घरघरै पुगेर मत हाल्न सिकाइने

समाधान संवाददाता २०७९ भदौ १२ गते ११:११

काठमाडौं ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले घरदैलो कार्यक्रम गर्ने तय गरेको हो ।

Advertisement

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिका जारी भएपछि त्यसका आधारमा सामग्रीलाई अन्तिम रुप दिइने बताए । आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारप्रसार गरिने जनाए ।

कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि घरदैलोमा टोली पठाइएको थिएन । आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गर्नेछ ।

आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्नेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन भएको थियो । आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाइ गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरेको थियो ।

गत निर्वाचनमा आयोगले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरेको थियो ।

Advertisement

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सात निर्वाचन चिह्नमा मतसंकेत गरी मतदान गर्नुपर्नेजस्ता विषय मतदाता शिक्षामा समावेश हुनेछन् । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका २०७६ मा लोकतन्त्र, निर्वाचन, समावेशीता र निर्वाचन, मतदाता नामावली, मतदान, समावेशी निर्वाचन र परिवर्तन, निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र निर्वाचन चक्र, नेपालको निर्वाचन प्रणाली आदि विषय समावेश गरिएका छन् ।

चुनावमा सहभागी हुने दलको संख्या ८७ कायम भएको छ ।

तपाईको प्रतिक्रिया