई अपग्रेड राख्छन्
जसरी माइक्रोसफ्टले एकपछि अर्को भर्सन अपग्रेड गर्दै विन्डोज ९५ बाट विन्डोड ८ सम्म अपग्रेड गर्यो, एकछिन तपाईं सोच्नुस् कि तपाईंले कहिले आफ्नो भर्सन अपग्रेड गर्नुभयो ? धेरै व्यक्ति सोच्छन् कि, कलेजको पढाइ सकिएपछि उसको पढाइ जिन्दगीभरका लागि सकियो । पढाइ त एक नदीजस्तै हुनुपर्छ, जुन निरन्तर बगिरहन्छ । एउटा विद्वान् मानिस पनि पढ्न छोड्यो भने केही वर्षपछि अनपढको सूचीमा गनिन पुग्छ ।
भारद्वाज सानो हुँदा पढाइमा एकदमै कमजोर थिए । त्यति बेला पढ्न स्कुल थिएन र विद्यार्थीहरू पढ्न गुरुकहाँ जानुपथ्र्याे । पढाइमा एकदमै कमजोर भएको कारणले गर्दा गुरु र साथीहरू सबैले उनलाई अलि हेला गर्थे । साथीभाइ र गुरुको अवहेलनाले गर्दा उनले पढाइ छोड्ने निर्णय गरे । पढाइ छाडेपछि उनी एकदमै फुर्सदिला भए । एक दिन उनी घुम्दै जाँदा एउटा जंगलमा पुगेछन् । यात्राको थकानले प्यास मेटाउनका लागि इनारबाट पानी निकालेर पिए र नजिकैको रूखमा आड लागेर एकैछिन थकाइ मारे । थकाइ मार्दै गर्दा उनको नजर इनारमा रहेको लामो डाममा पर्यो ।
ढुंगाको इनारमा लामो डाम देखेर हेर्न नजिक गए हेरे र थाहा पाए कि, त्यो ढुंगामा बसेको लामो डाम त इनारको पानी तान्दातान्दा बसेको डोरीको डाम पो रहेछ । यति थाहा पाएपछि भारद्वाजले सोचे कि, पटक पटक रगड्दा यत्रो कडा चट्टानमा समेत छाप बस्छ भने मैले मेहनत गरेर पढेँ भने किन मेरो दिमागमा कसो छाप नबस्ला ? बस् यति एउटा दृश्य र सोचले उसलाई बुझाइदियो कि मैले मेहनत गरेर पढेँ भने अवश्य पढ्न सक्छु । उनी फर्केर गुरुकहाँ गए र मेहनतसँग पढे । आज हामी भारद्वाजलाई एक प्रख्यात विद्वान् ऋषि एवं हिन्दू धर्म ग्रन्थहरूका लेखकको रूपमा चिन्छौं ।
भारद्वाजको जीवनीबाट बुझ्न सकिन्छ, कुनै पनि कारणले पढाइ अर्थात् ज्ञान हासिल गर्न छोड्नु हुँदैन । पढाइलाई कुनै जात, धर्म, संस्कृति, लिंग तथा समयले छेक्दैन । धेरै व्यक्तिले एक दुई पटक परीक्षामा असफल भयो भने पढाइ छोडेका धेरै उदाहरण भेटिन्छन् र उनीहरूको भनाइरहन्छ, भगवान्ले दिमाग दिएन । भारद्वाज पनि सानोमा पढाइमा एकदमै कमजोर थिए तर पछि विद्वान् भए । मानिस ठूलो शरीरबाट होइन, ज्ञानले हुनुपर्छ । तपाईंले पढ्न वा ज्ञान आर्जन गर्न छोड्नुभएको छ भने एक पटक भारद्वाजलाई सम्झिदिनुहोला ।
सन् २००९ मा रिलिज भएको आमिर खानको फिल्म थ्री इडियट्समा आमिर खान भन्छन्, ‘पास हुनका लागि होइन, क्षमतावान् हुनका लागि पढ ।’ वास्तवमा यस फिल्मले प्रवाह गर्न लागेको सन्देश एकदमै उत्कृष्ट थियो । फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो । हामी क्षमतावान् हुनका लागि पढ्नुपर्छ । हामी दिनहुँ ब्रस गर्छाैं, ब्रस गर्ने बानी हामीले जन्मिँदै लिएर आएका होइनौं, यो त हामी आफैंले जन्मिएको केही वर्षपछि बनाएका हौं र अहिले हामी एक दिन ब्रस गर्न पाएनौं भने दिनभर असहज महसुस गर्छाैं। दिनहुँ ब्रस गर्ने बानी बसाएझैं दिनदिनै केही न केही पढ्ने बानी बसाल्नुपर्छ ।
यो संसारमा सबैभन्दा सुरक्षित लगानी पढाइ अर्थात् ज्ञानमा गरेको लगानी नै हो । संसारका जति पनि सफल व्यक्तिहरू छन्, उनीहरू नियमित पढ्ने र आफूलाई अपग्रेड राख्छन् । ब्रस गर्ने बानीजस्तै हरेक बिहान पढ्ने बानी बसाल्नुपर्छ । अर्थात्, सफल व्यक्तिहरू भन्छन्, एभ्री मर्निङ लर्निङ । नियमित पढ्ने मानिसको ज्ञानको भण्डारले उसलाई मजबुत बनाउँछ, उसको आत्मविश्वास बढ्दै जान्छ र सफलता हासिल गर्नसक्छ ।
हामीले अन्डालाई भूइँमा बजार्यौं भने कामै नलाग्ने गरी फुट्छ तर प्याजलाई भुइँमा बजार्यौं भने केही भाग क्षति भए पनि पूरै फुट्दैन । यसको मुख्य कारण अन्डामा कुनै पत्र हुँदैन तर प्याजमा भने धेरै पत्र हुन्छन् । प्याजमा रहेको पत्रजस्तै नियमित अध्ययन गर्ने व्यक्तिहरूको ज्ञानका धेरै पत्र हुन्छन् । त्यसैले अध्ययनशील व्यक्तिहरू आत्मविश्वासका साथ वादविवाद, बातचित गर्न सक्छन् र समस्या सामना गर्न सक्छन् । अध्ययनशील व्यक्तिहरू अन्डाजस्तै सजिलै फुट्दैन ।
जसरी नयाँ लुगा केही दिनसम्म लगाउँछौं र मैलो भएपछि धुन्छौं, इस्त्री लगाउँछौं र फाटेपछि अर्काे नयाँ लुगा किन्छौं । अझै हामीले आफ्नो व्यक्तित्वलाई राम्रो बनाउन फेसन अनुसारको लुगा किनेर लगाउँछौँ, त्यसरी नै हामीले हासिल गरेको डिग्री, ज्ञानलाई पनि समयसमयमा धुने, इस्त्री लगाउने वा समयको माग अनुसार नयाँ नयाँ ज्ञान तथा सीपहरू हासिल गरिराख्नुपर्छ । ज्ञानहरूलाई धुने, पखाल्ने, इस्त्री लगाउने भन्नाले समय, परिस्थिति अनुसार आफूले आर्जन गरेको ज्ञानलाई अपग्रेड वा परिस्कृत गर्नु हो ।
यसका लागि नियमति पढ्नु आवश्यक छ । अधिकांश व्यक्ति बाहिरी व्यक्तित्वलाई ध्यान दिन्छन् तर मानिसको व्यक्तित्व उसले आर्जन गरेको ज्ञानमा निर्भर रहन्छ । यसमा पूर्ण सत्यता छ कि मानिसको बाहिरी व्यक्तित्वले उसको सफलतालाई प्रत्यक्ष साथ दिएको हुन्छ तर उसको सफलतामा भित्री व्यक्तित्वको अगाडि बाहिरी व्यक्तित्वको भूमिका न्यून हुन्छ । परीक्षाका लागिमात्रै पढ्ने, बढुवाका लागि मात्रै पढ्ने अथवा अति आवश्यक भएमात्रै पढ्ने भन्दा पनि दिनहुँ पढ्ने बानी बसाल्नु उपयुक्त हुन्छ ।
परीक्षा वा बढुवाका लागि पढ्नु भनेको बिरामी हुँदा औषधी, आइरन चक्की वा भिटामिन खाएजस्तै हो; जसले बिरामी मानिसलाई ठीक त बनाउँछ तर यो दीर्घकालीन हुँदैन । नियमित पढ्ने व्यक्ति नियमित स्वस्थकर खाना, नियमित सन्तुलित मात्राको क्यालोरी पुग्ने खानेकुरा खाएजस्तै हो । जसरी एक हप्ताका लागि पुग्ने क्यालोरी एकै दिन खाएर १ हप्तासम्म हामीलाई पुग्दैन, हाम्रो स्वास्थ्य पनि ठीक हुँदैन । त्यसरी नै एक पटक पढेर हामीलाई सधैं पुग्दैन र काम पनि लाग्दैन ।
एउटा जलविद्युत् परियोजनाले पनि दिनदिनै विद्युत् उत्पादन गर्छ । एक दिनमात्र पनि विद्युत् उत्पादन गर्न सकेनौं भने हामी अन्धकारमा बस्नुपर्ने हुन्छ । त्यसरी नै हामीले नियमित अध्ययन गरेनौं भने हाम्रो ज्ञानको पत्र कमजोर हुन्छ र आत्मविश्वास पनि कमजोर बन्छ । त्यसैले एन्टिभाइरस सफ्टवेयर स्तै आफूलाई सधैं नै अपग्रेड गरौं । नियमित पढौं र अघि बढौं । ज्ञानका लागि लगानी गरौं । एभ्री मर्निङ लर्निङ । एभ्री मर्निङ लर्निङ ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया