एकै खेलमा बाबुछोरी दुवैकाे सपना स्वर्ण पदक

रिखिराम जिसी २०७९ कार्तिक २ गते १०:४४

रिखिराम जिसी
पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिसको मिक्स डबल्स इभेन्टमा आफ्नो पहिलो खेलमा बागमती प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्‍यो । जित निकाल्ने टिम बागमती प्रदेशको मिक्स डबल्स टिममा थिए –अभिषेक कार्की र आभाना कार्की । जित निकाल्ने त्यो टिमका कार्की बाबुछोरी हुन् ।

बाबुछोरी एउटै टिमबाट सँगै खेल्न पाउँदा सौभाग्य पाएको जस्तो लागेको बुबा अभिषेक बताउँछन् । ‘सँगै खेल्न पाउँदा सौभाग्य पाएको जस्तो लाइराको छ, राम्रो अनुभूति भएको छ,’ उनले भने । छोरी पनि बाबुसँग खेल्न पाउँदा दंग छिन् । खुसी हुँदै उनले भनिन्, ‘बाबासँग खेल्न राम्रै लागिराछ, खुसी छु ।’

‘यसअघि सिंगलमा दुवै सहभागी भएपनि मिक्स डबल्समा सँगै खेल्ने खेलेका थिएनन् । जोडी टिम कोच र टिम म्यानेजरले दिने हो । सधैभर हामी बाबुछोरी नै पर्छन् भन्ने पनि छैन’

Advertisement

मिक्स डबल्समा बाबुछोरीको प्रतिस्पर्धा पहिलो हो । यसअघि सिंगलमा दुवै सहभागी भएपनि मिक्स डबल्समा सँगै खेल्ने खेलेका थिएनन् । ‘जोडी टिम कोच र टिम म्यानेजरले दिने हो । टिमले त गोल्ड सबैभन्दा पहिले कल्ले हान्छ त्यो जोडी बनाएको हुन्छ । सधैभर हामी बाबुछोरी नै पर्छम् भन्ने पनि छैन, पहिलोपटक मिक्स जोडीको रुपमा छौं खुसी छौं,’ बाबु अभिषेकले भने ।

अभिषेकले सफ्ट टेनिस खेल्न थालेको लगभग १६ वर्ष भयो । २०६३ तिर विराटनगर हुँदाबाट सफ्ट टेनिस खेल्न सुरु गरेको अभिषेक बताउँछन् । उनी भन्छन् ‘विराटनगर हुँदाखेरि सहिदबजार नजिकै नै घर थियो । हेर्दा खेरी राम्रो लाग्यो । २०६३ सालतिरबाट खेल्न सुरु गरे ।’

Advertisement

छोरी आभाना भने बाबाले खेलेको हेर्दाहेर्दै खेल्न सुरु गरेको बताउँछिन् । ‘बाबुले खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्यो, अनि निरन्तर खेल्न थाले,’ उनले भनिन् । उनको परिवार अहिले काठमाडौंमा बस्छ । काठमाडौंमा विदाको दिनमात्रै आफूहरु खेल्ने गरेको अभिषेक बताउँछन् । ‘हामी छुट्टीको दिन मात्र खेल्छौँ अरु दिन आउँदैनौ । छोरी कलेज जानुपर्छ, मेरो अफिस छ,’ उनी भन्छन् ।

नवौंमा उनीहरुको स्वर्ण पदक जित्ने लक्ष्य छ । ‘लक्ष्य त जसले पनि गोल्डकै लागि आउँछ नि,’ अभिषेकले भन्छन्, ‘कोसिस गर्न छाड्नु हुँदैन खेलाडी भएर हरेक गेम जित्नकै लागि जाने हो नि हार्नका लागि होइन नि ।’ छोरी पनि बाबुको भनाइमा सहमत जनाउँछिन् । उनी भन्छन्, ‘मेरो पनि गोल्ड हान्ने नै छ, तर प्राक्टिस धेरै गर्नुपर्छ ।’

बाबुछोरीको मिक्स डबल्समा नवौं खेलकुद पहिलो भएपनि टिम इभेन्ट र डबल्समा भने यो खेलुकद पहिलो होइन । बाबु अभिषेकले सातौं राष्ट्रिय खेलकुद, राखेप, आठौं राष्ट्रिय खेलकुदमा सहभागी जनाएका छन् । सहभागिता मात्र जनाएका छैनन् । सातौं र राखेपमा टिम इभेन्टतर्फ स्वर्ण पदक जित्न सफल भएका छन् ।

छोरी आभाना राखेप र आठौं खेलकुदमा सहभागी भएकी थिइन् । उनले दुवै प्रतियोगितामा टिम इभेन्टमा रजत पदक जिन्त सफल भएकी हुन् । ‘पहिले पनि राष्ट्रिय गेममा भाग लिएका थियौँ तर डबल्स भएर खेलेका थिएनौँ,’ अभिषेक भन्छन्, ‘आठौं खेलकुदमा २ जनालाई मात्र मिक्स डबल्स खेलाउनु भएको थियो, अहिले सबैलाई मिक्स डबल्स खेलाउनुभयो र हामी पनि पर्‍यौँ र मौका पनि पायौँ ।’ अभिषेक छोरीलाई राम्रो खेलाडी बनाउन चाहन्छन् । ‘उमेर सानै छ, त्यही भएर मेरोभन्दा धेरै अवसर छ । अझै राम्रो प्राक्टिस गराउनुपर्छ,’ बाबु अभिषेकले भने ।

बाबुछोरी दुवैले नवौं खेलकुदमा सफ्ट टेनिसतर्फ अन्य इभेन्टमा पनि भाग लिएका थिए । बाबु अभिषेक सिंगलतर्फ प्रि क्वाटरफाइनल र छोरी आभाना क्वाटरफाइनलसम्म पुगेर बाहिरिएका थिए ।

उनीहरु मिक्स डबल्सतर्फ पहिलो खेलमा जित निकालेका हुन् । उनीहरुले प्रदेश १ लाई पराजित गरेका हुन् । उनीहरुको यो पहिलो खेल हो । पहिलो खेलमा जित निकाल्दा खुसी लागेको अभिषेक बताउँछन् । ‘पहिलो खेल जितियो, राष्ट्रिय खेलकुदमा ठूलै कुरा भन्छु म चाहिँ,’ उनी भन्छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया