सम्पादकीयः डेंगु नियन्त्रणमा ध्यान देऊ

समाधान संवाददाता २०७९ असोज २५ गते ११:५९

नेपालमा डेंगु संक्रमण दर निरन्तर रुपमा उकालो लागेको छ । हालसम्म मुस्ताङबाहेक देशभरका ७६ जिल्लामा फैलिएको डेंगु महामारी उत्कर्षतिर लम्केको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार देशभर साउनयता ३३ हजार ९ सय ७५ जनामा डेंगु संक्रमण भइसकेको छ । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

Advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी महामारी घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि मन्त्रालयलाई आग्रह गरेको छ । दसैंको अवधीमा काठमाडौंबाट ठूलो संख्यामा मानिस बाहिरिएकोले डेंगुको प्रकोप झन देशव्यापी बन्ने सम्भावना छ । अहिले कुल संक्रमितमध्ये ६१.७३ प्रतिशत उपत्यकामा छन् । एकैपटक ठूलो संख्यामा मानिस बाहिरिँदा उपत्यकामा संक्रमणमा कमी र बाहिरी जिल्लामा वृद्धि आउनसक्ने सम्भावना बढेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक पुष्टि भएको डेंगु अहिले निरन्तर रुपमा फैलिएको छ । एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । यो जातिको लामखुट्टले राति होइन दिउँसोमात्रै मानिसलाई टोक्छ । यो लामखुट्टे कालो र सेतो रङको हुन्छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।

डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न पर्छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको संख्यात्मक वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको टयांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

विज्ञहरूका अनुसार डेंगुको विस्तार अझ पाँच साता जान सक्ने भएकाले हरेक घर र बाहिर लामखुट्टेको फुल, लार्भा र प्युपालाई ‘सर्च एनड डिस्ट्र्रोय’ (खोजी र नष्ट) गर्नुको विकल्प छैन । आम जनमानसमा सचेतनाकै कमीले डेंगु फैलिइरहेको छ । डेंगुबाट जोगिन सर्व साधारण पहिले सजक हुनु पर्छ । मुख्य पाटो सचेतना जगाउनु हो । सरकारले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी रुपमा चलाउनु पर्छ । अस्पतालको तयारी, डेंगु जाँच गर्ने किटहरु बढाउनु पर्छ । समुदायमा भेक्टर सर्भिलेन्स र डेंगुको सबै प्रकारको अध्ययनका लागि नमुना संकलनमा ध्यान दिनु आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया