पोखरा १५ मा अन्तर विद्यालय दौड प्रतियोगिता

समाधान संवाददाता २०७९ असोज ३ गते १६:५८

पोखरा ।
संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं १५ ले अन्तर विद्यालय सडक दौड प्रतियोगिता गरेको छ । ‘शान्ति र स्थायित्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सोमबार आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका झन्डै २५० जना विद्यार्थीहरूको सहभागिता थियो ।

प्रतियोगितामा छात्रा तर्फ श्री सिद्ध माविकी श्रेया मगर प्रथम, सिद्ध माविकै सोनीका परियार द्धितिय, भ्यू प्वाइन्ट स्कुलकी सजिना सुनार तृतीय, सिद्ध माविकी रचना चौधरी चौथो बनीन् भने केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गरिन् ।

छात्र तर्फ हिमालय लाईफ नेपालका राज परियार प्रथम, श्री सिद्ध माविका विवश रेग्मी द्धितिय, हिमालय लाइफका विजय विक तृतीय, शुभ तारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध मा.वि.का विवेक गुरुङले सान्त्वना प्राप्त गरे ।

Advertisement

विजयी प्रतियोगीले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ३–३ हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले ७ औँ संविधान दिवसको शुभकामना दिँदै धेरै पहिलेदेखि धेरै संविधान बने पनि ती संविधान जनताको पक्षमा नरहेको र विभेदकारी रहेको कारण जनताको सङ्घर्ष र बलिदानी पश्चात् नेपालको संविधान २०७२ ल्याउन सफल भएको बताइन् । उनले २०७२ सालको संविधानको जगमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहेको उनले बताइन् । गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आज ३ किलो मिटर दौडमा सहभागी भएका खेलाडी भोली १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेतर्फ जोड दिइन् ।

Advertisement

कार्यक्रमलाई शुभकामना दिँदै वडा नं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए । उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडा नं १५ मा रहेका विद्यालय र विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ सडक दौड प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्यक्रमका संयोजक तथा पोखरा १५ का सदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बिच आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्न चाहेको प्रतिक्रिया दिए । उनले संविधान देशको कानुन रहेको भन्दै यसको परिपालना गर्नु सबैको कर्तव्य रहेको भन्दै आजको संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितालाई सफल पार्न खटिने सम्पूर्णलाई धन्यवाद दिए ।

कार्यक्रममा वडा नं १५ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य वलराम पौडेल, सशस्त्र मुख्यालय लामापाटनका प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, पोखरा–१४ का वडा अध्यक्ष वोधराज कार्की, पोखरा १७ कि वडा अध्यक्ष राधिका योगी शाही, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, रेडक्रस पोखरा १५ का सभापति, एथलेटिक्स संघका प्रतिनिधि, स्काउटका प्रतिनिधि लगायत टोल विकास तथा आमा समुहको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया