२ दशकपछि मल्लाज जाेड्ने सडक स्तरोन्नति

समाधान संवाददाता २०७५ पुष ३० गते ९:२६


रामकृष्ण लामिछाने
पर्वत

जलजला गाउँपालिका ४ स्थित १ ग्रामीण सडक ट्र्याक खुलेकोे २ दशकपछि बल्ल स्तरोन्नतिको काम सुरु भएको छ । बेनी–मालढुंगा सडकको मोहनचोकदेखि फड्केढुंगा हुँदै मल्लाज जोड्ने करिब ५ किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो ।

ट्र्याक खुलेको २० वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नति गर्न सुरु गरिएको हो । २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा खुलेको ट्र्याकलाई जलजला गाउँपालिकाले स्तरोन्नति गर्न लागेको वडा अध्यक्ष भीष्म मल्लले जानकारी दिए । फराकिलो बनाउने, ग्याबिन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्रे गरिने मल्लले जानकारी दिए ।

गत वर्ष विनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई यस वर्ष ढलान, नाली र पर्खाल निर्माण गरी स्तरोन्नतिको काम पूरा गर्न लागिएको हो ।

Advertisement

सडक प्रवेश बिन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतबीचको २ सय ८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताए । ८ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । गत वर्ष सडक विस्तारपछि जोमिखयुक्त भएको ठाउँमा ४५ मिटर पक्की पर्खाल पनि निर्माण गर्न लागिएको छ । २ सय थान ग्याबिन पर्खाल निर्माण गर्ने लक्ष्य अनुसार ८९ थान ग्याबिन पर्खाल निर्माण भइसकेको छ ।

सडक स्तरोन्नतिका लागि यस वर्ष गाउँपालिकाले ९९ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष मल्लले बताए । गत वर्ष नयाँ ट्र्याक खोलेर घुमाउरो सडकको १ किलोमिटर दूरी छोट्याइएको छ । हाल साढे ३ मिटरको सडक कम्तीमा ८ मिटर फराकिलो बनाइने भएको छ ।

Advertisement

मोहनचोक मल्लाज सडक २ दशकदेखि सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । धेरै वडालाई समेट्ने र पुरानो यस सडकलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेर क्रमागत योजनामा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले बताए ।

सडकको डिपीआर बनाएर अनुमानित लागत तयार पारेर बजेटको स्रोत व्यवस्थापन गरिने उनले बताए । यो आयोजनाबाट जलजला गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँटका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दा लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया