घट्यो विन्ध्यवासिनीको आम्दानी

पोखरा ।
कोभिड १९ को महामारीले जताततै असर गर्यो । व्यापार व्यवसाय चौपट भयो । अर्थतन्त्रमा धक्का लाग्यो । त्यस्तै असरको मारमा धार्मिक क्षेत्र पनि परेको छ । हो, पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा पनि आम्दानीको स्रोत दुब्लाएको छ ।
कोभिड महामारीअघिसम्म भक्तजनको ताँती लाग्थ्यो । तिनले देवीलाई चढाएको छ भेटी र अरु पूजाआजा लगायतको आम्दानी दिनमै लाख डेढ लाख नै उठ्थ्यो । अचेल भने दैनिक ५०/६० हजार रुपैयाँ हाराहारीमा संकलन हुने गरेको जानकारी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवहाक अध्यक्ष सूर्यप्रसाद सुवेदीले दिए । ‘महिनामा १४ लाख रुपैयाँ नभए पुग्दैन,’ उनले भने । उनकै भनाइमा ४५ जना कर्मचारी, विद्याश्रम लगायतका लागि मासिक त्यति खर्च लाग्छ ।
३ सय वर्ष पुरानो विन्ध्यवासिनी मन्दिरको संरक्षण र रेखदेख ४० को दसकदेखि समितिले गर्दै आएको छ । समितिले मन्दिरमा भक्तजनले चढाउने भेटी पुजारीका खल्तीमा जाने परम्परा तोडेर समितिमै आउने थिति बसाएको छ । पुजारीहरु पनि तलबमा छन् । ४५ जना कर्मचारीमध्ये १० जना पुजारी, सरसफाइकर्ता, प्रशासकीय अधिकृत लगायत छन् । तलबमा मात्रै मासिक ९ लाख रुपैयाँ खर्च हुने समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार सिसी क्यामेरासमेत राखेर भेटी संकलन हुने गरेको छ । विन्ध्यवासिनीमा दर्शनार्थीले चढाएको भेटीबाहेक गणेश, सरस्वती, शिव, कृष्ण र हनुमान मन्दिरबाट पनि भेटी संकलन हुने श्रेष्ठले जानकारी दिए । ती सबै मन्दिर पनि विन्ध्यवासिनीकै परिसरमा छन् । मन्दिर परिसर २७ रोपनीमा फैलिएको छ ।
मन्दिर समितिलाई अनुष्ठान र पूजाआजबाट पनि मन्दिरलाई आम्दानी हुन्छ । रुद्राभिषेक, विवाह, व्रतबन्ध, जन्मोत्सवमा शुल्क छ । पार्किङ, लिफ्ट, फोटोग्राफर भाडा, पुस्तक बिक्री, एम्बुलेन्स सेवा शुल्क, सटर भाडा पनि मन्दिरका आम्दानीका स्रोत हुन् । ‘मन्दिरको प्रत्येक दिनको आम्दानी पारदर्शी रुपमा त्यसै दिन संकलन हुन्छ,’ श्रेष्ठले भने ।
सञ्चालन खर्चबाहेक मन्दिर र परिसर लगायतको पुनर्निर्माण तथा मर्मतमा आम्दानीलाई खर्च हुँदै आएको जानकारी श्रेष्ठले दिए । उनकै भनाइमा धार्मिक क्षेत्र विकास समितिको पहलमा नदीपुर पोखरामा प्राकृतिक चिकित्सालय निर्माणाधीन छ । त्यसमा समितिले १ करोड रुपैयाँ लगाएको छ ।
पोखरा १८ मा विन्ध्यवासिनी वेद विद्याश्रम निर्माणाधीन छ । त्यहाँ डेढ करोड रुपैयाँ लगाएको जानकारी श्रेष्ठले दिए । चिकित्सालय १ वर्षभित्र सञ्चालनमा आउने विश्वास गरिएको छ । १३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको चिकित्सालयमा अहिलेसम्म ८ करोड रुपैयाँ खर्च भइसकेको र नेपाल सरकारबाट सहयोग आएको श्रेष्ठले बताए ।
कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहका पालामा भएको हो । मन्दिर धेरै पुरानो भएर ढल्किएको भए पुरातत्व विभागको अनुमति नपाएकाले पुनर्निर्माण हुन सकेको छैन । विन्ध्यवासिनी देवीको जीर्ण प्रतिमाचाहिँ विभागकै अनुमतिले हालै मर्मत भएको थियो ।
तपाईको प्रतिक्रिया