चर्को व्याजले पर्यटनमा पलायनको डर

समाधान संवाददाता २०७९ असोज १३ गते १७:४९

पोखरा ।
ऋणको चर्को ब्याजले व्यवसाय धान्न नसक्ने भन्दै एक अंकमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा संकट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै एक अंकको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय वित्तीय संस्थाले ब्याज बढाउँदा व्यवसायीमा थप आर्थिक संकट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पु¥याउन लागेको दाबी गरे । निकै ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारलाई लगानीमैत्री वातावरण सृजना गरेर व्यवसायीलाई सहुलियत रुपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उनले अनुरोध गरे । श्रेष्ठले आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्री नीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गरे । यस क्षेत्रका समस्यालाई यथासक्य सम्बोधन गर्न उनको माग छ ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । उनले महिलाको आर्थिक सशक्तीकरणका लागि संघले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

Advertisement

ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औंल्याइन् । पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उनको भनाइ छ ।

संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कुनै कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्यांकन गरेर फोरमहरु उपलब्ध गराउनु पर्ने धारणा राखिन् । पाण्डेले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको जनाइन् ।

Advertisement

कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष हरिराम अधिकारी, सल्लाहकार दुर्गा ढकाल, पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, ओटेफ कोषाध्यक्ष लक्ष्मी लामिछाने, कार्यक्रम संयोजक माया सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया