बानी सुधारे लाग्दैन डेंगु

रिखिराम जिसी २०७९ असोज १२ गते १०:४७

रिखिराम जिसी ।

पोखरा ।
गण्डकी प्रदेशमा लामखुट्टेले टोकेर फैलने संक्रामक रोग डेंगुका बिरामी दिनानुदिन बढिरहेका छन् । प्रदेशमा डंगु संक्रमितको संख्या १ हजार नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशका १० जिल्लामा ९ सय १६ जना डेंगुका बिरामी फेला परेका छन् ।

सबैभन्दा धेरै कास्कीमा ३ सय २१ जना डेंगुका बिरामी फेला पर्दा मुस्ताङमा अहिलेसम्म डेंगी पुष्टि भएको छैन । गोरखामा १ सय २२ र तनहुँमा १ सय २१ जना डेंगुका बिरामी फेला परेका छन् । पर्वतमा ९२, स्याङ्जामा ८०, लमजुङमा ६४, बागलुङमा ६२, नवलपुरमा २८, म्याग्दीमा २४ र मनाङमा २ जना डेंगुका बिरामी भेटिएका छन् ।

Advertisement

गोरखामा २ डेंगुका बिरामीको मृत्यु भएका छ । मृत्यु हुनेमा गोरखा नगरपालिकाकी ज्योति तामाङ र पालुङटार नगरपालिकाकी सुशीला अधिकारी रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

एडिस एजिस्टाई नामक लामखुट्टेले कुनै संक्रमितलाई टोकेपछि यो रोग लाग्छ । एक पटक संक्रमित भएको लामखुट्टे कहिल्यै निको नहुने हुँदा त्यस्ता लामखुट्टेको टोकाइबाट जोगिनु नै उपयुक्त हुन्छ ।

Advertisement

डेंगुको ठ्याक्कै औषधी छैन
डा किरण रेग्मी
डेंगु भनेको एक हिसाबले भाइरल ज्वरो अथवा भाइरसका कारणले हुने हो । यसलाई हामी एडिस एजिस्टाइ भाइरस भन्छौँ । यो चाहिँ लामखुट्टेबाट सर्ने रोग हो । यसले हामीलाई दिनको उज्यालोमा टोक्छ । बेलुका झिसमिसे साँझसाँझ पर्ने बेला टोक्छ । यसको पेटमा ससाना धर्साहरु देखिन्छन् । आज टोकेर आजै लक्षण आइहाल्छ भन्ने हुँदैन । लामखुट्टेले टोकिसकेपछि ४/७ दिनसम्म ज्वरो आउँछ । लामखुट्टेले टोक्दा त्यससँग भएका लक्षण हामीलाई सर्ने हुन्छ । त्यसले गर्दा हामीमा लक्षणहरु देखिन्छन् ।

एउटा लक्षण हुन्छ, टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, खाना खान मन नलाग्ने । यी सामान्य किसिमका लक्षण भए । ज्वरोचाहिँ कस्तो गरेर आउछ भने एकदमै धेरै १०३ १०४ सम्म पुग्न सक्छ । ज्वरो यति धेरै हुन्छ भने हड्डी टुट्दाखेरि जस्तो दुख्छ । यो चाहिँ सामान्य किसिमको डेंगुमा हुने भयो । कहिलेकाहिँ जटिल खालको डेंगु हुन्छ ।

पेट फुल्ने, स्वास फेर्न गाह्रो हुने, पखाला लागिराख्ने हुन सक्छ । यस्तो खालको लक्षण छ भने जटिल खालको डेंगु हो । अर्काे अवस्थालाई क्रिटिकल डेंगु भन्छन् । यो भनेको सबैभन्दा जटिल हुन्छ । यसमा शरीरका अन्य अन्य अंगलाई पनि असर हुन्छ । मुटु, कलेजो, फोक्सो, नाक, मुख, गिजाबाट रगत बग्ने भयो भने त्यसलाई क्रिटिकल डेंगु भन्छौँ ।

सामान्यता यो रोगचाहिँ आफैं सञ्चो हुने रोग हो । यसलाई कसरी औषधी उपचार गर्छाै भने यसले गरेका समस्या टाउको दुख्ने, खाना मन नलाग्ने, जिउ दुख्नेलाई हामी सिस्टोम्याटिक म्यानेजमेन्ट भन्छौँ । त्यो भनेको बिरामीलाई जे समस्या छ, त्यहीँको उपचार गर्ने । ठ्याक्कै डेंगुको औषधी छैन ।

धेरैजसो बिरामीमा के हुन्छ भने डेंगु लागेका लगभग ९९ प्रतिशत बिरामी सञ्चो हुन्छन् । १ प्रतिशत जतिलाई यसले क्रिटिकल बनाउँछ । क्रिटिकल भएका बिरामीलाई उपचार गरिएन भने ज्यान जान सक्छ । क्रिटिकल भएका बिरामीमध्ये १०÷२० प्रतिशतको ज्यान जान सक्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्‍यो । लामखुट्टेलाई टोक्न नदिनका लागि झुल प्रयोग गर्ने, फुल कपडा लगाउने गर्नुपर्छ । हाफ कपडा लगाउनु पर्‍यो भने पनि महलमहरु लगाउने । लामखुट्टे रहने पानीमा हो, पानी जम्मा हुन दिनु भएन । यसले सफा पानीमा मात्र बच्चा पार्छ । सफा पानी जम्न दिनै भएन । धेरै ठाउँमा खुला प्लास्टिकका भाडा देखिन्छन् । त्यसरी राख्नु भएन । राख्नुपर्‍यो भने ढकन लगाएर राख्ने । यसको भ्याक्सिन तयार भइसकेका छैनन्, त्यसैले रोग लाग्न नदिनु नै यसबाट बाच्ने उत्तम उपाय हो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया