असमयमै छुटेका सालीन व्यक्तित्व

तोयनाथ लामिछाने २०७९ भदौ ५ गते १८:१९

१) उत्प्रेरणा
कृष्ण मल्लका बारेमा केही कुरा लेख्नु पर्‍यो भनेर मलाई मेरा अनन्य मित्र नारायण पण्डितज्यूले बारम्बार आग्रह गर्दै आउनु भएको धेरै नै समय भईसकेको थियो । अस्ति भर्खर उहाँले मेरो मेसेन्जरमा कृष्ण मल्ल सहितको एउटा फोटो पठाउनु भएछ । त्यस फोटोेमा पृथ्वीनारायण क्याम्पसका एक जना शिक्षक मित्रको वैवाहिक दिवसका अवसरको उहाँकी दुलहीसहितको सामूहिक फोटो रहेछ ।

Advertisement

त्यस फोटोमा अन्य मित्रका साथै कृष्ण मल्लको पनि फोटो रहेछ । उहाँले कृष्णका बारेमा जानकारीमूलक सामग्री पनि पठाएको कुरा गर्नु भयो । मैले त्यो सामग्रीबाट जानकारी लिनका लागि उमेरका कारणले मेरा नजरले काम गर्न नसकेको ठहर गरेँ । उहाँले मलाई निरन्तर ताकेता गरी राख्नु भयो । त्यसैले अब मैले उहाँको आग्रहलाई टार्न नसक्ने भएँ भन्ने ठानेर म उहाँको निवासमा गएँ ।

हामी दुबै एउटै मातृ संस्था पृथ्वी नारायण क्याम्पसका उत्पादन थियौं भने अर्कोतिर एउटै वर्गीय चिन्तनका पनि

उहाँले मलाई एउटा कागजको पाना उपलब्ध गराउनु भयो । त्यस पानामा मैले खोजेको सामग्री देखिएन । मेरो प्रतिक्रियापछि उहाँले एउटा अर्को सामग्री देखाउनु भयो जसमा कृष्णका बारेमा लेखिएको रहेछ । त्यो सामग्री दिँदै उहाँले कृष्ण मल्लको निधन कोभिडका कारणले हुन गएको कुरा बताउनु भयो । यो कुरा सुनेर म झसङ्ग भएँ । त्यो सामग्री लिएर म पण्डित सरको कोठाबाट बाहिरिएँ ।

म उहाँको घरको तल्लो तलामा आई पुग्नै लाग्दा नारायण सरकी मेडमले मलाई बोलाउँदै, ‘कोठा लैजाने होइन सर ?’ भनेर सोध्नु भएको सुने । म अलमलमा परेँ । मैले कुरा नबुझेर ‘हजुर ? हजुर ?’ भनेर दोहोर्‍याएँ । उहाँले ‘कोठा कोठा’ भनेको मात्र सुनेर म पुछारको तलाबाट फर्केर उपल्लो तलामा पुगेँ । उहाँले मलाई एउटा झोला देखाएर ‘झोला लैजाने होइन सर’ भन्नु भयो ।

Advertisement

पण्डित सरले ‘कृष्ण मल्लको निधन कोभिडका कारणले हुन गएको हो’ भन्नु भएको कुराबाट म त होस गुम भएछु । सोही कारणले उहाँले ‘झोला झोला झोला’ भन्नु भएको रहेछ । मैले त्यो शब्दलाई सिँढीबाट झर्दै गर्दा ‘कोठा कोठा कोठा’ भन्ने सुन्न पुगेछु । अनि म परेँ अलमलमा ।

२) स्मरण
वास्तवमा म नारायण सरकोमा जाँदा ‘एक पन्थ, दो काज’ भन्ने उक्तिलाई मनन गर्दै दुइटा उद्देश्य लिएर गएको थिएँ । त्यहाँ जाँदा उहाँ सँगबाट मल्लका बारेका सामग्री पनि ल्याउने र सोही अवसरमा चोकतिर गएर केही कपडा पनि मर्मत गर्ने भनेर झोलामा केही कपडा राखेर त्यहाँ गएको थिएँ । तर मेडमले मलाई ती सामग्री दिनु भएपछि म आफ्नै घर फर्कने निधो गरेँ ।

वैश्विक महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारणले मल्लको निधन हुन गएको कुराबाट मलाई अकस्मात एक दुखद झड्का लागेछ र म अत्यन्त भावविह्वल हुन पुगेछु । जसका कारण म आफैंले लगेको झोला र त्यसमा राखिएका सामग्रीका बारेमा नै भुसुक्क बिर्सन पुगेछु । जब म कुँडहर चोकबाट मूलबाटो काटेर तलतिर आउनै लागेको थिएँ, मलाई अनायासै गीतकार राजेन्द्र रिजालका शब्दमा शम्भुजित बाँस्कोटाद्वारा संगीतबद्ध गरिएको र दीपक खरेलद्वारा गाइएको एउटा गीत सम्झन पुगेछुः
प्रतीक्षा गर मेरी मायालु,
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,
कहिले हँसाउँछ कहिले रुवाउँछ,
प्रतीक्षा गर मेरी मायालु

प्याट्रिसिया ह्याम्पल (१२ मार्च, १९४६) नाम गरेकी एक्काइसौँ शताब्दीकी एक सुप्रसिद्ध अमेरिकन लेखिकाले ‘लुक एट अ टी कप’ भन्ने आफ्नो निबन्धमा उनलाई आफ्नी आमाले उपहारका रुपमा दिएका धेरै वस्तुमध्ये कलाले भरिपूर्ण भएको एउटा आकर्षक चिया पिउने कपलाई देखेपछि जसरी उनलाई १९३९ मा सुरु भएको दोस्रो विश्व युद्धका यावत घटना सम्झन पुग्दछिन् । त्यसै गरी म पनि नारायण परिश्रमीले प्रेषित गर्नु भएको कृष्ण मल्लको फोटो सम्झेपछि मेरो दिमागमा पनि पृथ्वीनारायण क्याम्पसमा छँदा वा रहँदा कृष्ण मल्लसँग जोडिएका तर मेरो स्मृति पटलबाट झण्डै धुमिल हुनै लागेका केही कुरा सम्झन पुग्दछु ।

सर्वप्रथम त म उनको सफा, सुग्घर पोशाकको याद गर्न पुग्दछु । साथै, नियमित इस्त्री लगाइएका कारणले खुकुरीका धार जस्ता देखिने उनका ती सर्ट (कमिज) र प्यान्टमा इस्त्रीका धारको याद गर्न पुग्दछु । आफुलाई सदा सर्वदा अपडेट राख्नका लागि पालिस गरिएका टिलिक्क परेका छालाका जुत्ताको याद गर्न पुग्छु ।

अनि म उनको बुरुस जस्तो कालो र चिल्लो कपालको स्मरण गर्न पुग्दछु । उनको गोरो हँसिलो अनुहारको याद गर्न पुग्दछु । उनको मुस्कानपूर्ण अनुहारको गालाको डिम्पलको याद गर्न पुग्दछु । उनको गोरो उज्यालो मुहुडाको स्मरण गर्न पुग्दछु । उनको सुलुत्त परेको चित्ताकर्षक औसत नेपाली पुरुषमा पाइने कदको जीउडालको स्मरण गर्न पुग्दछु । साथै म उनको एक भद्र तथा भलाद्मी, अनुशाशित र शालिन व्यक्तित्वको सोलोडोलो परिदृश्य दृष्टिगोचर गर्न पुग्दछु ।

उनको सुमधुर सुललित एवं मृदु वाणी गुञ्जन भएको अनुभूतिको स्मरण गर्न पुग्छु । उनको निष्कपट बोली, वचन र सहृदयी एवं मित्रवत् शिष्ट व्यवहारको अनुभवको स्मरण गर्न पुग्दछु । आवश्यकताभन्दा बढ्ता नबोल्ने उनको श्वाभाव मेरा लागि अनुकरणीय जस्तै लाग्थ्यो ।

३) सम्पर्क क्षण
पृथ्वीनारायण क्याम्पसको अंगे्रजी विभागको एक सदस्यका हैसियतले मेरो उनीसँग भेटघाट हुने मौका जुरेको हो । म सो क्याम्पसको अंग्रेजी विभागको स्नातकोत्तर तहको पहिलो ब्याचको विद्यार्थी थिएँ । स्नातकोत्तर तहको अध्ययनको पूर्णतापश्चात सौभाग्यवश सोही क्याम्पसमा अध्यापन गर्ने सुअवसर प्राप्त गरेँ । कृष्ण मल्लजी पनि अंग्रेजी विभागको स्नातकोत्तर तहको दोस्रो ब्याचका विद्यार्थी रहेछन् । अध्ययनका अवसरमा मैले उनलाई खासै चिनेको थिइनँ ।

समयक्रमले उनले पनि सोही क्याम्पसमा अध्यापन गर्ने सुअवसर प्राप्त गरे र हामी दुबै जना अंग्रेजी शिक्षकका रुपमा एक आपसमा परिचित भयौँ । पछि उनी सँगको सम्बन्धमा केही निकटताको अनुभूति हुन गयो । त्यसो हुनुमा हामी दुबै जना एउटै मातृ संस्था पृथ्वी नारायण क्याम्पसका उत्पादन थिर्यौ भने अर्को तिर एउटै वर्गीय चिन्तनका व्यक्ति थियौँ । हामी दुबै जना एउटै वैचारिक धरातलका भएका कारणले पनि दिनानुदिन हाम्रो सामिप्यता घनिभूत र सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो ।

उनको अनुपस्थितिका बारेमा मैला जिज्ञासा राख्दा साथीहरुद्वारा मल्ल त माध्यमिक तहको शिक्षकमा स्थायी भएर गाउँतिरै गए भन्ने सुनेको थिएँ । यो कुरा २०६० साल तिरको रहेछ । त्यसपछि भने हाम्रो भेटघाटको अवसर जुटेको जस्तो मलाई लागेको छैन ।
४) अर्पण
कुनै पनि व्यक्तिको निधनको अवसरमा समवेदना प्रकट गर्ने सन्दर्भमा प्रायः अधिकांश व्यक्तिको निधनलाई असामयिक निधन भनेर इङ्गित गर्ने हाम्रो परम्परा रही आएको पाइन्छ । प्रकृतिको नियम अनुसार कुनै पनि व्यक्तिको जन्मपछि मृत्यु अवश्यम्भावी छ । तर मृत्युलाई सामयिक र असामयिक भनेर ग्रहण गर्न पनि सकिएला । त्यसै गरी यसलाई कल्पनीय र अकल्पनीय भनेर पनि परिभाषित गर्न सकिएला । दीर्घ रोगी, असम्भव उपचारयुक्त व्यक्ति, अशक्त र अति वृद्ध अवस्थाका व्यक्तिको निधनलाई सह्य मान्नुपर्ने हुन्छ ।

२०२६ सालमा जन्मिएका कृष्ण मल्लको निधन वि.सं.२०७७ सालमा भएका हिसाबले उनी जम्मा ५० वर्ष पार गरेर ५१ वर्षमा प्रवेश गर्दै थिए भन्ने कुरा प्रमाणित हुन आउँछ । यस हिसाबले पनि उनको निधन साच्चै नै असामयिक छ र अकल्पनीय पनि । शिक्षण पेशामा निर्भर रहेर घर परिवार चलाउने, गाउँ समाजको सेवा गर्ने, शैक्षिक उन्नयनमा लागि पर्ने र राष्ट्र निर्माणमा समर्पण रहने प्रणका साथ आफ्नो जीवन समर्पण गरेका कृष्ण मल्लको असामयिक र अकल्पनीय निधनप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै उनको निधनबाट विक्षिप्त भएको परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

५) सम्प्रेषण
मैलेमाथि उल्लेख गरिसकेको छु कि कुनै पनि व्यक्तिको मृत्यु अवश्यम्भावी छ । हामीले कवि शिरोमणि लेखनाथ पौडेलको काल महिमा शीर्षकको कविताको भावलाई आत्मसात गरेर हामीले बाँच्न सिक्नु पर्दछ । यस सन्दर्भमा म अर्को गीतका २ पंक्तिलाई मात्र उद्धृत गर्ने चेष्टा गर्दछु, जुन गीतको शब्द, स्वर तथा संगीत एउटै व्यक्ति शम्भु राईको छः

चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको, बिताउँ हाँसेर
कहिलेमा काही रमाइलो हुन्छ भेटघाट हुँदामा
छातीको ज्वाला नमेट्दो रहेछ बसेर रुँदामा, हो–हो बसेर रुँदामा

निर्मला म्याडमसँग मेरो व्यक्तिगत रुपमा चिनजान र भेटघाट त हुन पाएको छैन । तथापि यही गीतका यीनै हरफको भावलाई मनन गरेर आफू र आफ्ना सन्ततिको भावी जीवनको उज्वल भविष्यको कामना गर्दै संयमतापूर्वक जीवन यापन गर्नका लागि यसै लेखको माध्यमबाट शुभ सन्देश सम्प्रेषण गर्दछु ।

लामिछाने नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय कार्यसमिति वरिष्ठ उपाध्यक्ष हुन्

तपाईको प्रतिक्रिया