सम्पादकीय: मेयरको मधुमास

समाधान संवाददाता २०७९ भदौ १९ गते १२:००

पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुले सपथ लिई पदभार ग्रहण गरेको सय दिन पूरा भएको छ । राजनीतिमा सय दिनलाई मधुमास (हनिमुन) मान्ने चलन छ । सत्तारोहणको सय दिनमा आफ्नो जिम्मेवारीको कार्यक्षेत्रका काम कुरा बुझ्ने र योजना बनाउनेमात्रै नभई विजयको खुसीयाली सेलेब्रेट गर्ने भएकाले पनि मधुमास भनिएको हुनुपर्छ । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यसहितका जनप्रतिनिधिले बधाई साटासाट र खुसीयालीमा यो समय व्यतित गरेका छैनन् ।

Advertisement

सुरुका केही दिन त्यस्तो चल्यो । अधिकांश दिन भने उनले जनअपेक्षालाई सम्बोधन गर्ने र आफूले सय दिनभित्र गर्छु भनेका काममा घोत्लिने प्रयास गरे । सय दिनमै खास ठोस उपलब्धिको अपेक्षा गर्न मनासिब हुँदैन । तै मेयर आचार्यले आफ्नो सय दिनका उपलब्धिलाई सय बुँदामै शनिबार सार्वजनिक गरेका छन् । मधुमास पिरियडमै पनि आफूले केही सुरुआत र प्रयास गरेको सन्देश उनले दिन खोजेका छन् ।


मेयर आचार्यले घोषणापत्रमार्फत प्रतिबद्धता जनाएअनुसार महानगरपालिकामा एकद्वार प्रणाली सुरु गरिसकेका छन् । हेलो मेयर पनि सुरु भएको छ । सेवाग्राही कोठाकोठा चहार्नु नपर्ने एकद्वार प्रणालीको प्रभावकारिता भोलिका दिनमा देखिएला । सुरुआतलाई सुखद मान्नुपर्छ । कार्यान्वयनमा प्रभावकारिताका लागि शुभकामना दिन सकिन्छ । ३ महिनाभित्रै गरिसक्ने भनेर आचार्यले सीमा नै तोकेर प्रतिबद्धता जाहेर गरेका थिए । त्यसमध्ये महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्न साँझ बस सेवा सञ्चालन गर्ने काम प्रभावकारी हुन जरुरी छ । घुम्ती अस्पताल सञ्चालन गर्ने भने पनि जनताले थाहा पाएका छैनन् । ज्येष्ठ नागरिक भत्ता घर–दैलोमा उपलब्ध गराउने काम सबैतिर हुन सकेको छैन ।


पोखराको सबैभन्दा ठूलो चुनौती फोहोर व्यवस्थापन देखिएको छ । त्यसका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने छ । पुरानै तरिकाले फोहोर ल्यान्डफिल साइटमा लगेर थुप्र्याएर हुँदैन । आधुनिक तरिकाले व्यवस्थापन गर्नुपर्छ । फोहोरबाट बिजुली निकाल्ने, ग्यास निकाल्नेसम्मका आधुनिक प्रविधि अपनाउनुपर्छ । पुनप्रशोधन गर्नुपर्ने फोहार र पुनप्रयोग गर्न मिल्ने फोहोरको वर्गीकरण गरी सदुपयोग गर्नुपर्छ । पार्किङ व्यवस्थापन पनि ठूलो चुनौती छ । अझ अव्यवस्थित सहरीकरणले पोखरालाई काठमाडौंजस्तै कंक्रिट जंगल बनाउँदै लगेको छ । मेयरको मधुमास व्यतित भइसकेको हुँदा मुख्य चुनौतीहरुलाई सम्बोधन गर्न अब उनले ध्यान केन्द्रित गर्नुपर्छ । अरु नियमित कामहरु हुँदै जान्छन् । आफ्नो कार्यकाललाई चिरकालसम्म सम्झनायोग्य बनाउने चुनौती उनीसामु छ ।

Advertisement

तपाईको प्रतिक्रिया