स्क्वास फाइनलमा दुबै बागमतीका

समाधान संवाददाता २०७९ कार्तिक २ गते १६:४५

पोखरा ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा महिलातर्फ बागमतीकी बिपना ब्लोन र सोही प्रदेशकै स्वस्थानी श्रेष्ठ फाइनल प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा बागमतीकी भावना सुनुवारलाई ११–८, ११– ४ र ११–५ सहित ३–० को सोझो सेटमा पराजित गर्दै बिपना फाइनलमा प्रवेश गरेकी हुन् ।
अर्काे सेमिफाइनल खेलमा गण्डकीकी कृष्णा थापामगरलाई बागमतीकी स्वस्थानी श्रेष्ठले १३–११, ११–७, ६–११ र ११–७ सहित ३–१ को सेटमा हराइन् ।

अब स्वस्थानीले स्वर्ण पदकका लागि बिहीबार बागमतीकी विपना ब्लोनसँग प्रतिस्पर्धा गर्नेछिन् भने आठौ संस्करणको राष्ट्रिय खेकुदको स्क्वास च्याम्पियनसमेत रहेकी गण्डकीकी कृष्णा थापामगर र बागमतीकी भावना सुनुवारले तेस्रो स्थान हाँसिल गरेका छन् ।

Advertisement

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार पुरुषतर्फको टिम इभेन्टमा बागमती प्रदेश र गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनल प्रवेश गर्याे भने एपीएफको टोलीलाई पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो ।

टिम इभेन्टतर्फ लुम्बिनी प्रदेश र एपीएफको टोलीले तेस्रो स्थान हाँसिल गरेको भण्डारीले बताए । भण्डारीका अनुसार गण्डकीका अृमत थापामगरले व्यक्तिगत विधातर्फ स्वर्ण जितिसकेका छन् ।

Advertisement

उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया