क्रान्तिवीर गोवर्द्धन शर्मा

तनहुँको पहाडीबस्ती पोखरेलफाँट वरपर विसं १९७५ मा आँठेको महामारी फैलियो । जसलाई अहिले टाइफाइड भनिन्छ । जाडो सकिएर गर्मीको राप चढ्दो थियो । उसैगरी पतझड रुखहरु पातविहीन हरियालीविहीन हुँदै थिए । पाखापखेरा पनि उस्तै उराठलाग्दा । त्यतिबेला गोवद्र्धन शर्मा जम्मा ४ वर्षका थिए ।
४ दिनको बीचमा पोखरेल परिवारमा एकाघरका ५ जनाको निधन भयो आँठेकै कारण । परिवारको खुसी लुटियो । पहिलो दिन गोबद्र्धनका जेठा दाजु ज्ञानिशंकर, भोलिपल्ट आमा बदना र बाबु इन्द्रविलास अनि अर्कोदिन दाजु शुकदेवलाई आँठेले उठायो । आमाबुवा बितेको पर्सिपल्ट बहिनी महाकाली पनि रहिनन् । उतिबेलाको समाज, अनि एकाघरमा परेको महामारी, जसोतसो काजकिरिया सकियो । घर सुनसान थियो, महामारी परेको घरमा त्रासकै कारण छिमेकी र आफन्तको आउजाउ ठप्पै थियो । गोवद्र्धनको लालनपालनको जिम्मा हजुरआमा हरिमायादेवीको काँधमा आइप¥यो ।
दुब्लो, पातलो अनि, अनुहार पनि चिम्स्याइलो भएकै कारण साथीभाइले उनलाई अनेकथरि उपनाम दिन्थे । कहिले घर कहिले मावल गरेर उनको बाल्यकाल बित्यो ।
गाउँमा हुनेखानेका छोराहरु पढ्नका लागि घर छाडेको उनले पत्तो पाए । त्यसअघि नै हजुरआमाले उनलाई पढ्नका लागि पुर्कोट पाठशालामा भर्ना गराइदिइन् । गाउँले अनि आफन्तबाट हेपिएको अनुभूति गरेका गोवद्र्धन पढ्नमा सानैदेखि टाठै दरिएका थिए । पढ्नकै लागि गाउँ छाड्ने र काडमाडौं छिर्ने निधोमा उनी पुगे ।
साथीभाइको साथ लागेका उनी ६ दिनको पैदल हिँडाइपछि काठमाडौं पुगे ।
काठमाडौंमा मावली बा कुलप्रसाद खनालसँगै बसेर गोवद्र्धनले तीनधारा पाठशालामा अध्ययन सुरु गरे । तीनधारा पाठशालामा भर्ना हुन र छात्रावासमा बस्नका लागि उनले पटकपटक बबर समशेरसँग बिन्ती बिसाउनु परेको थियो । चाकरीका लागि बसेको भीडभाडसहितको लावालस्करका बीचमा सानो बालकको कुरा सुनिदिने कोही हुन्थेन । उनले हिम्मत हारेनन्, त्यही लाइनमा बसेर एक दिन उनले बबर समशेरलाई बिन्ती चढाए । अन्तत उनी छात्रावासमा बस्न सफल भए ।
हजुरआमालाई खबरै नगरी उनले गाउँ छाडेका थिए । काठामाडौं पुगेको थाहा पाएपछि सक्दो खर्चपानी पठाइदिइकी थिइन् हजुरआमाले । संयोग पनि कस्तो परेको भने गोवद्र्धन काठमाडौं हिँडेपछि उनी सिकिस्त भइछन् । बेलाबेलामा बर्बराएजस्तो गरी नाति गोवद्र्धनलाई बोलाइदेओ न भन्थिन् रे । गोवद्र्धन छात्रावासमा भर्ना भएको चिठी घर पुग्यो । नातिको खुसीको खबर सुनेलगत्तै हजुरआमा हरिमायाले प्राण त्यागिन् ।
व्याकरणमा मध्यमा तहसम्मको पढाइ सकेर उनी विसं १९९३ मा गाउँ फर्किए । त्यतिबेलासम्म उनले बिहे पनि गरिसकेका थिए । १९९० मा प्रसूति व्यथाले पत्नी दीलमायाको निधन भयो । त्यसपछि उनको बिहे १९९२ मा तनहुँ म्याग्देको पण्डित परिवारकी द्रौपदासँग भयो । शताब्दी पुग्नै लागेकी द्रौपदा अहिले कान्छा छोरा सुवाशसँग काठमाडौंमा छन् ।
सानैदेखि विभेदमा पर्दै आएको, आमा बुवासहित परिवार गुमाएकै कारण होला, उनी बिद्रोही चेतका थिए । समाजमा व्याप्त विभेद र कुरितिका विरुद्ध उनी सानैदेखि बोल्थे । बीचको केही समय यज्ञयज्ञादि, सप्ताह पुराणमा उनी व्यस्त हुन थाले । कति ठाउँमा त उनी आफै मुलपण्डित नै भए । केही वर्ष खेतीकिसानी र सप्ताह, यज्ञमा बिताएका उनले विसं २००१ मा वन विभाग अन्तर्गत नायव मुखियाको जागिर पनि खाए । जागिरमा उनको मन रमाएन । समाजमा व्याप्त कुरित अन्त्यतिरै उनको ध्यान केन्द्रित भयो ।
नेपाली काँग्रेसको स्थापनासँगै उनी पार्टीसित सम्बद्ध भए । राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि विपी कोइरालाले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेसमा सम्बद्ध भएपछि उनीभित्रको क्रान्तिकारीपना पुन जागृत भयो । राणा शासन ढाल्न २००६ सालमा आह्वान गरिएको सशस्त्र क्रान्तिको तयारीका लागि उनी संगठनमा क्रियाशील रहे । विसं २००७ सालको सेरोफेरोमा तनहुँको बन्दीपुर आन्दोलनको केन्द्रबिन्दु थियो । उनी र अन्य साथीहरुको नेतृत्वमा गएको टोलीले बन्दीपुर कब्जा गरेर राष्ट्रव्यापी सन्देश प्रवाह गरेको थियो ।
तनहुँ र लमजुङबाट ठूलो समूह लिएर गोवद्र्धनसहित अगुवाहरु बन्दीपुर पुगे । निडर स्वभावका उनी सेनाको बन्दुक र बारुदको प्रवाह नगरी अगाडि बढिरहे । उनकै नेतृत्वमा कुन्छा कब्जा गरिएको थियो ।
२००७ को माघ १ गते ठूलो समूह बन्दीपुर पुगेको थियो । जुलुसमाथि सेनाले गोली चलाउन थाल्यो । गोवद्र्धनसँगै गएका धर्मध्वज गुरुङ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ र खड्गबहादुर गोदारसहित ६ जना सेनाको गोलीबाट मारिए । संयोग नै मान्नुपर्छ त्यतिबेला उनी सेनाको गोलीबाट जोगिए । सँगै गएका ६ जना साथी आँखै अगाडि ढलेका देख्दा शासन र शासकप्रति उनीमा थप वितृष्णा पैदा भयो । अनि झन् सशक्तरुपमा संघर्षको मैदानमा उत्रिए ।
उनी राजनीतिसँगै सामाजिक आन्दोदनमा समेत उत्तिकै सक्रिय रहे । विसं २००६ सालमा चुँदी टुहुरेपसलबाट सुरु भएको हलो क्रान्तीलाई उनले कलेस्ती फाँटबाट अगाडि बढाए । हिउँदे बाली अभियान नाम दिएर उनी आफै हलो लिएर खेतबारीमा उत्रे । खेत बाँझो राख्न नहुने, हिउँदे खेती अनिवार्य लगाउनुपर्ने, शर्तसहित उनले बिउबिजन वितरण मात्र गरेनन्, छाडा गाइवस्तु तह लगाउन काञ्जी हाउस समेत सञ्चालनमा ल्याए ।
२००७ सालमा बन्दीपुर कब्जा गरेपछि त्यही जनसरकार गठन भएको थियो । जनसरकारका सुधारका काम जनजनमा लैजानका लागि उनले नेतृत्वदायी भूमिका खेले । खोटा मानापाथीका ठाउँमा करुवा माना, ढ्वाङ पाथी भनेर चिनिने जनसरकारका छाप लागेका ढलोटका माना पाथी उनले चलन चलाए ।
मुलुकमा प्रजातन्त्र स्थापना भइसके पनि राजा महेन्द्रले चुनाव टार्ने काम मात्र गर्दै आए । जनदबाव मत्थर पार्न चुनावको तिथि घोषणा गर्ने तर चुनाव नगराउने राजाको नियतलाई जनतालाई बुझेका थिए । त्यतिबेला राजनीतिक अगुवाइ गरेको नेपाली कांग्रेसले राजाको नियत बुझेकै कारण उसैको नेतृत्वमा २०१४ को मंसिर २२ देखि मुलुकभर भद्र अवज्ञा आन्दोलन सुरु भयो ।
यो आन्दोलनलाई अघि बढाउन पश्चिमाञ्चलका जिल्लाहरुमा गोवद्र्धन शर्माले नेतृत्वदायी भूमिका निर्वाह गरे । त्यसबीचमा उनले अनेकन खाले यातना खेपे । घर परिवारबाट उनी धेरैजसो पर नै रहे । राजधानी काठमाडौंदेखि अधिकांश जिल्लाका सरकारी कार्यालयहरु आन्दोलनकारीको नियन्त्रणमा आए । यसैको दबाबस्वरुप राजा चुनावको मिति घोषणा गर्न वाध्य भए ।
राजनीतिक सक्रियता, सामाजिक जागरुकता अनि सांगठनिक क्षमताका कारण गोवद्र्धन शर्मा त्यतिबेला उम्मेदवारको दाबेदार हुने नै भए । तर पार्टीले उनलाई पश्चिम नेपालका चुनाव क्षेत्रहरुमा पार्टीले कसलाई उम्मेवार बनाउँदा उपयुक्त हुन्छ भनेर अध्ययन गर्न लगायो । पार्टीले दिएको जिम्मेवारी उनले कुशलतापूर्वक निभाए र समयमै प्रतिवेदन बुझाए । उनी आफूले टिकट नपाए पनि साथीहरुलाई चुनाव जिताउन लागीपरे ।
चुनावका समयमा उनलाई पार्टीले उम्मेदवार चयनको जिम्मा दिएर कास्की ९९ नम्बर क्षेत्र र लमजुङ १०० र १०१ क्षेत्रबाट प्रतिनिधि सभाका लागि केन्द्रबाट रिटर्निङ अफिसर बनाएर खटाएको थियो । उनले पछि तनहुँ १०३ नम्बर क्षेत्रको निर्वाचनका लागि चिफ एजेन्टको जिम्मेवारी सम्हालेका थिए ।
दुई तिहाइसहितको बहुमतबाट प्रधानमन्त्री बनेका बिपी कोइरलाको दुरदर्शी विचार र विकाशबसमुखी कदमबाट तर्सिएका राजा महेन्द्रले २०१७ साल पुस १ गते सेनाको बलमा सरकार अपदस्थ गरे । संसद विघटन भयो, राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाइयो । प्रधानमन्त्री, मन्त्रीहरुमात्र होइन, कांग्रेसका नेता भनेर चिनिएका सबैजसो पक्राउ परे । जनअधिकार खोस्ने राजाको उक्त कदमबाट गोवद्र्धन पनि रुष्ट हुने नै भए । अरु साथीहरुसँग आन्दोलनमा होमिए । आन्दोलनकै क्रममा उनी पटकपटक गिरफ्तार पनि परे । प्रहरीका आँखा छल्दै उनी कलकत्ता पुगे । नेपालबाट भागेर भारत पुगेका कांग्रेसीहरुको बैठक २०१७ साल माघ १२ मा पटनामा बस्यो । त्यही बैठकले महेन्द्रको निरंकुशताको विरुद्धमा सशस्त्र क्रान्तिको निर्णय ग¥यो । जुन क्रान्तिको जिम्मा सुवर्ण समशेरले पाएका थिए ।
गोवद्र्धन क्रान्ति सञ्चालनको जिम्मेवारी लिएर स्वदेश फर्के । भूमिगतरुपमै पार्टीका गतिविधि चलाइरहेका बेला उनी पक्राउ पनि परे । साथीहरुले उनलाई प्रहरीको घेराबाट मुक्त ग¥यो । सशस्त्र क्रान्तिकै क्रममा उनले कतिपय साथीहरु मारिए । कसैलाई जिउँदै खाल्डोमा त कसैलाई टाउको काटेर अनि कसैलाई जेल सार्ने बहानमा गोली हानियो । तर पनि गोवद्र्धन अविचलितरुपमा संघर्षमा जुटिरहे ।
प्रहरीले पक्राउ गरी पोखरा जेलमा लैजाने क्रममा उनी क्यामिन पाथ्राको जंगलबाट भाग्न सफल भएका थिए । त्यतिबेला उनलाई पक्राउ गर्नेका लागि १५ हजार रुपैयाँ इनाम र सुब्बा वा इन्सपेक्टरको दर्जा दिने भनेर प्रचार गरिएको थियो ।
तत्कालीन अवस्थामा सशस्त्र क्रान्ति उपयुक्त नभएको भन्दै त्यसलाई रोक्नुपर्छ भन्ने आवाज उठ्न थाल्यो । देशभित्र संघर्षमा रहेका सबैलाई, २०१८ को अन्त्यमा कलकत्ता बोलाइयो । त्यतिबेला कलकत्तालाई नै कांग्रेसको हेडक्वाटर थियो । विसं २०१९ को सुरुमा कलकत्तामा भएको सम्मेलनले नेपालमा सशस्त्र क्रान्ति रोक्ने प्रस्ताव ग¥यो । गोवद्र्धन शर्मासहित धेरै सहभागी सशस्त्र संघर्ष रोक्नु हुन्न भन्ने पक्षमा थिए ।
त्यतिबेला सुवर्ण शमशेरले भनेका थिए– को को क्रान्तिको पक्षमा हुनुहुन्छ, हात उठाउनुहोस् । सम्मेलनमा थोरै हात उठेका देखेर गोवद्र्धन शर्माले आफ्ना दुबै हात उठाए । सुवर्णले भनेका थिए– गोवद्र्धनजी, तपाईंका यी दुई हातसँगै छिटै हजारौँ हातहरु उठ्नेछन् । हाम्रो सशस्त्र संघर्षले देशमा प्रजातन्त्रको स्थापना गराई छाड्नेछ । अहिले म आफूलाई बलिदान गर्ने साथीहरूलाई सम्मानका श्रद्धाञ्जली अर्पण गर्दछु र तपाईंहरू जस्ता निष्ठावान् साथीहरूको सह्राना गर्दछु ।
नेपाली कांग्रेसको साधारण सदस्यबाट सुरु भएको राजनीतिक यात्राका क्रममा उनी तनहुँ जिल्लाको सभापति भए, प्रवासमा पश्चिम ३ नम्बर जिल्ला इन्चार्ज र स्टेन्डिङ कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहे । आन्दोलनमा लागेकै कारण सर्वश्वहरणमा परेका उनी १० वर्षभन्दा बढी निर्वासनमा रहनुपर्यो । भारतमा रहेका बेला त्यहाँ कार्यरत दरवान, चौकीदार र अरु काममा लागेका नेपालीहरूलाई संगठित गरेर उनले नेपाली लोकसेवक समिति गठन गरेका थिए । आम माफीपछि विसं २०२५ मा उनी स्वदेश फर्के । त्यसबेला उनका आँखा कमजोर भइसकेका थिए । एउटा आँखाको दृष्टि गुमेकै कारण उनी अधिकांश ठाउँमा कालो चस्मामा देखिन्थे । अपरेसनमा सफल नभएपछि पछिल्लो समय उनकै दुवै आँखाको ज्योति गुमाउनुपर्यो ।
१९७१ कात्तिक १६ मा जन्मेका गोवद्र्धनको निधन २०४६ वैशाख ९ मा भएको हो । उनका ४ छोरा र २ छोरी छन् । जेठा छोरा रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन् । जिल्ला विकास समिति तनहुँका पूर्व सभापति भइसकेका रामचन्द्रले नेपाली काँग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरे । माइला छोरा कृष्णचन्द्र नेपाली पोखरेल अहिले गण्डकी प्रदेशको मुख्यमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य छन् । साइँला छोरा डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने कान्छा छोरा सुवासचन्द्र हुन् । २ छोरी सत्यम्वदा र प्रियम्वदा छन् ।
घरमुली राजनीतिमा लागेर हिँड्ने । घरमा ससना छोराछोरी । उनीहरुको लालनपालनका लागि पत्नी द्रौपदाले ठूलै कहर काट्नु प¥यो । गोवद्र्धन शर्माले लेखेको मेरो जीवन यात्रा पुस्तकमा पत्नीसँगको प्रसंग यसरी उल्लेख गरेका छन् ( लामो समयसम्मको घरको सबै व्यवहार र ससाना छोराछोरीको भरणपोषणको समेत झैझमेला व्यहोरेर घर धान्नुपर्दा र म धेरै साथीको साथ यदाकदा घर आउँदा मेरी श्रीमती द्रौपदा मलाई भन्थिन्, कि मैले कहिँ हिँड्न नपाउने ? केही देख्नसुन्न नपाउने ? मैले उत्तर दिन्थें, तिमीहरुले देखेका छौं सुन्तलाको बोट यहाँको यहिँ बसिरहन्छ । त्यसमा फलेका सुन्तलाको दाना त्रिवेणी, काठमाडौं इत्यादि सहरमा पुग्छन् । यस्तैमा मैले एकपटक कलकत्ता, बम्बै घुम्न लैजाने छु भनेको थिएँ ।
२०१४ साल जेठ ७ गते अघिपछि झैं म जिल्ला भ्रमण गरेर घर आउँदा छोरी सत्यम्वदाको जन्म भएको रहेछ । राधारामको घरभित्र म पस्नासाथ ३ दिन भएकी छोरी सत्यम्वदालाई दुई हातले उचालेर यी बम्बै भनेर मेरी श्रीमतीले छोरी देखाइन् । उनको भनाइको तात्पर्य केटाकेटी हुर्किनासाथ एकपटक परदेश भ्रमण गर्ने भनेको फेरि काखमा बच्ची भइन् भन्ने संकेत हो । यसै प्रसंगमा खुब हाँसो भयो ।
विसं २०१८ सालमा सरकारले गोवद्र्धन शर्माको सर्वश्वहरण ग¥यो । सम्पति नै चलाउन नपाएपछि परिवारमा विचल्ली थपियो । माइला छोरा कृष्णचन्द्र र साइँला छोरा जगदीशचन्द्रको व्रतबन्ध रोकियो । पति घरमा आउनेवित्तिकै अड्डामा खबर गर्ने कागज गरेकी थिइन् द्रौपदाले । त्यसैबीचमा कान्छा छोरा सुवासको जन्म भयो । पतिले तलाईं नभेटेको भए कसरी छोराको जन्म भयो भनेर प्रहरीले निकै दुख दियो ।
गोवद्र्धन शर्माले गाउँगाउँमा पुगेर त्रिखण्डी, पाँचखण्डीको साटो अधियाँ प्रथा सुरु गर्न लगाए । यसै गरिखाने वर्गलाई राहत भयो । जिम्मुवाल, मुखिया, ठूलाठालुले लिने सघाउ, सरकारी झारा, बेठ, बेगारी, घिउ खाने, ब्याजको स्याज लिने र शून्य थपेर निरक्षर जनतालाई जाली तमसुक बनाइ ठग्नेहरुका विरुछ उनी खुलेरै लागे ।
छोरीचेलीलाई पढाउने, छोइछिटो हटाउने अभियान पनि उनले थाले । अंग्रेजी समेतको पढाइ हुनेगरी तनहुँसुरको घरमपानीमा विसं २००९ मै उनले इन्द्रवदन मिडिल स्कुल स्थापना गरे । जहाँ दलितका छोराछोरीसमेत एउटै बेन्चमा बसेर पढ्न माहोल बनाइएको थियो ।
दलिहरुको बाक्लो बस्ती भएको राधाराम गाउँमा हरिजन संघ खोलेर नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा स्थापित गराए गोवद्र्धन शर्माले । जातीय छुवाछुत, भेदभावविरुद्ध जनचेतना फैलाउन उनी उत्प्रेरक बने । आफैले दलितको हातबाट पानी खाएर कुरिति विरुद्धको अभियान छेडेका उनी र उनको परिवार त्यहि कारण लामो समय आफन्त र गाउँलेबाट बहिस्कृत हुनुपरेको थियो ।
सानै उमेरमा बिहे गरेर विधवा भएकै कारण जीवनभर एकल रहनुपर्ने सामाजिक मान्यतालाई चिर्दै महिलाहरुले इच्छा अनुसार बिहे गर्ने अभियान उनले सुरु गरे । उनकै सक्रियतामा नेपाली कांग्रेसकै एक कार्यकर्ताको बिहे बालविधवासँग गराइएको थियो ।
धेरैपटक मृत्युको मुखमा पुगेर फर्केका व्यक्ति हुन् गोवद्र्धन । पहिलो त आँठेबाटै बच्न सफल भए । चुलोको छेउमा हजुर आमा सुताउँदा पल्टिँदै आगोमा परेर उनका गोडा पोलिएका थिए । मादी र कलेस्तीको दोभानमा गाउँलेहरु श्राद्ध गर्न जाँदा खेल्ने क्रममा उनलाई खोलाले बगायो । संयोगले उनी धँयेराको बुटो समाउन सफल भए र बाँचे । एकपटक उनी मामाघर श्याम्घा गएका बेला घोडा चढेका थिए । डोकामा मासु बोकेर आएको मानिस देखेर घोडा चम्किएपछि उनी लडे । देब्रे गोडा घोडाको रिकाबीमा अल्झियो । घोडा भाग्दा उनी पनि बेस्सरी लतारिए । कस्सो कान्छा मामा लेखनाथ न्यौपानले देखेछन् र दौडेर गएर भान्जालाई बचाए । बन्दीपुर कब्जा गर्ने बेला होस् या विभिन्न चरणका आन्दोलनमा उनी ज्यान जोगाउन सफल भए ।
समाज र राष्ट्रका लागि यतिधेरै योगदान गर्नकै लागि उनको जीवन समर्पित रह्यो । उनको स्मृतिमा परिवारको अग्रसरतामा गोवद्र्धन शर्मा मेमोरियल ट्रस्ट स्थापना गरिएको छ । पोखरेलफाँटमा रहेको पुख्यौली सम्पति परिवारजनले ट्रस्टकै नाममा हस्तान्तरण गरेका छन् ।








सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया