प्रदेश महिला भलिबलमा म्याग्दीको बाहुल्य

समाधान संवाददाता २०७९ असोज ३ गते ११:१५

पोखरा ।
गण्डकीमा असोज २८ गतेबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशले भलिबलतर्फ महिला र पुरुष टोली घोषणा गरेको छ । गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले भलिबलतर्फ अरुणा शाहीको कप्तानीमा महिला टोली र हरि पाण्डेको कप्तानीमा पुरुष १२ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषणा गरिएको महिला टोलीमा म्याग्दी जिल्लाको बाहुल्य छ । म्याग्दी प्रदेश स्तरीय छनोटमा अपराजित रहँदै विजयी बनेको थियो । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीको नेतृत्वले रहेको टिमले प्रतियोगिताभर नै दरिलो प्रदर्शन गर्‍यो । कप्तान अरुणाको आगमनसँगै प्रदेश स्तरीय खेलमा म्याग्दीले शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । म्याग्दी तत्कालीन पश्चिमाञ्चल तथा सातौं र आठौं राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय प्रतियोगितामा अरुणाकै कप्तानीमा लगातार च्याम्पियन बनेको छ ।

टोलीमा कप्तान अरुणा शाहीसहित ५ जना छन् । म्याग्दीका रेविना घर्ती मगर, सस्मिता पुन, पवित्रा श्रीपाली र मनिषा तिलिजा पुन छन् । टोलीमा कास्कीका ३ जना ममता डगौरा, गंगा गुरुङ र सम्पदा गुरुङ छन् । पर्वतका २ जना, स्याङ्जा र बागलुङका १/१ जना टोलीमा छन् । पर्वतका रिमा कुँवर र प्रतीक्षा सेन ठकुरी, स्याङ्जाकी साइन थापा र बागलुङ हिमाली रोका मगर टिममा समावेश छन् ।

Advertisement

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपूर्ण, भारतसँगको मैत्रीपूर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभिसी सेन्ट्रल जोन र १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० वर्षपछि अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता उपाधि जितेपछि महिला भलिबलको सफल कप्तानको रुपमा समेत उनलाई लिने गरिन्छ ।

नवौं खेलकुदका लागि पुरुष टोलीमा कप्तान हरि पाण्डेसहित रवि केसी, किरण गुरौं, घनश्याम चौधरी, सन्तोष थापा मगर, सञ्जय परियार, दीपक मल्ल ठकुरी, हिमाल सुनारी, प्रेम बहादुर कुमाल, सुजन चोखाल, सुवास कुँवर र राजन थापा छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ । महिला भलिबल म्याग्दीको बेनीस्थित म्याग्दी खेल मैदानमा असोज २७ देखि कात्तिक २ गतेसम्म र पुरुष भलिबल पोखरा रंगशालामा असोज २८ देखि कात्तिक ३ सम्म हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया