महानगरसँग निर्माण व्यवसायी असन्तुष्ट

समाधान संवाददाता २०७९ भदौ १९ गते १३:२६

पोखरा ।
निर्माण व्यवसायी समितिले पोखरा महानगरपालिकाको कार्यप्रति असन्तुष्टी व्यक्त गरेका छ । निर्माण व्यवसायी समिति पोखराले आफूहरुलाई कालिगढ भनेर प्रमाणपत्र दिएको भन्दै महानगरको कार्यशैलीप्रति शनिबार आपत्ति प्रकट गरेका हो ।

Advertisement

निर्माणको काम गर्ने व्यवसायीलाई कालिगढ भनेर प्रमाणपत्र दिनु अपमानजनक रहेको समितिका अध्यक्ष नारायण गुरुङले बताए । यस विषयलाई सल्टाउन ठेकेदार, इन्जिनियर, कानुन व्यवसायी र पत्रकारसहितको समिति गठन गरेर अघि बढ्ने उनले चेतावनी दिए ।

समितिका वरिष्ठ उपाध्यक्ष बेलबहादुर बस्नेतले आफूहरु कालिगढ नभई निर्माण व्यवसायी भएको बताए । महानगरपालिकाका अधिकांश इञ्जिनियरहरु ठेक्कापट्टामा संलग्न हुने गरेको बताउँदै उनले निर्माणको अनुगमन गर्ने इन्जिनियर नै कन्सल्टेन्सी खोलेर ठेक्कापट्टाको काम गर्दै हिँडेको आरोपसमेत लगाए ।

निर्माण व्यवसायीलाई पछि पार्न महानगरपालिकाका इन्जिनियरहरुले नियतवश ठेकेदारलाई कालिगढको रुपमा उभ्याउन खोजेको समितिका महासचिव शिवबहादुर खड्काले आरोप लगाए । ‘निर्माण व्यवसायीलाई अपमान गर्ने विरुद्ध हामी महानगर कार्यालय घेर्न पनि तयार छौं,’ उनले भने ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले निर्माण व्यवसायीलाई के कारणले कालिगढ उल्लेख गरियो भन्ने विषय आफूले बुझ्ने बताए । उनले विषय बुझि समस्या सल्टाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । यसमा महानगरपालिकाका इन्जिनियरको भूमिका छैन भनेर अहिले नै भन्न सकिने अवस्था नभएको पनि उनले बताए । ‘महानगरका इन्जिनियरले आफूलाई सुपर देखाउन यस्तो गरेको पनि हुन सक्छ ।,’

Advertisement

अहिलेको युगमा सरकारले मात्र सबै काम गर्न नसक्ने बताउँदै उनले जनता र सरकार मिलेर साझेदारीमा काम गर्ने समय आएको बताए । अबको समय सह–शासनको भएको बताए । फरक प्रसंगमा उनले फेवा ताल र बेगनास ताल तथा पोखरा उपत्यका नगर विकास समितिको अतिक्रमित जग्गाहरु पूर्ववत् फिर्ता ल्याउन सके ठूलो उपलब्धि हुने बताए । उनले मजदुर र व्यवसायीलाई समस्या पर्दा सहयोग गर्दै आइएकोसमेत स्मरण गरे । कर्मचारीले राजनीति गर्न नहुने भन्दै उनले दलभन्दा देशलाई शिरमा राखेर हिँड्न भारतीले आग्रह गरे ।

कार्यक्रममा समितिका प्रमुख सल्लाहकारहरु शैलेन्द्र गुरुङ र भीमबहादुर साई, समितिका निवर्तमान अध्यक्ष अर्जुन थापा, सेकोनका उपाध्यक्ष किषानसिं गुरुङ, श्रम निर्माण व्यवसायी समितिका सल्लाहकार तीर्थराज मगर, पत्रकार नवीन सिग्देल, फर्निचर व्यवसायी समितिका थोमनाथ अर्याल, शुक्ला गण्डकी निर्माण व्यवसायी समितिका विष्णुकुमार पौडेल र मानव सेवा आश्रम हेमजाका सदीश पुनले शुभकामना मन्तव्य व्यक्त गरे ।

तपाईको प्रतिक्रिया