भाडा नतिर्ने १० सटरमा पाेखरा महानगरको ताला

समाधान संवाददाता २०७६ वैशाख ९ गते ९:११

समाधान संवाददाता

पोखरा महानगरपालिकाको भवन प्रयोग गरेर व्यापार व्यवसाय गर्ने तर भाडा नबुझाउने अटेरी व्यवसायीलाई महानगरले कारबाही थालेको छ । लामो समयदेखि बक्यौता रकम नबुझाउने राष्ट्रबैंक चोक र महेन्द्रपुलमा रहेका १० सटरमा आइतबार महानगरले कारबाही गरेको हो ।

राष्ट्रबैंक चोकमा महानगरका १० सटर छन् । त्यसमध्ये ४ सटरमा महानगरबाट नगर प्रहरी सहित पुगेको टोलीले ताला लगायो । महेन्द्रपुलमा महानगरको ३० बढी सटर छन् । त्यसमध्ये ६ सटरमा ताला लगाइएको प्रशासकीय अधिकृत भरतराज पौडेलले जानकारी दिए ।
झण्डैं २ महिना अगाडीदेखि सटर भाडा बापत देखिएको करोडौं रकम उठाउन तदारुकता देखाएको महानगरलाई अझसम्म पनि विभिन्न स्थानबाट १ करोड ७५ लाख रुपैयाँ बढी रकम तिरेका छैनन् । ‘पत्रचार गरेपछि महानगरको खातामा १ करोड ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ,’ प्रशासकीय अधिकृत पौडेलले भने, ‘अब आक्रामक रुपमा नै नगई नटेर्ने अवस्था आएपछि ताला लगाउन बाध्य भएका हौं ।’

Advertisement

सर्वसाधारणले देखिने गरी ताला लगाउँदा नैतिक दबाब समेत पर्ने हुँदा सांकेतिक रुपमा सटरमा ताला लगाइएको उनले बताए । ‘सरकारी भवन प्रयोग गरेर भाडा नबुझाए पनि हुन्छ भन्दै टार्दै आइरहेका सटरलाई कारबाही थालेका छौं । भाडा तिर्छु भनेर करार गर्ने तर नतिर्ने सटरलाई तिर्न बाध्य पार्छौ,’ उनले भने । बक्यौता बाँकी भएका सटरले रकम दाखिला नगरेसम्म ताला नखोलिने उनले जनाए ।

पोखरा २६ स्थित कसमस कम्प्युटर रहेको भवन, महेन्द्रपुल, राष्ट्रबैंकचोक र मालपोत कार्यालय अगाडी महानगरले आन्तरिक आर्थिक स्रोत संकलनका लागि सटर निर्माण गरेको थियो । सृजनाचोकमा समेत महानगर सपिङ कम्प्लेक्स बनाई ठेक्का दिएको छ ।

Advertisement

सबै भवन तथा सटरबाट महानगरलाई वार्षिक २ करोड ४ लाख रुपैयाँ भाडा बापत आम्दानी हुने गरेको राजश्व शाखा अधिकृत रोमप्रसाद उपाध्यायले जनाए । सटर प्रयोग गर्ने तर महानगरलाई भाडा नबुझाउनेप्रति कडा नीति लिइने प्रशासकीय अधिकृत पौडेलले बताए ।

तपाईको प्रतिक्रिया