पाेखरामा अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

समाधान संवाददाता २०७९ असोज २० गते २०:४०


पोखरा ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि कास्की जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमकाबिच कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खरेलले राज्यले विश्वास गरेर दायित्व प्रदान गरेकोमा खुशी व्यक्त गर्दै सबैको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सबैको अनुभवका कारण कास्की जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्नहुने उहाँको विश्वास थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी के.सी.ले निर्वाचनलाई शान्तिपूर्ण ढंगल सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व रहेको बताउनुभयो । निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरु आम सर्वसाधरणले हेर्दाखेरी स्वतन्त्र, निष्पक्ष, धाधलीरहित भयो भन्ने विश्वसनियता हासिल गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

Advertisement

प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बिहिबार गण्डकी प्रदेश अन्तर्गतका ४ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो । विभिन्न निकायसँग समन्वय सहकार्य गरेर निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको उहाँको भनाई थियो ।
औपचारिका कार्यक्रमको सञ्चालन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गर्नुभएको थियो ।

कास्कीको तीनवटा क्षेत्र अन्र्तगत कास्की जिल्ला क्षेत्र नम्बर १ को लागि पशु सेवा निर्देशनालय परिसर रामघाट पोखरा, क्षेत्र नम्बर २ को लागि पोखरा सभागृह हल परिसर र क्षेत्र नम्बर ३ को लागि जिल्ला समन्वय समिति कास्कीको परिसर शहिदचोकमा कार्यालय स्थापना भएको छ ।

Advertisement

निर्वाचन अन्तर्गत असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम हुँदैछ । मनोनयन दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

तपाईको प्रतिक्रिया