सम्पादकीयः बेगनास रुपामा पम्प स्टोरेज र बिजुली

समाधान संवाददाता २०७९ असोज ९ गते ११:५८

फेवातालको पानीबाट ऊ जमानामै १ मेगावाट क्षमताको विद्युत निकाल्ने आयोजना बनेको थियो । त्यो आयोजना अहिले पनि चालु छ । तर बेलाबखत बन्द हुन्छ । देशकै दोस्रो ठूलो ताल फेवाबाट जम्मा १ मेगावाट बिजुली निस्किएको छ । तर अब देशको तेस्रो ठूलो ताल बेगनासको पानीबाट १ सय ५० मेगावाट बिजुली निकाल्ने योजना सार्वजनिक भएको छ । यो सुखद समाचार हो ।

यसै पनि बेगनास तालको पानी केही सिँचाइ र केही माछापालनमा सदुपयोग भएको छ । नत्र खासै उपयोगमा आएको छैन । केवल सौन्दर्यमात्रै बनेको छ ताल । बेगानास तालको पानी रुपातालमा खसाउन र फेरि उही पानी मोटरले तानेर बेगनासमै फिर्ता ल्याउने योजना छ । रुपामा पानी खसाउँदा बिजुली निकाल्ने योजनाको उद्देश्य छ । यस्तो पम्प स्टोरेज तरिकाका विद्युत आयोजनाहरु नेपालमा अन्त छैनन् । विदेशमा धेरै छन् । एउटै पानीको प्रयोग गरेर बिजुली निकाल्ने नौलो प्रक्रियाबाट पानी बगेर खेर जान पाउँदैन । पानीको भरपुर सदुपयोग हुन्छ । यस्तो आयोजनाको फाइदा नै त्यो हो ।

प्रारम्भिक अध्ययन भएको र अब विस्तृत अध्ययन हुन बाँकी भए पनि लगभग २० अर्ब लाग्ने अनुमान गरिएको आयोजना विद्युत प्राधिकरण आफैले बनाउने भन्ने छ । सरकारी स्वामित्वको प्राधिकरणबाट यस्तो आयोजना अघि बढ्नु पनि सुखद नै हो । यसै पनि बेगनास ताल आज जे छ, त्यो २०४५ भन्दाअघि यो आकारमा थिएन । बाँध बाँधेर ताल तेब्बर ठूलो बनाइयो । स्थानीयका खेतहरु अधिग्रहण गरियो । राज्यको लगानी भयो । सिँचाइ र माछापालनबाट मात्रै राज्यको त्यो ठूलो ताल र लगानीबाट खास प्रतिफल प्राप्त भएको छैन । झन् अब रुपातालमा पनि बाँध बाँधेर ताललाई अझै ठूलो बनाइँदैछ ।

Advertisement

स्थानीयका जमिन अधिग्रहण भइसके । बाँध लगाएर ताल ठूलो बनाउनचाहिँ बाँकी छ । त्यो पानीको पनि पनि सदुपयोग हुन जरुरी छ । दुवै तालहरुमा न पर्यटक पुर्‍याउन सकिएको छ न अरु सदुपयोग । पक्कै पनि पम्प स्टोरेज प्रणालीको बिजुली आयोजनाले यी दुवै तालको उपयोगिता सिद्ध हुनेछ । बिजुली उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फको बाटोमा यी तालको पानीले पनि योगदान पुर्‍याउने छन् । स्थानीयले पनि यस्ता आयोजनालाई सहयोग गर्न जरुरी छ । प्राधिकरण यस्ता आयोजनालाई द्रुतगतिमा अगाडि बढाएर छिटो साकार पार्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया