सरर सराङकोट

सञ्जय रानाभाट २०७९ भदौ ५ गते १०:३१

सञ्जय रानाभाट ।
पोखरा ।
पोखरा भन्नेबित्तिकै आँखामा सुन्दर प्राकृतिक छटा आइपुग्छन् । सफा सहरसँगै ताल, तालबाटै स्पष्ट देखिने हिमाल । यहाँ आइपुग्नेहरु प्रकृतिको सुन्दरतमा रमाउँछन् । त्यसपछि अधिकांश बारम्बार पोखरा आइरहन्छन् । गण्डकी प्रदेशको राजधानी सहर पोखराको यही शक्तिलाई बुझेर यसलाई पर्यटकीय राजधानी बनाउन प्रस्ताव गरिएको छ । नेपाल सरकारले औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा नगरे पनि अहिले नै पोखरा पर्यटकीय राजधानीभन्दा कम छैन ।

पोखरा आइपुगेका अधिकांश पर्यटक फेवा लगायतका ताल पुग्छन्, केही गुफासम्म लान्छन् । पछिल्लो समय पोखराका नछुट्ने गन्तव्य बनेको छ सराङकोट । पोखरा उपत्यका र ताल स्पष्ट देखिने सराङकोटबाट हिमशृंखला आँखैनजिक देखिन्छन् । प्याराग्लाइडिङ गर्नेहरु पनि सराङकोटबाटै उड्छन्, सहर, ताल र हिमाल हेर्दै आनन्दित हुन्छन् ।

केबलकार बनेपछि छोटो समयका लागि पोखरा आउनेहरु पनि सराङकोट पुग्न थालेका छन् । होटल थपिएका छन्, सूर्याेदय र सूर्यास्त हेर्नेको भीड लाग्छ ।

Advertisement

समुद्री सतहबाट १ हजार ४ सय ५० मिटरमा रहेको सराङकोट सूर्याेदय र सूर्यास्त हेर्न र क्यामेरा कैद गर्न चाहनेहरुका लागि पनि विशेष गन्तव्य हो । कास्कीकोट सराङकोटबाट अझै १ सय मिटरमाथि पर्छ । तोरीपानी पनि पछिल्लो समय पर्यटकको रोजाईंमा यो परेको छ । सराङकोट पोखरा र प्रकृति नियाल्ने प्राकृतिक टावर हो । पोखराबाट त्यहाँ पुग्न ट्याक्सी यात्रामा करिब १ घन्टा लाग्छ । बेला बेलामा सार्वजनिक सवारी पनि पाइन्छन् ।

पछिल्लो समय भने यो प्राकृतिक टावरलाई अत्याधुनिक सुविधाले जोडेको छः केबलकार । सेदीमा स्टेसन रहेको अन्नपूर्ण केबलकारबाट १० मिनेटमै अब सराङकोट पुग्न सकिन्छ । केबलकारले पोखराको लेकसाइड र सराङकोटलाई नजिक बनाएको छ । लेकसाइडबाट ५ मिनेटमा केबलकार स्टेसन सेदी पुगिन्छ । छोटो समयका लागि पोखरा आएकाहरु पनि केबलकारबाट सराङकोट पुग्न थालेकाले अफ सिजनमा पनि यहाँ पर्यटकको चहलपहल छ ।

Advertisement

पोखरा बास बस्न आएकाहरु पनि अचेल सराङकोटबाट सूर्याेदय हेर्न पुग्छन् । मंगलबार नवलपुरबाट पोखरा आएका विक्रम राईको परिवार पनि एकाबिहानै सेती पुग्यो । उनीहरु सोमबार पोखराको लेकसाइडमा बसेर मंगलबार बिहानै सूर्याेदय हेर्न जाँदै थिए । सेदीबाट १० मिनेटमै सराङकोट पुगेका उनीहरुले सूर्याेदय हेरे, हिमाल नियाले । विक्रमका छोरा विमल भन्छन्, ‘सोसल मिडियाबाट पोखरामा केबलकार बनेको थाहा पाएको थिएँ । तर, हामीलाई सूर्याेदय हेर्न पाइने कुरा थाहा थिएन । फर्किदा केबलकारबाट पोखरा, फेवाताल र लेकसाइड पनि स्पष्ट देख्यौं ।’

विक्रमको परिवार जस्तै अहिले सूर्याेदय र सूर्यास्त हेर्न सराङकोट पुग्ने यात्रु बढ्दै छन् । दैनिक सूर्याेदय र सूर्यास्त हेर्ने कम्तीमा १०÷१२ जना आफ्नो होटलमा आउने गरेको पर्यटन व्यवसायी सोमबहादुर भट्टराई बताउँछन् । बिहान सूर्याेदय हेर्नेहरु दिउँसो पोखराका विभिन्न ठाउँ पुग्छन् । सराङकोट पुगेका अधिकांशले अहिले अन्नपूर्ण केबल कारले निर्माण गरेको जिपलाइन, हवाई साइक्लिङ र अत्याधुनिक पिङ खेल्न सक्छन् । एडभेन्चर मन पराउनेका लागि सराङकोट पर्यटकीय हब बनेको छ । घोडा चढेर सराङकोट पुग्न चाहनेलाई पनि यो सुविधा छ ।

तनहुँबाट बुधबार केबलकार चढ्नकै लागि ग्रेसी श्रेष्ठ, बेली क्षेष्ठ र शािन्त श्रेष्ठ पोखरा आएका थिए । बसबाट सेदी केबलकारसम्म पुगेका उनीहरु एक जनाबापत अफरसहित ६ सय २५ रुपैयाँ तिरेर केबलकार चढे । १० मिनेटमा सराङकोट पुग्ने बाटोमा उनीहरुले पोखरा उपत्यका र प्रकृति नियाले । ‘केबलकारबाट अहिलेसम्म अनुभूति गर्न नसकेको मनमोहक दृष्य देखियो । फेवाताल यसरी देखिन्छ भन्ने सोचेको थिएनौं । यहाँबाट लेकसाइ, पामे, पूरा दृष्य हेर्न पाइने । प्रत्येक पटक पोखरा आउँदा केबलकार चढ्ने इच्छा पो जाग्यो,’ शान्तिले भनिन् ।

सराङकोट पुगेर आफूहरुले पीङ खेलेको सुनाए । समाधानकर्मीसँग भेट हुँदा उनीहरु सराङ्कोटबाट देखिने धौलागिरी, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रो, हिमचुली, माछापुच्छे«, लमजुङ र मनास्लुलाई हिमालतर्फ इसारा गर्दै थिए । उनीको छेऊमै थिए अरु घुमफिरका पारखी । त्यही हुलमा भेटिए पर्वतकी दुर्गा विश्वकर्मा र रोजी गुरुङ । उनीहरु टिकटक बनाउन मस्त थिए । दुर्गालाई मोबाइल समातेर सघाइरहेकी थिइन्, रोजीले । दुर्गा माछापुच्छे« हिमाललाई पृष्ठभूमिमा राखेर तीज गीतमा नाचिरहेकी थिइन् ।
छ न त मै राम्रो छैन, भन त मन पर्छ, पर्दै
छ न त मै राम्रो छैन, भन त मन पर्छ पर्दै !!!
टिकटकमा मनमोहक दृष्य देखेपछि आफूहरु फुर्सद मिलाएर आएको उनीहरुले सुनाए । ‘सबैले टिकटक बनाएर हालेको देखेँ । आउन एकदमै मन थियो तर समय मिलेको थिएन,’ उनीहरुले भने । महामारी मत्थर भएपछि सराङकोटमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन थालेको छ । दिउँसोमा ताल वरपर रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । केबलकारबाट मात्र होइन, आफ्नै सवारी र सार्वजनिक सवारीबाट पनि यहाँ पुग्ने उल्लेख्य छन् ।

अन्नपूर्ण केबलकारबाट मात्र अहिले दैनिक ४ सय हाराहारी मानिस सराङकोट पुग्ने गरेको अप्रेसन मेन्टिनेन्स सिनियर म्यानेजर डिएन कायस्थ बताउँछन् । उनले केबलकार सञ्चालनमा आएको छोटो समयमै पर्यटकको रोजाइ बनेको बताए । उनले अहिले घुम्ने मौसम नभए पनि पर्यटकका गतिविधि बढेको उल्लेख गरे । ‘केबलकारबाट जाने बित्तिकै स्विङ, स्काइ साइक्लिङ र जिपलाइन छ । ठूलो जिपलाइन छ । सराङकोटमा ३६० डिग्रीमा चारैतर्फ प्रकृति हेर्न सकिन्छ,’ कायस्थले भने ।

केही दिनअघि पोखरामा भएको महानगरका मेयर सम्मेलनका सहभागी पनि केबलकार चढेर सराङकोट पुगेका थिए । सम्मेलन सराङकोटमै बनेको ५ तारे होटलमा भएको थियो । यहाँ साना ठूला करिब ४० होटल छन् । पाहुना बास बस्न पनि सराङकोट पुग्ने गरेका छन् । सराङकोटमै होटल व्यवसायी गरेका विमल पौडेलले पछिल्लो समय आन्तरिक र भातरीय पर्यटक बढिरहेको बताए । ‘कोरोना महामारीको प्रकोप अहिले पनि छ । यस्तो बेलामा पनि भारतीय पर्यटकको संख्या बढेको छ । तर, हामीले सोचे अनुरुप अझै पर्यटक आएका छैन,’ उनले भने ।

१० मिनेटको यात्रा हुँदै गएपछि कास्कीकोटको दरबार, तोरीपानी र सराङकोटबाट प्याराग्लाइडिङ गर्न पाइने भएकाले यात्रुको संख्या बढेको हो । अझ प्याराग्लाडिङ गर्न चाहनेलाई केबलकारमा डिस्काउन्डसमेत दिइरहेको छ । पछिल्लो समय बढेका गतिविधिले सराङकोट विस्तारै पोखराको पनि पर्यटकीय हब बनेको देखाउँछ । यहाँ एक पटक आउनेहरु बारम्बार आउने गर्छन् । प्रकृतिक दृष्यसँग रम्दै पोखरा उपत्यका हेर्छन्, प्रकृति नियाल्छन् ।

कम्पनीसँग सिधै सम्पर्क गरेर सराङकोटबाट बुधबार पोखराको आकासमा कावा खाएका राजेश गुरुङको अनुभव फरक छ । प्याराग्लाइडिङको यात्रालाई उनी जिन्दगीकै अचम्मको अनुभव मान्छन् । ‘एक त मैले कुनै पनि एडभेन्चर गरेको थिइनँ । प्याराग्लाइडिङ गर्ने धोको थियो । एक पटक गरी हेर्छु भनेर आटेँ । म पोखरामै हुर्के, बढेको तर मैले नदेखेको कुरा आकाशबाट देखेँ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया