जनप्रतिनिधि फेरिएसँगै सर्‍यो स्वास्थ्य केन्द्र

रिखिराम जिसी २०७९ असोज ८ गते १२:१०

पोखरा ।

नेपाल सरकारले ०७६ मा १ वडा १ आधारभूत स्वास्थ्य सेवा केन्द्रको अवधारणा ल्यायो । सोही बमोजिम आर्थिक वर्ष २०७६÷७७ मा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि बजेट विनियोजन भयो ।
कास्कीको मादी गाउँपालिका ४ मा पनि सोही आवमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि ४६ लाख बजेट विनियोजन भयो । त्यहाँ जग्गा खरिद तथा छनोटको प्रक्रिया सुरु भयो । वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३ जग्गादाताबाट साढे २ रोपनी जग्गा निःशुल्क उपलब्ध भयो । रामजी सापकोटा, शारदा सापकोटा र पदमलाल सापकोटाले जग्गा निशुल्क दिएका थिए ।
जग्गा उपलब्ध भएसँगै त्यहाँसम्म मोटरबाटो निर्माण गरियो । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न उपभोक्ता समितिलाई जिम्मा दियो । उपभोक्तामार्फत् ३८ लाखमा काम सम्पन्न भएको मादी ४ का तत्कालीन वडाध्यक्ष सत्यराज सापकोटा बताउँछन् । उपभोक्ता समितिले २०७६ को अन्त्यतिरै गाउँपालिकालाई भवन हस्तान्तरण ग¥यो । सोही वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रको सेवा प्रारम्भ भयो ।
तर, २ वर्षसम्म सेवा प्रवाह गरेको आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ जनप्रतिनिधिसँगै सार्ने निर्णय गरिएको पूर्ववडाध्यक्ष सापकोटाले सुनाए । वडामा आएका नयाँ जनप्रतिनिधिले सेवा केन्द्र सार्न सिफारिस गरे । वडाको सिफारिस तेस्रो गाउँकार्यपालिका बैठकले पनि सहजै स्वीकृत ग¥यो । अहिले आधारभूत स्वास्थ्य केन्द्र पुरानो ठाउँभन्दा १ सय मिटर टाढा सारिएको छ । तारकाङ सामुदायिक भवनमा अहिले आधारभूत स्वास्थ्य सेवा केन्द्र छ ।
गाउँपालिकाले आफूहरुसँग सल्लाह नगरी सेवा केन्द्र सारेको जग्गादाता रामजी सापकोटाको गुनासो छ । ‘जुन कामका लागि भनेर हामीले जग्गा दिएका हौँ । जग्गा बेचेको होइन, दान गरेको हो । अघिल्ला जनप्रतिनिधिको सल्लाह र अनुरोधमा हामी जग्गा दिएका हौँ । तर नयाँ जनप्रतिनिधि आइसकेपछि बिना सल्लाह सुरुआतमै स्वास्थ्य केन्द्र सार्नुभयो,’ उनले भने ।
स्वास्थ्य केन्द्र पुरानै ठाउँबाट सञ्चालन हुनुपर्नेमा सापकोटाले जोड दिए । ‘कि स्वास्थ्य केन्द्र त्यहीँ हुनुप¥यो । सारिन्छ भने हाम्रो त्यसमा सहमति छैन । कि हामीलाई हाम्रो जग्गा फिर्ता दिनुप¥यो । जग्गा माग्ने बेला एउटा कुरा गर्ने अनि अहिले चाहिँ अर्काे कुरा गरेर हामीलाई पेन्डुलम बनाउने काम भयो,’ सापकोटाले आक्रोश पोखे ।
अहिले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको सापकोटा सुनाउँछन् । ‘हामीले ३ वर्षअघि पुराना जनप्रतिनिधि हुँदा पालिकालाई जग्गा उपलब्ध गरायौँ । उहाँहरुले बनाउनुभो । उपयुक्त थिएन भने त्यतिखेरै उपयुक्त नहुनु पर्ने । अहिले के कारणले अनुपयुक्त भयो,’ उनले प्रश्न गरे, ‘प्रष्ट जवाफ चाहियो, त्यसका लागि अख्तियारमा उजुरी गरेका छौँ ।’
आफूखुसी गर्ने भए जग्गा फिर्ता गर्न उनले आग्रह गरे । ‘ठीक छ आफूखुसी गर्ने भए हाम्रो जग्गा फिर्ता दिनुस् । घरमै लगेर सञ्चालन गर्ने भए पनि गर्नुस् भन्ने कुरा हाम्रो छ,’ उनले थपे ।
मादी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शिव सापकोटाले पहिले स्वास्थ्य सेवा केन्द्र रहेकै भवनमा स्वास्थ्य सेवा केन्द्र सारिएको जिकिर गरे । ‘पहिले तारकाङ सामुदायिक भवनमा स्वास्थ्य सेवा केन्द्र थियो । पछि कोभिडका बेला आइसोलेसन बनाउदा भवन पाइएन । नपाइएपछि त्यहाँ लगेर गाउँपालिका स्तरीय आइसोलेसन सेन्टर बनाइएपछि स्वास्थ्य सेवा केन्द्र सारिएको थियो,’ उनले भने ।
गाउँबासीकै अनुरोधमा स्वास्थ्य सेवा केन्द्र भवन सारिएको वडाध्यक्ष सापकोटाको तर्क छ । गाउँबासीबाट जुन प्रयोजनका लागि सहयोग उठाएर भवन बनाइएको थियो, त्यहीँ प्रयोजनका लागि प्रयोग गर्न गाउँबासीले आग्रह गरेको उनको भनाइ छ ।
‘हिजो व्यवहारिकताका लागि माथि सारियो । गाउँपालिकाको आइसोलेन सेन्टर बनाउनु प¥यो नि त,’ उनले भने, ‘अहिले आइसोलेसन सेन्टर छैन । सामान्य अवस्थामा आइसकेका छौँ । तल्लो भवनको तल्लो तला पूरै खाली थियो । त्यो खाली भएको हिसाबले गाउँबासीको अनुरोध सारिएको हो ।’
पहिलेको भवनभन्दा अहिलेको भवन धेरै हिसाबले पायक पर्ने स्थानमा रहेको सापकोटाले जनाए । ‘रोडसँग जोडिएको छ । एम्बुलेन्सको पहुँच छ । हरेक हिसाबले एम्बुलेन्स बाटैमा राखेर प्राथमिक उपचार गरेर त्यहाँबाट पठाम् भने पनि मिल्छ,’ उनले भने ।
पहिलेको स्वास्थ्य सेवा केन्द्र भएको भवन र अहिले सारेको भवनको दूरी १ सय मिटर छ । स्वास्थ्य केन्द्र भएको भवनमा जान असजिलो भएको र सामुदायिक भवन आइसोलेसन हटाएपछि खालि रहेको भवनमा ल्याइएको वडाध्यक्ष सापकोटाले बताए । ‘अहिले र पहिलेको भवन १ सय मिटर दुरीमा पर्छन् । तर दूरीको हिसाबले सय मिटर फरक होला तर जाने बाटो अलिकति अप्ठ्यारो छ,’ उनले भने ।
स्वास्थ्य केन्द्र सारिएपछि खाली रहेको भवनमा गाउँपालिकाकै कृषि शाखा सञ्चालन हुने वडाध्यक्ष सापकोटाले जनाए । ‘सारिएको भवन गाउँपालिकाको स्वामित्वमा छ । उक्त भवनमा गाउँपालिका स्तरीय कृषिको शाखा राख्ने निर्णय भएको छ,’ उनले भने ।

Advertisement

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया