प्रधानमन्त्रीलाई महादेवको जवाफ, कारबाही भोग्न तयार छु

पोखरा ।
गठबन्धनका विरुद्ध विद्रोह गरेका नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारी कायम राखे । सत्ता गठबन्धन पैसा र पदका लागि बनेकाले आफूले बागी उम्मेदवार दिएको उनले बताए । गुरुङले आफ्नो उम्मेदवारी सत्ता गठबन्धन विरुद्ध र क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार चाहनेका लागि भएको दाबी गरे ।
‘यहाँ पैसा र पावर भएकाले मात्र टिकट पाउने प्रचलन हावी भयो । हामी जस्तो सोझो बाटो अपनाएर राजनीति गर्नेहरु सधैं पछिको पछि पर्यौं,’ उनले भने, ‘सोझा र पैसा नभएकाले पनि चुनाव लड्न सक्छन् भनेर मैले विद्रोह गरेको हुँ ।’
सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकीकृत समाजवादीको भागमा कास्की क्षेत्र नम्बर २ परेको छ । यहाँ श्रीनाथ बरालले टिकट पाएका छन् । महादेवले आफू सम्झौता गरेर उम्मेदवारी फिर्ता लिने खालको नभएको जनाए । उनले उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाको फोन आउँँदासमेत फिर्ता नलिएको दाबी गरे ।
भन्छन्, ‘प्रधानमन्त्रीज्यूले मलाई फोन गरेर उम्मेदवारी फिर्ता लिनु भन्नुभयो । मैले सिधै उहाँलाई उम्मेदवारी फिर्ता नलिने बताएँ । उहाँले फिर्ता नलिए कारबाही हुने बताउनुभएको थियो । मैले कारबाही भोग्न तयार छु । तर, उम्मेदवारी फिर्ता नलिने जवाफ दिएँ ।’
उम्मेदवारी फिर्ता लिन गठबन्धनका दल र कांग्रेस नेताले आफूलाई बारम्बार अनुरोध गरे पनि आफू चुनाव लड्ने मनस्थितिमा रहकाले चुनावमा होमिने उल्लेख गरे । ‘चन्दा उठाएर चुनाव लड्छु । आज नै मैले नयाँ खाता खोलेँ । सबै नेपालीले १० रुपैयाँसँगै भोट दिएर मलाई जिताउनुहुन्छ ।’
माओवादीका उम्मेदवार जनयुद्धकै भद्दा मजाकः अनिता
सहिद परिवारको अपमान गरेको भन्दै माओवादीका रामजीप्रसाद बराल ‘जीवन’विरुद्ध बागी बनेकी अनिता भुर्तेलले उम्मेदवारी कायम राखिन् । सहिद पुत्री भुर्तेल माओवादीले सहिद परिवारको अपमान गरेको भन्दै बागी दिएको बताउँछिन् ।
५ दलीय गठबन्धनका साझा उम्मेदवार बराललाई हराएर सहिद परिवारको याद पुनः नेतृत्वलाई दिलाउने उनले प्रतिवद्धता गरिन् । नेकपा माओवादी केन्द्रका तत्कालीन कास्की इन्चार्ज राजविक्रम भुर्तेल र उनकी श्रीमतीलाई २०६१ मा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । त्यसको १८ वर्षयता माओवादीले आफ्ना बुवाको सम्मान नगरेको निष्कर्षसहित चुनावी मैदानमा उत्रिएको अनिताले बताइन् ।
तपाईको प्रतिक्रिया