हलो क्रान्तिका प्रणेता

प्रमिला कुँवर २०७९ असोज १ गते १२:३३

नदीपुरको धर्मशिला बुद्ध विहारमा बौद्धमार्गीका कार्यक्रम भइरहन्थे । जहाँ, केही हिन्दुहरु पनि ज्ञानगुनका कुरा सुन्न पुग्थे । कार्यक्रमहरु हुँदा पोखराका गिनेचुनेका व्यक्तिहरु पनि बोलाइन्थे । एकपटक पत्रकार तिलकमान गुभाजू एउटा कार्यक्रम चलाउँदै थिए । एकजना अतिथिलाई उनले सम्बोधन गरे । भने, ‘उहाँ विसं २००१ सालमा नेपालमा नै पहिलोपटक हलो जोतेर क्रान्तिकारी हुनुभएका एक ब्राह्मण ।’ हलो जोतेको कुरा ती अतिथिले स्वीकारे । जुन सत्य नै थियो । तर फरक मत पनि राखे ।

Advertisement


ती अतिथिको फरक मतचाहिँ हलो जोतेर आफूले खासै ठूलो क्रान्तिकारी काम नगरेको भन्नेमा थियो । अनि भने, ‘हिन्दु धर्म र संस्कृतिका लागि हलो जोतेको कुरा निश्चय नै एक क्रान्तिकारी कदम हो । २५०० वर्ष पहिले बुद्धकालीन अवस्थामा हलो जोत्ने एक साधारण कुरा थियो । जसले पनि हलो जोत्थ्यो । त्यसबेला राजा शुद्धोधनले आफ्नो खेतमा हलो जोतेका कुरा बौद्ध शास्त्रमा स्पष्ट छ ।’

मुक्तिनाथले सुरु गरेको हलो क्रान्तिको सिको गरेका लमजुङ दुराडाँडाका श्रीकान्त अधिकारीहरुलाई त्यसको जस गयो । तर त्यो क्रान्तिका प्रणेता मुक्तिनाथ हुन् । प्रसिद्ध लेखक मोदनाथ प्रश्रितले समेत मुक्तिनाथलाई नै प्रणेता मानेका छन् ।

२५०० वर्ष पहिले राजा शुद्धोधन लगायतले साधारण किसिमले गरेका हलो जोत्ने काम २५०० वर्षपछि गर्दा पनि उनलाई क्रान्तिकारीको पगरी मिलेको थियो । नमिलोस् पनि कसरी ? राजा शुद्धोधनका पाला कुन जातिले हलो जोत्न हुने र कसले नहुने भन्ने नै थिएन । राजा स्वयं पनि हलो जोत्थे । राणाकालीन नेपाली समाजमा एउटा अन्धविश्वास व्याप्त थियो—बाहुनले हलो जोत्नु हुँदैन, जात जान्छ । त्यही अन्धविश्वास चिर्न चाहन्थे उनी । त्यसैले बाहुन भए पनि हलो जोतिदिए । २००१ साल फागुन २८ गते आफ्नै बारीमा हलो जोते ।

बाटुलेचौरका स्थानीय तथा मुक्तिनाथ स्मृति प्रतिष्ठानका हालका अध्यक्ष तथा संस्थापक सचिव मोहन थापाले पिता कर्णबहादुर थापाबाट सुनेका थिए—मुक्तिनाथले १ सालमै हलो जोतेको कुरा । त्यो बेला बाहुन भएर हलो जोत्नु क्रान्ति नै थियो । जुन क्रान्ति देशमै पहिलोपटक मुक्तिनाथले गरे । लमजुङ दुराडाँडाका श्रीकान्त अधिकारी २००५ सालमा पोखरा आएका रहेछन् । मुक्तिनाथको सिको उनले दुराडाँडामा गरे । दुराडाँडामा हलो जोत्न तम्सिने बाहुनहरु अरु पनि भए । त्यसले धेरै प्रचार पायो । अनि कतिपयलाई लागेछ हलो क्रान्ति लमजुङ दुराडाँडामा पहिलोपटक भयो । तर साक्षीहरु त पहिलो हलो क्रान्तिकारी शर्मालाई मान्छन् । प्रसिद्ध लेखक मोदनाथ प्रश्रितले समेत मुक्तिनाथको जन्मशताब्दीमा प्रकाशित स्मृतिग्रन्थमा शर्मालाई नै पहिलो उल्लेख गरेका छन् ।

Advertisement

मुक्तिनाथले हलो जोतेपछि उनी र उनको परिवार गाउँमा आँखी भयो । पानी पँधेरो जाँदा उनका परिवारसँग छोइन्छ झंै गरी गाउँले तर्कने थाले । तर, उनलाई के मतलब ! फेरिफेरि अनो समाते । जातिपाति र छुवाछूत विरुद्ध उनको क्रान्ति एउटा हलोको सियोमा सीमित भएन । २०११ सालमा अर्काे क्रान्तिकारी काम गरे । उपन्यास लेखे—को अछूत ? यो उपन्यासको एक पात्र ब्राह्मणी र हलीको सम्बन्धबाट जन्मन्छ । ब्राह्मणकै रुपमा चिनिन्छ र पछि पण्डित कहलाउँछ । पुराण बाचनहरुमा निम्त्याइएछ ।

गाउँले ब्राह्मणहरु उसलाई श्रद्धा गर्छन् । यो पुस्तक त झनै आलोचित भयो तथाकथित मैं हुँ भन्ने जातिबाट । प्रतिबन्धित भयो । प्रेसबाट जफत पनि । मुक्तिनाथ भने ढिट थिए । २०२० सालमा राजा महेन्द्रले मुलुकी ऐन संशोधन गरी जातिप्रथा कानुनतः हटाए । त्यसको उपलक्ष्यमा भदौ १ गते टुँडिखेलमा मुक्ति दिवस मनाइयो । जसको प्रमुख वक्ता उनै ब्राह्मण मुक्तिनाथ थिए । को अछूत ? मात्रै होइन, मुक्तिनाथका कलमले मातृत्व र धर्म पुस्तक, गफ, हिन्दु संस्कृति र आधुनिकता र सामन्त अवशेष पनि लेख्यो । सामन्त अवशेष भने अप्रकाशितै छ ।

हलो क्रान्तिका प्रणेता मुक्तिनाथ पोखरामा पहिलो विद्यालय स्थापना गर्ने शिक्षासेवी पनि हुन् । २००४ सालमा उनले बाटुलेचौरमा विन्ध्यवासिनी आधार मिडिल स्कुल खोलेका थिए । त्यसअघि नेपाली भाषा प्रकाशिनी समितिमा उनको जागिर थियो । जहाँका प्रमुख बालकृष्ण सम थिए । मुक्तिनाथचाहिँ उनका सहायक । त्यही समिति अन्तर्गत रहेछ—भाषानुवाद परिषद् । परिषदमा बसेर मुक्तिनाथले संस्कृतका महाकवि कालिदासको कृति रघुवंश महाकाव्य र किराताजुर्नियम अनुवाद गरे । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरका छोरासँग वादविवाद गरेपछि उनले त्यहाँको जागिर छोड्नुपरेको थियो । ६ महिना त उनी जेलमा पनि परे ।

संस्कृत उनले काठमाडौंकै तीनधारा पाठशालामा पढेका थिए । सावाँअक्षर भने गाउँमै छिचोलेर पढ्नकै लागि काठमाडौं गएका थिए । उनी जन्मिएको १९७१ असार वा त्यसपछिको समय अर्थात उनको बालापन गुज्रिरहेका बेला विद्यालय भन्ने नै थिएनन् । गाउँकै पण्डितहरुबाट कखरा सिक्ने अवसर परिवारले दिलाएको थियो । आमा १४ महिनामै गुमाएपछि हजुरआमाको वात्सल्य पाएका थिए, तर त्यो पनि ७ वर्षको उमेरमा गुमाए । तर पढाइ छाडेनन् । काठमाडौंको तीनधारामा उत्तर मध्यममा पढे पनि परीक्षा दिन भारतको वाणाराशी पुग्नुपरेको थियो ।

उत्तर मध्यममा पढेकालाई पण्डितको उपाधि मिल्थ्यो, उनलाई पनि मिल्यो । काठमाडौंमा पढ्दा उनका सहपाठी राष्ट्रकवि माधव घिमिरे थिए । घिमिरेले आफूलाई नेपाली भाषा प्रकाशनीमा मुक्तिनाथकै सिफारिसमा जागिर मिलेको उनको सम्झनामूलक लेखमा लेखेका छन् । घिमिरेकै शब्दमा मुक्तिनाथ चतुर पनि थिए र मधुर पनि थिए । विन्ध्यावासिनी मिडिल स्कुलका अलावा पृथ्वीनारायण क्याम्पस स्थापनाको अगुवाइमा होस्टेमा हैंसे मुक्तिनाथको पनि रह्यो ।

पृनाका संस्थापक प्रमुख जर्ज जोनले क्याम्पस स्थापना गर्दा बास र खरको निकै महत्व रहेको सम्झन्छन् । बास र खरका भरमा कक्षा कोठा बनाउँदा तिनै सामग्री संकलन गर्न जोन विद्यार्थीहरुसहित बाटुलेचौर पुगेका रहेछन् । ‘उपत्यकाको प्रत्येक धुरीबाट एक–एकवटा बाँस, बाँस छैन भने एक–एक बिटा खर माग्ने कुरा उठ्यो । प्रारम्भमा बाटुलेचौरबाट सुरु गर्ने विचार भयो,’ जोनले मुक्तिनाथ स्मृतिग्रन्थमा लेखेका छन्, ‘म बाटुलेचौरको विन्ध्यवासिनी पाठशालामा पुगेँ । मुक्तिनाथ गुरुसँग मेरो परिचय भयो ।

हामीले हाम्रो माग प्रस्तुत ग¥यौं । सबै कुरा सुनेपछि गुरुले ‘ठीक छ प्रत्येक धुरीबाट एक–एकवटा बाँस दिने भयौं । तपाईंहरू काटेर लैजानुस्’ भन्नुभयो, खुसीसाथ उहाँहरूलाई धन्यवाद दिई भोलिपल्टबाट काम सुरु गरें । सम्भवतः गुरुले त्यति नभनेको भए मेरो पोखराको बसाइ पनि त्यस बेला टुंगिने थियो ।’ भोटीखोला खानेपानी योजनाका प्रमुख योजनाकार मुक्तिनाथ भएको चेतन कार्कीले पोखराको नक्षत्र नेपालकै सपूत लेखमा लेखेका छन् ।

पोखरा एयरपोर्ट निर्माणको पहलकदमी लिनेमा मुक्तिनाथ पनि एक भएको बुढापाकाहरु बताउँछन् । उनीहरुकै भनाइमा श्रमदानबाट एयरपोर्ट बनेको थियो । पोखरेलीले कुटो कोदालोले खनेर विमानस्थलमा धावनमार्ग बनाएका थिए । तर पछि सरकारी प्राविधिकले ५ हजार खर्च भएको भनी खाएकोबारे मुक्तिनाथले त्यसका विरुद्ध लेख लेखेको पोखरा छिनेडाँडाका स्थानेश्वर शर्माले मुक्तिनाथलाई सम्झिएर लेखेको लेखमा उल्लेख गरेका छन् । बाटुलेचौरलाई पोखराको बजारसँग जोड्ने केआईसिंह पुल बनाउने जस मुक्तिनाथलाई नै जान्छ ।

अहिलेको चर्चित महेन्द्र गुफा त्यसताका साहुका भ्वाङका नामबाट चिनिँदो रहेछ । सत्यमोहन जोशीले त्यसको भ्रमण गरेका रहेछन् । काठमाडौं पुगेपछि लेख पनि लेखेछन् । अनि अलि प्रचारित भएछ । पछि मुक्तिनाथले राजा महेन्द्रलाई त्यो भ्वाङ घुमाउने प्रबन्ध मिलाएछन् । त्यसपछि नै भ्वाङ महेन्द्र गुफाका नामबाट परिचित हुन थालेछ । मुक्तिनाथ शर्मा राजनीतिक रुपमा नेपाली कांग्रेसमा आवद्ध थिए, त्यो पनि २००५/६ सालदेखि नै । कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाटले जहानियाँ हुकुमी शासनको विरुद्धमा लड्ने कांग्रेसका क्रान्तिकारी नेताको संज्ञा दिएका छन् । उनी लेख्छन्, ‘मैले थाहा पाएअनुसार नेपाली राष्ट्रिय कांग्रेसले राणाशाहीका विरुद्ध गर्ने क्रान्तिमा सरिक हुने उद्देश्यले सर्वप्रथम भारतको बनारस पुग्ने कास्केली कार्यकर्ता पण्डितजी हुनुहुँदो रहेछ ।’

कांग्रेसी योद्धाका हिसाबले २०१५ सालको आमनिर्वाचनमा मुक्तिनाथ पार्टीको तर्फबाट उम्मेदवारको आकांक्षी पनि थिए । तर पार्टीले टिकट भने मीनबहादुर गुरुङलाई दियो । मुक्तिनाथको वागी उम्मेदवारी पर्‍यो । चरा चिन्ह पाएका मुक्ति हारे, रुख चिन्हवाला गुरुङले जिते । बिपीले उपरक्षामन्त्री पनि बनाए । पछि २०१६ साल असार २९ गते महासभामा मनोनीत भए मुक्तिनाथ । महासभा अर्थात उपल्लो सदनमा राजा महेन्द्रबाट मनोनीत भए पनि उनी १७ सालको कूपछि फेरि प्रजातन्त्रकै पक्षमा लागेका थिए । प्रजातान्त्रिक आन्दोलनमा सधैं सक्रिय उनले प्रजातन्त्रको पुनर्वहाली भने बेहोर्न पाएनन् । २०४६ चैत १९ गते नै संसारबाट विदा भए । उनको योगदानको सम्झना र सम्मान गर्दै निधनको १२ वर्षपछि छोराहरु रमेश, प्रकाश र किरणले मुक्तिनाथ स्मृति प्रतिष्ठान स्थापना गरे । प्रतिष्ठानले नै प्राडा यमबहादुर पौडेल क्षेत्रीलाई सम्पादन सल्लाहकार राखी ग्रन्थ प्रकाशन गरेको हो ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया