एमाले कास्कीका ३ क्षेत्रमा २८ सिफारिस

पोखरा ।
आउँदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीमा एमाले कमिटीहरुले उम्मेदवार सिफारिस गरेका छन् । प्रदेश सभातर्फ शनिबार उम्मेदवार सिफारिस गरेको एमालेले प्रतिनिधि सभातर्फ आइतबार सिफारिस गरेको हो ।
प्रतिनिधि सभातर्फ ३ सिट रहेको कास्कीमा एमालेबाट २८ जना सिफारिस भएका छन् ।
नेकपा एमालेको आइतबार भएको छुट्टाछट्टै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका बैठकले उम्मेदवारहरु जिल्ला कमिटीमा सिफारिस गरेको एमाले कास्कीमा सचिव बैनबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार कास्की १ मा पूर्वगृहमन्त्री खगराज अधिकारीसहित १५ जना सिफारिस भएका छन् । अधिकारी कास्की १ ‘क’बाट प्रदेश सभामा पनि सिफारिस भएका छन् । संघीय सांसद अधिकारी २०७४ को निर्वाचनमा कास्की १ बाट निर्वाचित भएका हुन् ।
अधिकारीसँगै दिलीप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योति ढुंगाना, मनबहादुर गुरुङ, बालासिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीलाई एमाले क्षेत्रीय कमिटीले सिफारिस गरेको हो । मनबहादुर गुरुङ पनि खगराज जस्तै दोहोरो सिफारिस भएका छन् । कास्की १ खबाट प्रदेशसभाका लागि पनि उनी सिफारिस भएका छन् ।
एमालेबाट कास्की २ मा प्रतिनिधि सभा निर्वाचनका लागि सांसद विद्या भट्टराईसहित ४ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले कास्की २ क्षेत्रीय समन्वय कमिटीले भट्टराईसहित भूपेन्द्र गिरी, केशव आचार्य र प्रभा कोइरालाको नाम सिफारिस गरेको हो । उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारीकी जीवनसाथी विद्या भट्टराई विजयी भएकी थिइन् ।
कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस भएको छ । विश्वकर्मासहित देवीप्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले जिल्ला कमिटी कास्कीले जनाएको छ । विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए ।
समानुपातिकतर्फ आकांक्षीको नाम संकलन भइरहेको जिल्ला कमिटी सचिव अधिकारीले जानकारी दिए । ‘सोमबारको बैठकबाट उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा पठाइनेछ, पार्टीमा मापदण्ड अनुसार छनोट गरेर प्रदेशमा पठाइनेछ,’ उनले भने । जनताका माझमा, कार्यकर्ताको माझमा भिजेको, प्रभावशाली, विकास निर्माणमा चासो, पार्टीप्रति निष्ठा भएको उम्मेदवार छनोट गरी सिफारिस गरिने अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया