प्रमुख दलबाट उम्मेदवार महिला ८ मात्रै

गण्डकीभरका जिल्लाहरुमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमध्ये केवल ३४ मात्रै महिला छन्

प्रमिला कुँवर २०७९ असोज २६ गते १०:२१

प्रमिला कुँवर, पोखरा ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकीका ३४ महिलाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार गण्डकीमा २ सय ७१ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या भने जम्मा ३४ मात्रै छ ।

Advertisement

ठूला दलबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका महिलाको संख्या भने निकै कम छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी प्रमुख दलबाट गण्डकीमा जम्मा ८ महिलाले प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ३ र प्रदेशसभा निर्वाचनका लागि ५ जना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।

८ मध्ये नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ३/३ उम्मेदवार उठाएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १/१ उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले एकजना पनि महिलालाई प्रत्यक्षको टिकट दिएको छैन ।

  • एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ३/३ जना
  • माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १/१ जना
  • नेपाली कांग्रेसबाट शून्य


नेकपा एमालेले प्रतिनिधिसभातर्फ कास्की २ मा विद्या भट्टराई, स्याङ्जा २ मा पद्मा अर्याल र बागलुङ २ मा मञ्जु शर्मा चालिसेलाई उठाएको छ ।

नेकपा एमाले सचिव पद्मा अर्याल चुनावमा कांग्रेसका उपसभापति धनराज गुरुङसँग चुनाव लड्दै छिन् । अघिल्लो चुनावमा बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराएकी अर्यालको यो चुनावमा गुरुङसँगको भिडन्तलाई उत्सुकताका साथ हेरिएको छ ।

Advertisement

नेकपा एमालेबाट अघिल्लो संसदमा उपसभामुखका लागि लडेकी विद्या भट्टराई आगामी चुनावमा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालसँग आमनेसामने हुनेछिन् । एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । पछि उनका श्रीमान् रवीन्द्र अधिकारीको मृत्युपछि उनी राजनीतिमा पुनरागमन गरेकी थिइन् । २०७६ सालको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई हराएर उनी प्रतिनिधिसभा छिरेकी थिइन् ।

बागलुङ २ मा नेकपा एमालेले मञ्जु शर्मा चालिसेलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । उनले माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलको सामना गर्नुपर्नेछ । स्थानीय चुनावपछि चालिसे कांग्रेसबाट एमाले प्रवेश गरेकी थिइन् । गलकोट नगरपालिकाको मेयरमा स्वतन्त्र उठेर पराजित उनले एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएकी हुन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका तर्फबाट मीना गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । गुरुङ यसअघि समानुपातिकबाट गण्डकी प्रदेशको सांसद बनेकी थिइन् । चुनावमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापा उनको प्रतिस्पर्धी हुन् ।

प्रदेश सभा सदस्यका लागि नवलपुर २ (क) बाट पद्मा जिसी श्रेष्ठले उम्मेदवारी दिएकी छन् । उनी एमालेका तर्फबाट चुनावी मैदानमा उत्रेकी हुन् । स्याङ्जा १ (क) मा एमालेकी उम्मेदवार हुन्, सीता सुन्दास । जिल्ला समन्वय समिति प्रमुख भइसकेकी सुन्दास नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । यही क्षेत्रमा माओवादी केन्द्रबाट अमृता थापा मगर उम्मेदवार बनेकी छन् । २०६४ र २०७४ को चुनावमा समानुपातिक उम्मेदवार बनेकी थापा मगर अहिले भने प्रदेशसभामा प्रत्यक्ष तर्फ लड्न लागेकी हुन् ।

स्याङ्जा १ (ख)बाट नेकपा एकीकृत समाजवादीको तर्फबाट शर्मिलादेवी पौडेलले उम्मेदवारी दर्ता गराएकी छन् । यद्यपि उनले उम्मेदवारी कायम राख्छिन्/राख्दिनन् भन्ने टुङ्गो छैन । पाँच दलीय गठबन्धनबाट कांग्रेसको भागमा परेको यो क्षेत्रमा पौडेलले पनि उम्मेदवारी दिएकी हुन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन बुधबार उनले उम्मेदवारी फिर्ता लिन सक्ने पार्टीका एक नेता बताउँछन् । ‘उहाँको उम्मेदवारी परेको हो, तर कायम रहन्छ जस्तो मलाई लाग्दैन । पार्टी निर्णय पर्खिरहेका छौं,’ ती नेताले भने ।

‘राजनीतिक नेतृत्व सच्चिनुपर्छ’
मीना गुरुङ
नेपाली समाजमा अझै पनि पुरुषत्वले जरा गाडेको छ । परिवर्तनका लागि पाइला जरुरी छ । हामी त्यही पाइला नै चालिरहेका हौं । महिलालाई संविधानतः ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएपनि व्यवहारमा भने त्यस्तो छैन । यसका लागि पहिला महिलाहरुलाई नै सशक्त बनाउनुपर्छ । अवसर दिए महिलाहरु इमानका साथ काम गर्न तत्पर, जुझारु हुन्छौं । अब राजनीतिक दलहरु सच्चिनु आवश्यक छ । म पहिला समानुपातिकबाट आएँ, अहिलेको चुनावमा प्रत्यक्ष नै लड्नुपर्छ भन्ने आत्मबल थपियो । अहिले हामी महिलाको संख्या कम होला, तर गुणस्तरका हिसाबले हामी कुनै आधारमा पनि पछि छैनौं । एक धारले मात्र विकास सम्भव छैन, विकासका लागि महिला पनि समेटिनुपर्छ । महिला समेटिएको विकासमात्र दिगो र प्रभावकारी हुन्छ ।

‘ठूला दल पनि अनुदार छन्’
सीता सुन्दास
महिला पछि पर्नुमा व्यवहारगत, राजनीतिक र आर्थिक पक्ष कारक हुन् । महिला उम्मेदवार बनिसकेपछि हामी धेरै खर्च गर्न सक्दैनौं । पहिला त उम्मेदवारी पाउन नै गाह्रो, पाइसकेपछि आर्थिक पक्ष पहाडजस्तो गह्रुँगो बन्छ । राजनीतिक रुपमा अझै पनि पार्टी नेतृत्व, ठूला दल पनि अनुदार छन् । व्यवहारगत रुपमा महिलालाई संगठित गर्ने, भूमिका दिनेमा ध्यान पुगेको पनि छैन । ३३ प्रतिशत महिला अनिवार्य उठाउनुपर्छ भन्ने प्रतिबद्धता पनि छैन । भूमिका नै नदिएपछि, स्थान नै नदिएपछि हामी महिलाको हैसियत नै दह्रो हुँदैन । राजनीतिक हिसाबमा अहिले राजनीतिक संस्कार नै खस्कँदो छ । निष्ठा, नीति नै पातलिँदो छ । पदलोलुपताले पनि महिला उपस्थिति कमजोर बनाउँदै लगेको लाग्छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया