सम्पादकीयः आँखा उपचारलाई प्राथमिकतमा राख

आँखाको उपचार सरकारले प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवामा पर्छ । तर नेपालमा आँखाको उपचारको क्षेत्रमा ९० प्रतिशत योगदान निजी क्षेत्रको छ । सरकारले आवश्यक लगानी तथा पूर्वाधार निर्माणको हिसाबले आँखाको उपचार अहिले पनि सरकारको प्राथमिकतामा पर्न नसकेको अवस्था छ । ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइरहँदा गैर नाफामूलक तथा स्वयंसेवी संस्था नेपाल नेत्रज्योति संघ अन्तर्गतका २७ अस्पताल, १ सय ४८ आँखा उपचार केन्द्र र ४४ शाखामार्फत नेपालका ९० प्रतिशतमा आँखा उपचार सेवा पुर्याएको विवरण सार्वजनिक भएको छ ।
नेपाल सरकारले आँखासम्बन्धी रोगको उपचारलाई प्राथमिकतामा राख्ने घोषणा गरेको भएता पनि सोही अनुसारको आवश्यक व्यवस्थापन अझै गर्न सकेको छैन । नेपालमा आँखाको उपचारको क्षेत्रमा पर्याय बनेका संघ विदेशी दातृसंस्थाको भरमा आफ्नै ढंगले आँखा उपचार सेवालाई विस्तार गरिरहेको छ । ५ नयाँ अस्पताल र २५ आँखा उपचार केन्द्र थप्ने संघको योजना छ ।
नेपालका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ५० मा आँखा उपचारको संरचनासमेत बनाएको छ । गाउँपालिकामा आँखाका बिरामी भएता पनि नगर तथा शहरी क्षेत्रमा अस्पताल भएको कारण आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । त्यसैले प्रत्येक पालिकामा आँखा उपचार सेवा पुर्याउनु आवश्यक छ । नेत्रज्योतिले थालेको अभियानमा तीन तहको सरकारको साथ र सहयोग आवश्यक पर्छ ।
आँखाको उपचारको क्षेत्रमा गैर सरकारी संस्थाको तर्फबाट नेपालमा जस्तो संसारको कुनै पनि देशमा यति ठूलो योगदान गरेको पाइँदैन । नेपाल सगरमाथा, गौतम बुद्धको देश भने जस्तै नेपाल आँखाको राम्रो उपचार हुने देशको रुपमा विश्वमा परिचितसमेत भएको छ । आँखा उपचारको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा टिक्ने र बिक्ने जनशक्ति नेपालमा तयार भएका छन् ।
नेपालले अफ्रिका, कम्बोडिया लगायतका मुलुकमा आँखाको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । संघको अहिलेसम्मको योगदान स्वयंसेवी भावना र दातृ निकायको कारण भएकाले सधै भरीका लागि दिगो र भरपर्दो नहुन सक्छ । त्यसैले समयक्रम र बदलिँदो परिस्थिति अनुसार तीन तहका सरकारले यथेष्ठ सहयोग गर्नु आवश्यक छ । नेपाल नेत्रज्योति संघका प्राविधिक र सरकारी निकायले आर्थिक भौतिक पूर्वाधारमा सहयोग गर्ने हो भने नेपालको आँखा उपचारको क्षेत्रमा अझै प्रभावकारी काम हुन सक्छ ।
तपाईको प्रतिक्रिया