गोरखा अस्पतालमा डायलासिस सुरु

पोखरा ।
गोरखा अस्पतालमा मंगलबारबाट डायलासिस सेवा सुरु भएको छ । सेवा सुरु भएको २ दिनमै ३ जनाको डायलासिस भएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । मंगलबार १ जना र बुधबार २ जनाको डायलासिस गरिएको छ । ‘डायलासिसका लागि अस्पतालमा ५ मेसिन छन्,’ सूचना अधिकारी ढकालले बताए ।
अहिले नाम दर्ता गराएकाहरुले पनि काठमाडौं, पोखराबाट सेवा लिँदै आएका छन् । डायलासिस सेवा जिल्ला अस्पतालमै सुरु भएपछि गोरखाका बिरामीलाई सहज हुने भएको छ । मृगौला पीडितले स्वास्थ्य अवस्था अनुसार हप्ताको २ पटक डायलासिस गराउनुपर्छ । निजी अस्पताल गए एक पटकमा १० हजारदेखि २५ हजारसम्म तिनुपर्ने अवस्था छ ।
गोरखा अस्पतालबाट डायलासिस सेवा सुरु भएपछि निजी अस्पताल जानुपर्ने अवस्थाका अन्त्य हुने सूचना अधिकारी ढकालले बताए । डायलासिसका लागि सोमबारदेखि नाम दर्ता थालिएको छ भने बुधबारसम्म दर्जन बढीलेले नाम दर्ता गराइसकेका छन् ।
साताअघि गोरखा रेडक्रसले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको थियो । जिल्लामा डायलासिस सुरु गर्ने गोरखा अस्पताल पहिलो हो । यसमा प्रयोग हुने उपकरण लामो समयदेखि अस्पतालमा थन्किएको थियो । नयाँ भवन निर्माणसँगै अस्पतालले यो सेवा थप गरेको हो ।
तपाईको प्रतिक्रिया