
म्याग्दी ।
म्याग्दीको बेनी दरवाङ सडकको बेनी–सिम खण्ड कालोपत्र भएको छ । १२ किलोमिटर ५ सय मिटरको यो सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा २० मिनेटमा छोटिएको छ ।
मंगला गाउँपालिका २ सिमलचौरका श्रीराम पौडेलले यसअघि १ घण्टादेखि डेढ घण्टा लाग्ने यात्रा कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । ‘म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवजजावतमा सहज भएको छ,’ उनले भने, ‘सामान ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको व्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।’
बेनी दरवाङ सडकको बेनी–सिम खण्ड कालोपत्र भएपछि यात्रा अवधि छोटिएको हो
बेनी नगरपालिका ४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धूलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए । ‘हिलो, धूलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो,’ उनले भने । १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएको उनले बताए । उनले भने, ‘सडकका कारण कुनै कुनै दिन त बजारमा दूध पुर्याउन सकिदैनथ्यो ।’
बेनीदेखि मंगला गाउँपालिका २ सिमसम्मको सडक कालोपत्र भएपछि म्याग्दीको पश्चिमी भेगमा पर्ने ३ पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी सिम खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए ।
‘पहिरोको समस्या र जग्गा विवाद भएका बाहेकका ठाउँमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘११ मिटर फराकिलो सडकमा ७ मिटर चौडाइ सडक कालोपत्र गरिएको हो ।’ डिबिएसटी प्रविधिको कालोपत्र भएको हो । कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्र गर्ने काम असार अन्तिम साता सकिएको बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर २ चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुंगा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो ।
०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कालोपत्र भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयले माग गरेका छन् ।
म्याग्दीको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको ०६३ मा खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म ८ किलोमिटर खण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९ सय ३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धूलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मंगला गाउँपालिका २ बाबियाचौरका श्रीराम पौडेलले बताए ।
यो खण्डको अहिले करिब ५० प्रतिशतमात्र भौतिक प्रगति छ । मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे २ किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको छ । ४ किलोमिटर सडक कालोपत्रे गर्न ०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया