कास्की २ मा खुले एमालेका चुनावी कार्यालय

समाधान संवाददाता २०७९ कार्तिक २ गते १२:२१

पोखरा ।
नेकपा एमाले कास्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन उम्मेदवारी दिएको बताएकी छन् । पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटी कार्यालय सुरुआत कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभूत आवश्यकता पूरा गर्न एमालेको विकल्प नरहेको बताईन् ।

Advertisement

अधुरा काम पूरा गर्ने लक्ष्यका साथ २ वर्षअघि दुःखद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवं मानवीय विकासमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै आएको उनको भनाइ छ । एमाले नेता रवीन्द्र अधिकारीले सुरुवात गरेका कतिपय विकास निर्माणका काम पूरा भएको भएको र केही बाँकी रहेकाले ती काम पूरा गर्न आफू अघि सरेको जनाइन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी भट्टराईले भनिन्, ‘मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनताको बलबाट परमादेशको गठबन्धन सरकारलाई विस्थापित गरी जनादेशको सरकार स्थापित हुनेछ ।’ उनले मुलुकका युवा शक्तिलाई विदेशमा नभई स्वदेशमै उत्पादनमा जोड्दै व्यवसायिक बनाउन एमालेको सरकारले गरेको अभियानलाई वर्तमान गठबन्धन सरकारले रोकेको दाबी गरिन् ।

एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भीमबहादुर कार्कीले मुलुकका विपन्न, उत्पीडित, महिला, पिछडिएका वर्ग र सुकुम्बासीको उत्थानका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । नेकपा एमाले पोलिटब्युरो सदस्य सीता गिरी ओलीले जनताका घर घरमा पुगेर समस्या समाधानतर्फ लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्णबहादुर थापाले पार्टी कार्यकर्ता संगठित भएर सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न आग्रह गरे ।
निर्वाचन परिचालन कमिटी संयोजक शिवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सहसचिव रश्मि आचार्य, कार्यवाहक जिल्ला अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य सुष्मा पौडेल लगायतले निर्वाचनमा संगठित भएर लाग्नुको विकल्प नभएको बताए ।

Advertisement

मंगलबारै पोखरा ८ सिर्जनाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटीको कार्यालय पनि खुलेको छ । एमाले कास्की जिल्ला इन्चार्ज कृष्णबहादुर थापाले कार्यालय उद्घाटन गरे । कार्यक्रममा एमाले कास्की २ (ख) की उम्मेदवार मिना गुरूङले महिला सशक्तीकरण, समावेशी विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताइन् ।

उनले पार्टीका एजेन्डा र आफूले गरेका कामलाई जनताले मंसिर ४ मा अनुमोदन गर्ने विश्वास गरिन् । उनले भनिन्, ‘गएको कार्यकालमा मैले निर्वाह गरेको भूमिका, समाजमा मैले गरेको योगदान र एमालेको राष्ट्रवादी एजेन्डाका कारण जनताले अनुमोदन गर्नेमा शंकै छैन ।’

निर्वाचन परिचालन कमिटी संयोजक दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक प्रदेश सभाका उम्मेदवार डा. छममाया पुन, कास्की जिल्ला सह इन्चार्ज मिनाकुमारी गुरुङ लगायतले संघ र प्रदेश सरकारले गरेका गतिविधिलाई दस्तावेज गर्दै जनताका घरदैलोमा पुग्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया