एबिसीमा निरन्तर अवैध उडान, अध्यक्ष कै नियत माथि शंका

समाधान संवाददाता २०७६ वैशाख ८ गते ७:५७

समाधान सम्वाददाता

कास्कीको अन्नपूर्ण गाउपालिकाले १० महिनाअघि गरेको निर्णय अलपत्र छ । अन्नपूर्ण आधार शिविरमा हेलिप्टरको व्यावसायिक उडान भर्न नदिने निर्णय गाउँ सभाले गरेको थियो । तर हेलिकप्टर उडान निरन्तर छ । उडान रोक्ने नाममा गाउ पालिकाले पत्राचार समेत गरेको छैन ।

अन्नपूर्ण आधार शिविरमा व्यावसायिक उडान भर्न नदिन गाउँ पालिकाका अध्यक्ष युवराज कुँवरले नै चासो देखाएका थिए । गाउँ परिषदमा उनैले प्रस्ताव लगेका हुन् । ‘हेलिकोप्टरको आवाजले संरक्षित क्षेत्रका वन्यजन्तु र चराचुरुंगी भागे,’ अध्यक्ष कुँवरले भनेका थिए, ‘त्यसैले उद्दार (रेस्क्यु) बाहेका उडान बन्द गर्ने निर्णय गरेका छौं ।’

Advertisement

निर्णय भएको १० महिनासम्म पनि कार्यान्वयनका लागि गाउँ पालिकाले कुनै चासो देखाएको छैन । अध्यक्षकैबेवास्ताका कारण निर्णय अलपत्र परेको सोही गाउँपालिकाका १ वडाध्यक्षले बताए । ‘कार्यविधि बनाएर निर्णय लागु गर्ने हो भन्नुहुन्थ्यो । तर कहिल्यै चासो दिनुभएन, खै भित्री चलखेल भयो कि !’ उनले हेलिकोप्टर कम्पनीहरुले आर्थिक प्रलोभनमा पारेको हुनसक्ने आशंका समेत गरे ।

गाउँपालिका अध्यक्ष कुँवरले निर्णय कार्यान्वयन गर्न कठिन भइरहेको स्वीकार्दै आगामी असार महिनाको गाउँ परिषदबाट कार्यविधि पास गरेर निर्णय कार्यान्वयनमा जाने बताए । ‘भिआइपी, अशक्त र विरामी उद्दारका लागि उडान भर्न दिने, व्यावसायिक उडान भर्न नदिने भनेको हो, अबको असारको गाउँ सभाले कार्याविधि बनाएर पास गर्छ,’ अध्यक्ष कुँवरले भने ।

Advertisement

अध्यक्ष कुँवरले यस बारेमा प्रदेश सरकारसँग समन्वयका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसँग कुरा भइरहेको बताए ।

तपाईको प्रतिक्रिया