मुक्ति समाज कास्की सम्मेलन भोलि

पोखरा ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी कास्कीले सातौं जिल्ला सम्मेलन गर्न लागेको छ । ‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ आगामी असोज ३ गते सम्मेलन गर्न लागेको समाजका केन्द्रीय सदस्य तथा कास्कीका अध्यक्ष दामबहादुर विश्वकर्माले जानकारी दिए ।
सम्मेलन गर्न विभिन्न १३ उपसमिति गरिएको छ । सम्मेलनमा ३३ प्रतिशत महिलासहित ५१ जनाको आयोजक समिति, पोखरा महानगर, हरेक पालिका समिति र एकता प्रक्रियाबाट प्रतिनिधि छनोट हुने व्यवस्था छ । उनले सम्मेलनमा ४ सय ५६ प्रतिनिधिले भाग लिने जानकारी दिए । मुक्ति समाजले केन्द्रीय कमिटीको काठमाडाैंमा भएको छैटौं राष्ट्रिय सम्मेलनपछि देशव्यापी रुपमा संगठन विस्तार तथा सुदृढीकरण गर्ने योजना बनाएको छ ।
‘जातीय विभेद तथा छुवाछुतको घटना नहटेका कारण त्यसको विरुद्ध राष्ट्रिय आन्दोलनअघि बढाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘विकास र समृद्धिका लागि राष्ट्रिय मुद्दालाई विभेदरहित समतामूलक समाज निर्माणमा ध्यान दिनु परेको छ ।’ उनले आधारभूत तहका जनताले घर आँगनमा सबै खालको विभेदको सामना गर्नु परेको उल्लेख गरे ।
समतामूलक तथा समावेसी प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै विश्वकर्माले सामूहिक र संस्थागत प्रयासबाट समतामूलक राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा मुक्ति समाज कास्की सहसचिव बलराम लाम्गादे विश्वकर्मा, सम्मेलन प्रचारप्रसार उपसमिति संयोजक किसान सेवा परियार र रोहित नेपालीले २०४५ सालमा स्थापना भएको मुक्ति समाजले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणमा काम गरेको बताए ।
तपाईको प्रतिक्रिया