गठबन्धनलाई हार्ने छुट छैनः शर्मा

पोखरा ।
नेपाली काँगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका उम्मेदवार कसैलाई पनि हार्न छुट नभएको बताएका छन् । बुधबार पोखरा नयाँबजारमा कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय उदघाटन गर्दै शर्माले यस्तो बताएका हुन् ।
‘हाम्रो यो गठबन्धन पाँच दलीय गठबन्धन हो । एक्लै चुनाव लडेर हिजो माओवादीले पनि जितेको थियो, कांग्रेसले पनि जितेको थियो । २०७४ सालको निर्वाचन पश्चात एमालेमा केपी ओली र माधव नेपाल एकठाउँमा हुन सक्नुभएन । माधव नेपाल छुटेर आउनुभयो । त्यसकारण संविधानको रक्षाका लागि हामी सबै मिलेर गठबन्धन गरेका हौं । चुनाव हार्ने कोहि कसैलाई छुट छैन,’ उनले भने ।
५ पार्टी मिल्दा पनि चुनाव हारियो भने जनताले धिकार्ने अभिव्यक्ति छ । शर्माले संविधानको रक्षाका लागि, देशको समृद्धिका लागि, सुशासनमैत्री व्यवस्थाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातालाई आग्रह गरेका छन् ।
कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र समृद्धिका लागि गठबन्धन निर्माण भएको बताए । कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएको बताए । उनले अब विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने धारणा राखे । उनले स्पष्ट एजेन्डाका साथ गठबन्धन आएको भन्दै सबैले एकतावद्ध भएर गठबन्धनलाई जिताउनुपर्ने बताए ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले अवस्था परिवर्तनका लागि गठबन्धन बनेको बताए । गठबन्धन सरकार निर्माण र निर्वाचन जित्नका लागि मात्र नभएको भन्दै उनले यसले स्थिर सरकारसमेत दिने उल्लेख गरे ।
नेपाली कांग्रेसका नेता देवराज चालिसेले एउटा व्यक्तिलाई हिरो बनाउने काम राजनीतिमा गर्न नहुने बताए । ‘ओलीको विरुद्धमा गठबन्धन गरेको जस्तो भान जनतालाई नहोस् । के कामका लागि चुनाव लड्दै छु । गठबन्धन सरकार के का लागि हो भन्ने विचार प्रस्तुत हुन आवश्यक छ’, उनले भने ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशरप्रसाद निर्दोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चूडामणि जंगली, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी अध्यक्ष बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भीस्मबहादुर थापाले बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया