चितवनमा एक हजार भन्दा बढी डेंगु सङ्क्रमित

चितवन ।
जिल्लामा एक हजार २६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् । दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार डेंगुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ ।
जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु सङ्क्रमण देखिएको कार्यालयलको तथ्यांकले देखाएको छ ।
यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेंगु देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया