युवालाई टिकट दिन गण्डकीका युवा कांग्रेसहरुकाे माग

पोखरा ।
नेपाली कांग्रेसमा गन्डकी प्रदेशवाट संघ र प्रदेश सांसद वन्न आकांक्षा राखेका युवाहरूको “युथ टेवल” आईतवार पोखरामा भएको छ । आगामी मंसिर ४ गते हुने चुनावको लागि कांग्रेसले युवाहरूलाई उम्मेदवार वनाउन दवाव दिन कार्यक्रम गरिएको गन्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य अजित क्षेत्रीले जानकारी दिए ।
भेलाले पार्टी केन्द्रीय नेतृत्वसंग ५ वुंदे माग गरेकाे छ । दिगो विकास, सुशासन र सदाचारका पक्षमा संसदमा सशक्त आवाज़ र कानुन निर्माण गर्न भूमिका खेल्नका लागि संसदमा युवा नेतृत्व चाहिएको कांग्रेस युवा नेता भानु पराजुलीले बताए । संघियताको सफल कार्यान्वयन, रुपान्तरण र पुस्तान्तरण सहितको राजनीतिक व्यवस्थापन गर्न राज्य र पार्टीको निर्णायक तहमा युवाहरूको प्रभावशाली उपस्थित गराउन पनि कांग्रेसमा नयाँ पुस्ता आवश्यक रहेको उनकाे भनाई थियो ।
ने.वि संघका पुर्वमहामन्त्री युवराज पाण्डेले संघ र प्रदेश चुनावमा युवालाई उम्मेदवार वनाउन सके कांग्रेसका पक्षमा जनलहर आउने दावी गरे । नेवि संघका पुर्वउपाध्य़ डिल्ली सुवेदीले गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा विस्तारका लागि सांसदवाट आवश्यक नीति र कानुन वनाउन पनि युवा संसदमा पुग्नुपर्ने दावी गरे ।
आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको सरकार सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्दि हासिल गर्न सकिन्न, त्यसैले अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत राख्छ, भेलामा सहभागी युवाहरुको निष्कर्ष छ । साथै भेलाले पुराना नेताहरूलाई अभिभावकीय दायित्वमा रही नवीन चिन्तन, सोंच र विचार सहितको युवा पुस्तालाई नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल समेत गरेको छ ।
भेलामा नेपाली कांग्रेस कास्की सचिव भानु ढकाल, नवीन सिग्देल, सहसचिव शंकर ढुंगाना, नेवि संघ पुर्व केन्द्रीय सदस्य पवन नेपाल, सरोज केसी, पुनम भट्ट, नेताहरू विधा वराल, गणेश भट्टराई, यमकृष्ण पौडेल, पारश रेग्मी, मिलन सुवेदी, रमेश पौडेल, हिरा भट्टराई, मदन वस्नेत, गोविन्द नेपाली, कल्याण वावु भन्डारी, दिपक गुरुङ लगायतले बाेलेका थिए ।
तपाईको प्रतिक्रिया