मन्त्रीको अंकुशले बिरामी र कर्मचारी मारमा

सञ्जय रानाभाट २०७९ भदौ २१ गते १०:४१

सञ्जय रानाभाट

पोखरा
गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ साउनमा विभिन्न १४ निकायमा अस्थायी दरबन्दीमा १ सय ६३ कर्मचारी भर्नाका लागि सूचना जारी गर्‍यो । भदौ १ गतेसम्म निवेदन दिनेको मन्त्रालयले भदौ ५ देखि ७ गतेसम्म अन्तर्वार्ता लियो ।
एकै पटक अन्तर्वार्ता भएका १४ निकायमध्ये १२ मा कर्मचारीको काम सुरु भइसके पनि २ निकायका लागि लिइएको अन्तर्वार्ताको नतिजा भने अहिलेसम्म प्रकाशन गरिएको छैन । मन्त्रालयले संक्रामक तथा सरुवा रोग अस्पताल कास्की र प्रदेश जनस्वास्थ्य प्रयोगशाला कास्कीका लागि लिएको अन्तर्वार्ताको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो ।


मन्त्रालयले संक्रामक तथा सरुवा रोग अस्पतालमा ११ स्टाफ नर्स र १ रेडियोग्राफर र १ फार्मेसी सहायकका लागि सूचना जारी गरेको थियो । सूचनापछि रेडियोग्राफरका लागि ९, फार्मेसी सहायकका लागि १५ र स्टाफ नर्सका लागि १ सय ४० निवेदन परेका थिए । अन्तर्वार्ताको नतिजा प्रकाशनमा मन्त्रालयले गरेको ढिलाइले अहिले संक्रामक तथा सरुवा रोग अस्पतालका कर्मचारी भने मारमा छन् ।

Advertisement


संक्रामक तथा सरुवा रोग अस्पतालका नर्सलाई अहिले दोब्बर कार्यबोझ छ । अस्पतालमा कार्यरत एक नर्सका अनुसार अहिले १ सिफ्ट १ जनाले नै हेर्नुपर्ने स्थिति छ । ५ जना नर्सले ३ सिफ्टमा काम गर्नुपर्ने बाध्यता छ । ‘नाइट सिफ्टमा ४ जना नै बस्नुपर्छ । दिउँसो कसैको बिदा, कोही बिरामी पर्ने हुँदा एक्लै पनि सिफ्ट धान्नुपर्ने बाध्यता छ,’ ती नर्सले भनिन् ।


कर्मचारी अभावकै कारण भर्ना गर्नुपर्ने बिरामीलाई वार्डमा राख्न नसकिएको अस्पतालकी नर्सिङ इन्चार्ज नम्रता बास्तोलाले बताइन् । सबै बिरामीलाई इमर्जेन्सीमै राखेर उपचार गर्ने गरिएको छ । ‘भर्ना बिरामीलाई अहिले इमर्जेन्सीमै उपचार गरेका छौं, वार्डमा राख्न कर्मचारी छैनन्,’ बास्तोलाले सुनाइन् ।

Advertisement


अस्पतालका प्रमुख विकास गौचन भने राजनीतिक खिचातानीको मारमा अस्पताल परेको बताए । उनले मन्त्रालयलाई बुझाउन गाह्रो भएको र स्वास्थ्य क्षेत्रको संवेदनशीलता नबुझिएको जनाए । ‘राजनीतिक खिचातानी भयो, बुझाउन गाह्रो भयो । लोक सेवाको सिद्धान्त अनुसार २ दिनमा भर्ना गर्नुपर्ने हो,’ गौचनले भने । मन्त्रालयले जतिसक्दो चाँडो नतिजा प्रकाशन गरेर कर्मचारी पदपूर्ति गर्नुपर्ने उनको माग छ । स्वास्थ्यकर्मी बिना अस्पतालको अर्थ नहुने भएकाले यस विषयमा गम्भीर बनिदिन उनले आग्रह गरे ।


यसबारे गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मधुमाया गुरुङ अधिकारीसँग सम्पर्क गर्दा उनी बोल्न मानिनन् । स्वास्थ्य सचिवसँग जवाफ माग्न भन्दै उनी पन्छिइन् । मन्त्रालयका सचिव श्रीराम तिवारीले अब १/२ दिनमै नतिजा प्रकाशन हुने जानकारी दिए । ‘प्रदेश सरकारको कार्यविधि अनुसार गएका छौं । धेरै निवेदक हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको छ, अबको १/२ दिनमै नतिजा प्रकाशन हुन्छ,’ उनले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया