तनहुँ २ मा पौडेल, वाग्ले र आलेको आकांक्षा

समाधान संवाददाता २०७९ भदौ १५ गते ९:४०

पोखरा

Advertisement

तनहुँ–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तनहुँ २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले आकांक्षी देखिएका छन् । उनीहरुले आकांक्षा प्रकट गर्दै पार्टीको क्षेत्रीय समितिमा मंगलबार आवेदन दर्ता गरेका छन् ।

उक्त समितिले इच्छुकलाई आवेदन आह्वान गरेको थियो । उक्त निर्वाचन क्षेत्रबाट २०७४ मा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल ३२ हजार ९ सय २४ मत ल्याएर विजयी भएका थिए । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत ल्याएका थिए । भण्डारी क्षेत्र नम्बर १ को मतदाता हुन् ।

क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल उम्मेदवार भएको हुँदा भण्डारी २ मा गएका थिए । जितप्रकाश आले कांग्रेसभित्र रामचन्द्र पौडेल निकट हुन् । तर जिल्ला सभापतिको निर्वाचनमा चाहिँ उनले देउवा पक्षबाट प्रतिस्पर्धा गरी वैकुण्ठ न्यौपानेलाई हराएका थिए ।

यसपालि प्रतिनिधि सभामा आकांक्षा देखाएका प्रदीप पौडेल र ध्रुव वाग्ले प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । ‘क’ प्रदेशमा वामगठनबन्धनकी माओवादी केन्द्रकी नेतृ आशा कोइरालाले पौडेललाई पराजित गरेकी थिइन् । उनले १६ हजार ६ सय ४६ मत र पौडेलले १६ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए । मुचुल्काभन्दा ४२ मत बढी भेटिएपछि पौडेलले पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिृकतको कार्यालयमा निवेदन दिएका थिए । अर्काे निर्वाचन आइसक्दा पनि त्यो मुद्दा छिनोफानो हुन सकेन । प्रदेश ‘ख’ एमालेका नेता किरण गुरुङले ध्रुव वाग्लेलाई पराजित गरेका थिए । गुरुङले १५ हजार ६ सय ३० मत ल्याउँदा वाग्लेले १४ हजार २ सय १४ मत प्राप्त गरेका हुन् ।

Advertisement

यसैबीच, नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ ।

कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै पार्टी कार्यालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया