सरुवा रोग अस्पतालकाे रातारात आयाे नतिजा

निर्वाचन आयोगले आसन्न निर्वाचन लक्ष्य गर्दै भदौ २० पछि कुनै नियुक्ति, कर्मचारी भर्ना नगर्न भनिसकेको हुँदा मन्त्री अधिकारी पछि हटिन्

सञ्जय रानाभाट २०७९ भदौ २२ गते १०:३८

सञ्जय रानाभाट ।
पोखरा
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको ढिलासुस्तीले प्रकाशन हुन नसकेको अस्थायी स्वास्थ्यकर्मीको अन्तर्वार्ताको नतिजा बाध्यात्मक अवस्थामा प्रकाशित भएको छ । मन्त्रालयले सोमबार मध्यरातमा अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।
स्वास्थ्यमन्त्री मधुमाया गुरुङ अधिकारीले नतिजा प्रकाशनको काममा अड्को थापेकी थिइन् ।

स्रोतका अनुसार आफ्नो मान्छेलाई भर्ती गर्ने नियतका साथ मन्त्रीले नतिजा प्रकाशन थाँती राखेकी थिइन् । एकैपटक १४ निकायका लागि निकालिएको सूचना र अन्तर्वार्ताको नतिजामध्ये १२ निकायले प्रकाशन गरिसक्दा मन्त्रालयले २ निकायको मात्र रोकेको थियो ।


२६ साउनमा विभिन्न १४ निकायमा अस्थायी दरबन्दीमा १ सय ६३ कर्मचारी भर्नाका लागि आवेदन माग गरिएको थियो । तर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला कास्की र संक्रामक तथा सरुवा रोग अस्पताल, सिसुवाका लागि आवश्यक १७ जना स्वास्थ्य कर्मचारीको अन्तर्वार्ता लिएर अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरिएको थियो ।

Advertisement


सूचनापछि रेडियोग्राफरका लागि ९, फार्मेसी सहायकका लागि १५ र स्टाफ नर्सका लागि १ सय ४० निवेदन परेका थिए । कर्मचारी अभावले संक्रामक तथा सरुवा रोग अस्पतालमा बिरामी र कर्मचारी मारमा परिरहँदा स्वास्थ्यमन्त्री भने आफूले सिफारिस गरेकालाई छनोट गर्ने ध्येयले नतिजा प्रकाशनमा अड्को थाप्दा नतिजा बेलामा नआएको स्रोत बताउँछ ।


मन्त्रीको अड्कोबीच बाध्यात्मक अवस्था आएपछि भने मन्त्रालयले नतिजा प्रकाशन गरेको छ । निर्वाचन आयोगले आसन्न निर्वाचन लक्ष्य गर्दै भदौ २० पछि कुनै नियुक्ति, कर्मचारी भर्ना नगर्न भनिसकेको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर प्रष्ट भनेको छ, ‘भदौ २० गतेपछि कुनै पनि राजनीतिक नियुक्ति, कर्मचारी राख्ने झिक्ने गर्न पाइने छैन । राख्न पर्ने खण्डमा निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्ने छ ।’

Advertisement


सोही बाध्यता आइलागेपछि सोमबार मध्यरातमा मन्त्रालयले नतिजा प्रकाशन गरेको हो । स्वास्थ्य सचिव डा श्रीराम तिवारीले केही दिनमा नै नतिजा प्रकाशन गरिने बताएका थिए । मन्त्रालयले संक्रामक तथा सरुवा रोग अस्पतालमा ११ स्टाफ नर्स र १ रेडियोग्राफर र १ फार्मेसी सहायकका लागि आवेदन मागेको थियो । कर्मचारी परिपूर्ति नगर्दा संक्रामक तथा सरुवा रोग अस्पतालका कर्मचारी भने मारमा थिए । स्वास्थ्यकर्मीको अभावले अस्पतालको सेवा प्रभावित भएको थियो । राजनीतिक खिचातानी अर्थात मन्त्री अधिकारीको स्वार्थका कारण अस्पतालले आकस्मिक सेवामा समेत जनशक्ति नपाएको अवस्था थियो ।


मध्यरातमा प्रकाशित नतिजा अनुसार संक्रामक रोग अस्पतालका ११ नर्सका लागि साधना सापकोटा, सुनिता राना, अनु अधिकारी, सौजन्य लामिछाने, शर्मिला लामिछाने, सचिना रानाभाट, अजिता काफ्ले, समुन्द्र तिवारी, स्मृति कँडेल, वुलु सुवेदी, रिना श्रीस मगर छानिएका छन् ।


रेडियोग्राफर र फार्मेसी सहायकमा अनुपा लम्साल र कुुसुम पौडेल छनोट भएका छन् । त्यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मेडिकल ल्याब टेक्नोलोजिस्ट र ल्याब टेक्निसियनमा रोशनी गुरुङ, सरिता अधिकारी, कुसुम गुरुङ र नारायणप्रसाद कोइराला छानिएका छन् ।


नतिजा प्रकाशन भएपछि भने अब संक्रामक तथा सरुवा रोग अस्पतालका कर्मचारीलाई राहत मिलेको छ । अस्पतालमा ५ जना नर्सले ३ सिफ्टमा काम गर्नुपर्ने परेको थियो । कर्मचारी अभावले बिरामीलाई वार्डमा भर्ना गर्न नसक्दा अस्पतालले इमर्जेन्सीमै राखेर बिरामी उपचार गरिरहेको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया